'रअ' प्रमुखले सिधै प्रधानमन्त्रीलाई भेट्नुले भारतसामु नेपालकाे कुटनीति कुन तहमा गिरेकाे छ भन्ने स्पष्ट हुन्छ : साझा पार्टी

 कात्तिक ६, २०७७ बिहीबार २०:१२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतीय गुप्तचर संस्था (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर फर्किएको विषयप्रति साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ ।

रअ प्रमुख गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ‘विशेष दूत’ का रूपमा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाएका हुन्? यदि हुन् भने प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पार्नुपर्ने साझा पार्टीले माग गरेकाे छ । 

भारतले गुप्तचर एजेन्सी प्रमुखलाई विशेष विमानबाट नेपाल पठाएर प्रधानमन्त्रीसँग भेटाउनुबाट भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो गुप्तचर एजेन्सीको प्रमुखको तहमा झारेको सङ्केत गरेकाे साझा पार्टीले बताएकाे छ । 

त्यो प्रधानमन्त्रीकै तहबाट नेपालको कुटनीतिक सम्मान र राष्ट्रिय स्वाभिमानमाथिकाे ठाडो आक्रमण भएकाे पार्टीकाे निष्कर्ष छ । 

'रअका प्रमुख उनको नेपाली समकक्षी नेपालको गुप्तचर निकायका प्रमुखको निमन्त्रणामा आएका हुन् ? के त्यसरी आउँदा उनले प्रधानमन्त्रीसँग ‘शिष्टाचार भेट’ गरेका हुन् ? यदि हुन् भने त्यो पनि प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस् । होइन भने, देशको प्रधानमन्त्रीको मर्यादाको ख्याल भयो कि भएन ?', विज्ञप्तिमा भनिएकाे छ ।

एकातिर परराष्ट्र मन्त्रालयले औपचारिक वार्ताका लागि गरेको पत्राचारको जवाफ दिल्लीले नदिनु र अर्कोतिर गुप्तचर एजेन्सीका प्रमुख आएर सिधै प्रधानमन्त्रीलाई भेट्नुले नेपाली कुटनीति भारतसँगको सम्बन्धमा कुन तहमा गिरेको छ भन्ने स्पष्ट भएकाे साझा पार्टीले जनाएकाे छ । साथै यसले अन्य देशहरूसँगको नेपालकाे कुटनीतिक सम्बन्धलाई पनि अत्यन्तै हलुका र सस्तो बनाइदिने पार्टीकाे धारणा छ।

यो दशकौँदेखि नेपालका शीर्ष भनिएका नेताहरूले देखाइरहेको आचरणकै निरन्तरता भएकाे यस्तो आचरणलाई रोक्न र परराष्ट्र मन्त्रालयको कुटनीतिक आचारसंहिता पालना गर्न साझा पार्टीले सबै नेताहरूलाई आग्रह गरेकाे छ ।  

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया