हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै – हेलीको पुच्छ्रेताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि मङ्गलबार राति अत्यधिक देखिने नेपाल एस्ट्राेनाेमिकल सोसाइटी (नासाे) ले जनाएको छ । यो पुच्छ्रेताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन् । हेलीको पुच्छ्रेताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलोका कणका कारण प्रत्येक वर्ष मे महिनामा ‘एटा एक्वारिएट’ र अक्टोबरमा ‘ओरियनिड’ उल्कावर्षा हुने गर्छ ।
मङ्गलबारकाे उल्का वर्षाको स्रोत मृगशिरा (ओरायन) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई मृगशिरा उल्कावर्षा (ओरियनिड मिटियर सावर) नाम दिइएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । अक्टोबर २ देखि आफ्नो सक्रियता देखाउने यो उल्कावर्षा नोभेम्बर ७ सम्म सक्रिय रहनेछ ।
उल्का वर्षाको अत्यधिक सक्रिय गतिविधि स्थानीय समयअनुसार अक्टोबर २० राति १०ः४५ देखि नै सुरु भइ अक्टोबर २१ को बिहान ५ः४५ बजेसम्म देख्न सकिनेछ । उल्का वर्षा हेर्नको लागि मध्यरातपछिको समय उत्तम मानिन्छ । अत्यधिक उल्का वर्षाको बेला प्रतिघण्टा १५ वटासम्म उल्का देखिने अनुमान छ । ती उल्का वर्षाको गति प्रतिसेकेण्ड ६७ किमीसम्म हुने भएकाले करिब ७० किमीमाथि वायुमण्डलमा घर्षण पैदा भइ यस्तो दृश्य देखिने पनि उहाँले बताउनुभयो ।
के हो उल्कावर्षा ?
पुच्छ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टान छोड्ने गर्दछ । पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रेताराको त्याे कक्षको नजिक आइपुगेका बेला धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिने सोसाइटीले जनाएको छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ ।
के हो हेलीको पुच्छ्रेतारा ?
बेलायती खगोलशास्त्री ‘एडमण्ड हेली’ ले न्युटनको गुरुत्वाकर्षणसम्बन्धी साध्यको माध्यमले सौर्य मण्डलका आकाशीय पिण्डको अध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रात यो पुच्छ्रेतारा पत्ता लगाएको हुनाले यसलाई हेलोको ‘पुच्छ्रेतारा’ भनिएको हो । यो पुच्छ्रेताराले हरेक ७५ वर्षमा सूर्यलाई परिक्रमा गर्छ । सन् १९८६ मा देखिएको यो पुच्छ्रेतारा अब सन् २०६१ मा देखिने अनुमान गरिएको अध्यक्ष भट्टराईले बताउनुभयो ।
यसरी हेरिन्छ उल्कावर्षा
उल्कावर्षा हेर्न कुनै दूरबिन वा टेलिस्कोप आवश्यक पर्दैन । नाङ्गो आँखाले नै उल्कावर्षा हेर्न सकिन्छ । उल्कावर्षा हेर्न धैर्यको आवश्यकता पर्छ । उल्कावर्षा हेर्दा खुला आकाश छान्नुपर्छ । यसका लागि घरको छत वा घर अघिको कुनै खुला ठाउँमा जान सकिन्छ । दुवै ठाउँमा राति चिसो हुने हुँदा तातो कपडा लगाउन आवश्यक छ । घरबाहिर निस्कँदा सुरक्षाको पनि कुरा आउँछ । चिसो र अन्य किसिमको जोखिमबाट बच्दै उल्कावर्षा हेर्न सोसाइटीले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।