कात्तिक ३ गतेदेखि काठमाण्डाै उपत्यकामा दशैँका लागि खसी बाेका बिक्री सुरु गरिने

 असोज ३०, २०७७ शुक्रबार १६:४१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक ३ गतेदेखि काठमाण्डाै उपत्यकामा खसी बोका बिक्री सुरु गर्ने भएको छ ।

कम्पनीको थापाथलीमा रहेकाे प्रादेशिक कार्यालय परिसरबाट कात्तिक ३ गतेदेखि दशैँका लागि खसी बोका बिक्री वितरणको काम सुरु हुने भएको हो । कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैँमा खसी, बोका र च्याङ्‍ग्रा बिक्री गर्दै आएको छ । तर यसपटक प्राविधिक कठिनाइले गर्दा मुस्ताङबाट च्याङ्‍ग्रा ल्याउन नसकिएको कम्पनीले बताएको छ ।

यस्तै दुई हजार खसी, बोका र च्याङ्‍ग्रा बिक्री गर्ने योजना रहे पनि आयातमा कठिनाइ हुँदा केही सङ्ख्यामा खसी र बोका मात्रै बिक्रीमा राखिने कम्पनीका वाग्मती प्रदेश कार्यालयका प्रमुख पवित्र गौतमले बताउनुभयो । यस वर्ष तुलसीपुर, दाङ र हेटौँडाबाट एक हजार वटा खसी बोका ल्याइएको उहाँले बताउनुभयो । 

कम्पनीले यसअघि दशैँको लागि एक हजार वटा खसी बोका र १ हजार वटा च्याङ्‍ग्रा बिक्री गर्ने बताएको थियो । तर कोराना भाइरसको सङ्क्रमणले गर्दा बजारमा आमउपभोक्ताको क्रयशक्ति घटेको अनुमान गरिएकाले यस वर्ष कम आपूर्ति गर्न लागिएको गाैतमले बताउनुभयो । पहिलो चरणमा एक हजार सङ्ख्यामा खसी बोका ल्याइ बिक्रीमा राखिने र माग बढ्दै गए बजारलाई सन्तुलित राख्न थप आयात गर्न सकिने उहाँले बताउनुभयो । 

यस वर्ष कम्पनीले खरिद गर्दा नै खसी बोकाको मूल्य गएकाे वर्षभन्दा ४० रुपैयाँ बढी परेकाले अघिल्लो वर्षभन्दा केही बढी मूल्य कायम हुन सक्ने गौतमले बताउनुभयो । मूल्य निर्धारण भने आइतबार साँझ मात्रै तय हुने पनि उहाँको भनाइ छ ।

कम्पनीले गएकाे वर्ष जिउँदो खसीको मूल्य प्रतिकिलो पाँच सय ६० रुपैयाँ निर्धारण गर्दै बिक्री वितरण सुरु गरेको थियो । त्यस मूल्यमा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिएर बिक्री गरेकाे थियो ।

कम्पनीले यस पटक पनि प्रतिकिलो १० रुपैयाँ सहुलियत दिने बताएको छ । दशैँका बेला काठमाण्डाै उपत्यकामा झण्डै ५० हजार खसी, बोका र च्याङ्‍ग्रा खपत हुने अनुमान छ । दशैँलाई लक्षित गरेर निजी व्यवसायीहरुले समेत गाउँ–गाउँमा गएर खसी बोका खरिद गरेर बजारमा ल्याउन सुरु गरिसकेका छन् । स्थानीय उत्पादनले माग धान्न नसकेपछि छिमेकी देश भारत र चीनबाट समेत खसी बोका र च्याङ्‍ग्रा आयात हुने गर्छ । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया