चिडियाखानालाई ललितपुर महानगरकाे १० लाख रुपैयाँ सहयाेग

 कात्तिक ६, २०७७ बिहीबार १५:१३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुरको जावलाखेलमा रहेकाे सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । 

आर्थिक अभावका कारण चिडियाखानामा रहेका वन्यजन्तुलाई खाना खुवाउन समस्या भएपछि महानगरपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । बिहीबार महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले चिडियाखानाका आयोजना अधिकृत डाक्टर चिरञ्जीवी पोखरेललाई सहयोगबापतको चेक हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर महर्जनले कोभिड–१९ सङ्क्रमणका कारण चिडियाखानाको आम्दानीको स्रोत बन्द भएकोले आर्थिक समस्या परेको अवस्थामा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराएको बताउनुभयो । आउँदा दिनमा आवश्यकताअनुसार आर्थिक सहयोग रकम जुटाउन महानगर प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो । 

सदर चिडियाखानाका आयोजना अधिकृत डा. पोखरेलले काेराेना सङ्क्रमणको जोखिमका कारण चिडियाखाना बन्द रहँदा आम्दानी ठप्प रहेको बताउनुभयो । चिडियाखानामा वार्षिक १५ करोड रुपैयाँभन्दा बढी खर्च हुने गर्छ भने चिडियाखानाभित्र रहेका वन्यजन्तुको खानपिनका लागि तीन कराेडदेखि चार करोड रुपैयाँ खर्च हुने पोखरेलले बताउनुभयो । चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ६८ वन्यजन्तु रहेका छन् । 

आर्थिक अभावका कारण चिडियाखानाका कर्मचारीले आधा महिनाको तलब लिएर काम गरिरहेको पनि डा. पोखरेलले बताउनुभयो । वित्तीय हिसाबले ऋणात्मक अवस्थामा पुगेको चिडियाखाना सरकारको सम्पत्ति हो । विगत २० वर्षदेखि चिडियाखाना आफ्नै आम्दानीबाट सञ्चालन हुँदै आएको छ । अहिले कोभिड–१९ का कारण पूर्णरुपमा बन्द गर्नुपर्दा आम्दानी शून्य भएको छ ।  

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया