प्रचण्डको सचिवालयले भन्यो, ‘दुई अध्यक्षबीच कर्णाली विवादबारे कुनै सहमति भएको छैन’

 कात्तिक ४, २०७७ मंगलबार १८:५३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले दुई अध्यक्षबीच कुनै सहमति नभएको जनाएको छ । यसअघि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक सूर्य थापाले दुई अध्यक्षबीच चार बुँदे सहमति भएको बताउनु भए पनि त्यसमा सत्यता नरहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताउनुभयो ।

उज्यालोसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डका प्रेस संयोजक सापकोटाले दुई अध्यक्षबीच बालुवाटारमा छलफल भएको तर कुनै सहमति भने नभएको बताउनुभएको हो । दुई अध्यक्षबीच अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतकसम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी बनेको तर सञ्चारमाध्यममा आएजस्तो चार बुँदे सहमति भने नभएको उहाँको भनाइ छ ।

सापकोटाले एक विज्ञप्ति नै निकालेर दुई अध्यक्षबीच चार बुँदे सहमति भएको भन्ने भ्रममा नपर्नसमेत सबैसँग आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस संयाजक थापाले भने दुई अध्यक्षबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वासको प्रस्ताव फिर्ता गर्न लगाउने र मुख्यमन्त्री शाहीले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाउने निर्णय बदर गर्ने निर्णय भएको जानकारी गराउनुभएको थियो ।

थापाका अनुसार सीता नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गर्ने निर्णय बदर गरेर पूर्ववत् रुपमा सचेतक कायम गर्ने र अरु विषयमा सल्लाह र समझदारी गरेर दुई अध्यक्षले आवश्यक निर्णय लिने सहमति भएको भनिएको थियो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया