रसुवाको पर्यटकीय क्षेत्रमा दैनिक डेढ सय नेपाली पर्यटक भित्रन थाले

 कात्तिक १२, २०७७ बुधबार १०:१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - पर्यटकीय सिजन सुरु भएसँगै रसुवाको पर्यटकीय क्षेत्रहरुमा नेपाली पर्यटक भित्रने क्रम सुरु भएको छ ।

गएको पुस महिनादेखि नै पर्यटकीय क्षेत्रहरु सुनसान बनेका थिए । त्यसपछि सुरु भएको कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण पर्यटक नपुगेपछि चैतदेखि पर्यटकीय क्षेत्रमा पर्यटक ठप्प भएका थिए । अहिले आन्तरिक पर्यटक आउन थालेपछि होटल तथा पर्यटन व्यवसायी केही उत्साहित भएका छन् ।

रसुवा भित्रिएका पर्यटक गोसाइँकुण्ड तथा लाङटाङ जाने गरेका होटल तथा पर्यटन व्यवसायी संघ रसुवाले जनाएको छ ।  पर्यटनको मुख्य सिजन सुरु भएसँगै दैनिक डेढ सयको संख्यामा पर्यटक आइरहेका पनि संघले जनाएको छ। तर विगतका तुलनामा यो निक्कै थोरै हो । गोसाइँकुण्डमा दैनिक सय जनासम्म पर्यटक गइरहेका छन् । 

बाँकी पर्यटक लाङटाङलगायत अन्य पर्यटकीय क्षेत्रमा पुग्ने गरेका छन् । पर्यटकहरु लाङटाङ, गोसाइँकुण्ड, तामाङ सम्पदा मार्ग, रसुवागढी, नागथली लगायतका क्षेत्रमा जाने गरेका छन् । पर्यटक आउने क्रम सुरु भएसँगै गोसाइँकुण्ड, लाङटाङ तथा तामाङ सम्पदा मार्गलगायतका क्षेत्रमा रहेका होटल, लज तथा चिया पसल खुलेका छन् । सामूहिक रुपमा घुम्न मन पराउने युवाहरु न्यूनतम दुई जनादेखि १५ जनासम्मको समूहमा आउने गरेका संघले जनाएको छ । 

स्वदेशी पर्यटकले न्यूनतम पाँच हजारदेखि १५ हजारसम्म खर्च गर्ने गरेका छन् । जिल्लाको पर्यटकीय क्षेत्रहरुमा पर्यटकको आगमन बढ्न थालेपछि व्यवसायीमा केही आशा पलाएको संघका अध्यक्ष निशान गजुरेलले बताउनुभयो ।

‘लामो समय व्यवसाय ठप्प हुँदा व्यवसायीमा निराशा छाएको थियो’, ‘उहाँले भन्नुभयो, ‘अहिले बिस्तारै पर्यटकको आगमन बढ्दा व्यवसायी उत्साहित छन्।’ पर्यटकीय जिल्ला रसुवामा धार्मिक, सांस्कृतिक, प्राकृतिक, ऐतिहासिकस्थल हुनुका साथै विश्वकै दुर्लभ रेडपाण्डा, हिमचितुवालगायतका जीवजन्तुको अध्ययन, अवलोकन गर्नका लागि स्वदेशी तथा विदेशी पर्यटक भित्रने गरेका छन्।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया