ईश्वर पोखरेलको पद हेरफेर : जिम्मेवारी बढेको कि घटेको ?

 असोज २९, २०७७ बिहिबार १२:२९:५३ | उज्यालो सहकर्मी

एघारौ पटक मन्त्रिपरिषद पुनर्गठन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग मन्त्रालयको जिम्मेवारी साटफेर गर्नुभएको छ ।

अर्थात पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालय आफूले लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको जिम्मेवारी पोखरेललाई दिनुभएको छ । मन्त्रिपरिषदमा यसअघि नभएको यस्तो अभ्यासलाई लिएर धेरैले धेरैथरी अड्कलबाजी लगाएका छन् ।

कसैले यसलाई पोखरेलको पद खोसिएको, विना विभागीय मन्त्रीको हैसियतमा खसालिएको विश्लेषण गरेका छन् । कसैले भने पोखरेललाई प्रधानमन्त्री आफैले हेरिरहेको कामको जिम्मेवारी थपेर उहाँलाई आफ्नो उत्तराधिकारीको रुपमा अघि बढाएको अर्थ लगाएका छन् । 

मन्त्रिपरिषद पुनर्गठन भएको दिन बुधबार राति अबेर पोखे्रलले ट्वीट गर्नुभएको छ : विकसित परिस्थिति र घटना( प्रशंगका सम्वन्धमा मानिसहरूका बुझाइ, विश्लेषण र अभिव्यक्तिर टिप्पणी हेर्दै..... बुझ्ने कोशिस गर्दै !!!

पोखरेलको यो ट्वीटमा पनि कसैले पोखरेल जोडिएका ओम्नी, सम्धी, सेनाको विवादित खरीद, द्रुतमार्ग काण्डका फेहरिस्त हालेर त्यसैका कारण प्रधानमन्त्रीले पद घटुवा गरेको दावी गरेका छन् । कतिपयले भने गौरवका आयोजना समयमै सम्पन्न गर्न, प्रधानमन्त्री कार्यालयमा केन्द्रिकृत शक्तिको अभ्यास गर्न नभ्याएका कारण विभागहरुको समन्वय गर्न तथा प्रदेशसँगको समन्वयको लागि प्रधानमन्त्रीले आफ्नो उत्तराधिकारीको रुपमा जिम्मेवारी थपेको भनेका छन्।

अहिले प्रधानमन्त्री कार्यालय अन्तर्गत सम्पत्ति शुद्धीकरण, राजश्व न्यायाधिकरण, राष्ट्रिय अनुसन्धान लगायतका महत्वपूर्ण विभाग छन् । यस्तै राष्ट्रिय गौरवका आयोजनाको अनुगमन, प्रदेशसँगको समन्वय लगायतका विकास निर्माण र जनचासोका महत्वपूर्ण काम पनि प्रधानमन्त्री कार्यालयबाटै हुँदै आएका छन् ।

मन्त्रिपरिषद पुनर्गठन गरेर पोखरेलको जिम्मेवारी साटफेर गर्ने प्रधानमन्त्रीको सन्देश के हो भन्ने गुदी कुरो चाहिँ ठम्याउन सकिएको छैन ।

आफ्नो स्वास्थ्य अवस्था र व्यस्तताका कारण समयमै सबै काममा ध्यान दिन नसकेकाले प्रधानमन्त्रीले पोखरेललाई प्रधानमन्त्री कार्यालयको जिम्मेवारी दिएको उहाँका शुभचिन्तकहरुको दावी र विश्लेषण छ । तर अर्काथरीको बुझाईमा रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दा पोखरेलले कार्यसम्पादन राम्रो नगरेको र विवादमा आएकोले प्रधानमन्त्रीले जिम्मेवारी खोसेर विना विभागीयको हैसियतमा राखेको टिप्पणी गरेका छन् ।  

मन्त्री बन्ने चाहना राखेका वामदेव गौतमलाई थप जिम्मेवारी दिन तत्काल सर्वोच्चले रोकेकोले पछि उहाँलाई ठाउँ दिन प्रधानमन्त्रीले रक्षा मन्त्रालय आफूसँग राखेको र पोखरेललाई छोड्न दबाब दिएको भन्नेहरु पनि छन् ।

तर पार्टीभित्रको विवाद बल्झाउनेगरी एकलौटी रुपमा मन्त्रिपरिषद पुनर्गठन गरेर पोखरेलको जिम्मेवारी साटफेर गर्ने प्रधानमन्त्रीको सन्देश के हो भन्ने गुदी कुरो चाहिँ ठम्याउन सकिएको छैन ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया