सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न केन्द्रित हुनेछु : मन्त्री गुरुङ

 कात्तिक २, २०७७ आइतबार १५:५७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू केन्द्रित हुने बताउनुभएको छ ।  

नवनियुक्त सञ्चारमन्त्री गुरुङले कोरोना भाइरसका कारण पत्रकारहरुले ठूलो समस्या भोग्नुपरेको उल्लेख गर्दै ती समस्या समाधानका लागि नेपाल पत्रकार महासङ्घलगायतका सरोकारवाला पक्षसँग छिट्टै छलफल गर्ने योजना पनि अघि सार्नुभयो । नेपाल पत्रकार महासङ्घका पदाधिकारीसँग आइतबार बिहान पुल्चोकको आफ्नो निवासमा भएको सामूहिक भेटमा मन्त्री गुरुङले सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर मात्रै सञ्चार क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्ने स्पष्ट पार्नुभयो । 

‘सञ्चार क्षेत्रमा देखिएका समस्याको समाधान सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर मात्रै गरिनेछ’, मन्त्री गुरुङले भन्नुभयो, ‘त्यसका लागि नेपाल पत्रकार महासङ्घसहितका सम्बन्धित पक्षले आवश्यक सहयोग पुर्‍याउने विश्वास लिएको छु ।’ 

भेटमा महासङ्घका अध्यक्ष गोविन्द आचार्यले मन्त्री गुरुङको कार्यकालको पूर्ण सफलताको कामना गर्दै कोरोना भाइरसका कारण पत्रकारहरुले भोग्दै आएका समस्या, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, सङ्घीयता अनुकूल हुने गरी सञ्चार क्षेत्रको पुनर्संरचना गर्न ढिलाइ नगर्न ध्यानाकर्षण गराउनुभएको थियो । जवाफमा मन्त्री गुरुङले सञ्चार क्षेत्रमा देखिएका समस्या सरोकारवाला निकायसँग छलफल गरेर मात्रै समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

उहाँले प्रेस स्वतन्त्रताको संरक्षण र सम्बर्द्धन तथा पत्रकारहरुको पेसागत हितको पक्षमा आफू दृढतापूर्वक लागिपर्ने पनि बताउनुभयो । 

मन्त्री गुरुङसँगको भेटमा महासङ्घका अध्यक्ष आचार्य, उपाध्यक्ष थापामगर, महासचिव रमेश विष्ट, सचिवद्वय रामप्रसाद दाहाल, रेमबहादुर विश्वकर्मा र कोषाध्यक्ष राजेश मिश्र सहभागी हुनुभएको थियो ।   

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया