दुई अध्यक्षको निष्कर्ष मान्न कर्णालीका नेताहरुलाई प्रधानमन्त्री ओलीकाे आग्रह

 कात्तिक १, २०७७ शनिबार १९:९:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुई अध्यक्षको निष्कर्ष मान्न कर्णालीका नेताहरुलाई आग्रह गर्नुभएको छ ।

सरकारी निवास बालुवाटारमा बोलाएर उहाँले कर्णालीको विवाद पार्टी केन्द्रले टुंग्याउने भन्दै दुई अध्यक्षबीचको छलफलले निकाल्ने निष्कर्ष मान्न आग्रह गर्नुभएको हो । अब चाँडै छलफल गरेर कर्णालीको विवादबारे बहस गर्ने र विवाद समाधानका लागि उचित निर्णय गरिने प्रधानमन्त्री ओलीलाई उदृत गर्दै एक नेताले बताउनुभएकाे छ ।

बालुवाटारमा भएको छलफलमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेकपाका सह–इन्चार्जहरु प्रकाश ज्वाला र यमलाल कँडेल, सचिव मायाप्रसाद शर्मा र नेता चन्द्रबहादुर शाहीले आफ्नो भनाई राख्नुभएको थियो ।

यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णालीका दुवै पक्षका नेताहरुसँग एक चरणमा छलफल गर्नुभएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाभित्रको विवाद थप बढेको छ ।

विवाद समाधानका लागि केन्द्रको निर्देशन अनुसार कर्णाली प्रदेशका नेकपा पदाधिकारी काठमाण्डाै आएका छन् ।

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया