वित्तीय साक्षरता कक्षाले सिकाएको पाठ : ‘श्रीमानलाई परदेश नपठाउँ, स्वदेशमै उद्यमी बनाउँ’

 कात्तिक १४, २०७७ शुक्रबार १३:५४:४६

राेमनबाबु अधिकारी

पछिल्लो समय वैदेशिक रोजगारीको लामो यात्रालाई बीट मारेर स्वदेशमै उद्यम गर्नेहरु र त्यसैमा रमाउनेहरु धेरै छन् । तिनै मध्येका एक हुन्, तनहुँका सागर अधिकारी ।

सागर २५ वर्ष लामो वैदेशिक रोजगारीलाई छाडेर गाउँघरमै भैंसीपालनमा रमाइरहनुभएको छ । गाडीका स्टेयरिङ्ग घुमाएका हात अहिले भैंसीको गोबर सोहर्नमा व्यस्त देखिन्छन् । 

बाध्यताले परदेश

गाउँमा रोजगारीका केही बाटा थिएनन् । सहर गएर केही गरौँ भन्दा, त्यो कमाइले  कोठाभाडा तिर्नै पनि धौ-धौ हुने । न काम, न त कमाइको अरु स्रोत नै । बेरोजगारीले थलिएपछि सागर २५ वर्ष पहिले कामदार भिसामा कतार जानुभएको थियो । त्यतिबेलै ४५ हजार रुपैयाँ खर्च गरेर परदेश जानुभएका सागरले त्यहाँ गएर यति लामो समय बस्छु भन्ने सोच्नुभएको थिएन । ३/४ वर्ष विदेशमा काम गरेर स्वदेशमै फर्किन्छु सोचेर परदेश लाग्नुभएका सागर उतैको रोजगारीमा मन लगाएर बस्नुभयो ।

सुरुमा कामदार भिसामा जानुभएका सागरले उतै ड्राइभिङ सिक्नुभयो, अनि त ड्राइभरको काम गर्न थाल्नुभयो । एसी गाडीका स्टेयरिङ घुमाउँदा घुमाउँदै समय बितेको पत्तै भएन । कमाइ राम्रै थियो, घरखर्च चलेकै थियो, छोराछोरीलाई राम्रो स्कुलमा पढाउन सकिएकै थियो । सागरलाई एक प्रकारले ढुक्क थियो । 

तर जब समय बित्दै गयो तब सागरलाई लाग्न थाल्यो, ‘पैसा मात्रै ठूलो कुरा होइन, घरपरिवार, छोराछोरीलाई पनि समय दिनुपर्छ ।’ यही सोचेर उहाँले श्रीमतीसँग घर फर्किने कुरा पनि गर्नुभयो । तर उहाँको श्रीमतीले नेपाल आएर बेरोजगार बस्नुभन्दा कमाइ भइरहेको छ, ठीकै छ नि भनेपछि सागरलाई पनि हो त नि भन्ने लाग्यो ।

श्रीमतीकै हौसलाले फर्कायो स्वदेश

पहिले सागरले घर आउँछु भन्दा पनि ‘बेरोजगार बस्न किन आउनुपर्यो’ भन्ने सागरको श्रीमती मञ्जु नै पछि सागरलाई स्वदेश फर्काउन अघि सर्नुभयो ।

एस.एल.सी. सम्म पढेकी मञ्जुले १८ वर्ष पहिले गाउँकै सरकारी विद्यालयमा शिक्षणको काम पनि गर्नुभएको थियो । तर पछि श्रीमानकाे कमाई हुन थालेपछि उहाँले शिक्षण पेशा पनि छोड्नुभयो । श्रीमानले पठाएको पैसाले नै घरखर्च र आवश्यक सबै कुरा पुग्थ्यो । उहाँले साधारण खेतिपाती लगाउने बाहेक अरु केही गर्नुभएन । 

४१ वर्षीया मञ्जु अधिकारीले सुरक्षित आप्रवासन परियोजना सामी अन्तर्गत सञ्चालित घलेछाप–१३ वित्तीय साक्षरता कक्षाबाट धेरै कुरा सिक्नुभयो । गाउँमा वैदेशिक रोजगारमा भएका परिवारका लागि वित्तीय साक्षरता कक्षा सञ्चालन हुने भएपछि उहाँ पनि कक्षामा जान थाल्नुभयो । वित्तीय साक्षरता कक्षामा सहभागी हुन थालेपछि आफ्नो सोचाइ नै परिवर्तन भएको उहाँ बताउनुहुन्छ ।

‘वित्तीय साक्षरता कक्षाले मेरो आँखा खोलिदियो’, उहाँले भन्नुभयो, ‘त्यहीँबाट मैले कमाएको पैसा बचत गर्ने देखि व्यवसाय सञ्चालनका तरिका र हौसला पाएँ ।’

वित्तीय साक्षरता कक्षाको प्रभावले उहाँलाई आजसम्म्म श्रीमान्लाई विदेशमै बस्न लगाएर गल्ति गरेछु की भन्ने लाग्न थाल्यो । त्यसपछि मञ्जुले श्रीमानसँग काम छाडेर घर फर्किनेबारेमा कुरा गर्नुभयो । गाउँमा दुवै लोग्ने स्वास्नी मिलेर व्यवसाय गर्ने उहाँले सोच बनाइ सक्नुभएको थियो ।

तर विश्वव्यापी माहामारीका रुपमा फैलिएको कोभिडका कारण सहजरुपमा  नेपाल आउन सक्ने अवस्था भने थिएन । नेपाल फर्कने आशमा बसेका मञ्जुका श्रीमान्लाई पनि छिटो घर फर्किन पाए छिटै नै केही गर्न सकिन्थ्यो भन्ने लागेको थियो । 

सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवसी श्रोत केन्द्र, तनहुँको पहलमा गएको साउनमा नेपाल फर्किनुभयो । १४ दिनको क्वरेण्टीनपछि गाउँ पुग्नुभयो । श्रीमान्–श्रीमतीको सल्लाह अनुसार भैंसी र बाख्रा पालन व्यवसाय शुरु गर्ने निधो भयो । 

कोरोनाकै बीचमा व्यवसाय

कोरोना महामारीको असहज परिस्थितिमै उहाँहरुले गाउँ नजिकै वर–परबाट १२ वटा बाख्रा र ८ वटा  भैंसी खरिद गरेर भैंसी  र बाख्रा पालन व्यवसाय सुरु गर्नुभयो । आफ्नो  बाँझो रहेको ७० रोपनी जग्गामा तरकारी र दाल खेती पनि गर्नु भयो । 

अहिले उहाँले उत्पादित दूध र तरकारी गाउँमै बिक्री गर्नुहुन्छ । बढी भएको उत्पादन नजिकै बजार लगेर बिक्री गर्नुहुन्छ । यही व्यवसायलाई  बढाएर ५० वटा बाख्रा र २०∕२५ वटा भैंसी पालन गर्ने मञ्जुको योजना छ  । 

‘विभिन्न दूधजन्य उत्पादन तथा खसी र खसीको मासु व्यास र भानु नगरपालिकाको विभिन्न क्षेत्रमा बिक्री गर्ने योजना छ’, उहाँले बताउनुभयो ।

यस्तै मौसमअनुसारको र बेमौसमी अर्गानिक तरकारीलाई पनि बढाउदै लैजाने उहाँको सोच छ । साथमा श्रीमान पनि भएपछि उहाँलाई काम गर्न निकै सहज भएको छ । दुवैजना मिलेर खेतबारीको काममा व्यस्त रहनुहुन्छ । सागर पनि श्रीमतीसँगै काममा व्यस्त रहन पाउँदा निकै खुशी देखिनुहुन्छ । अहिले उहाँलाई परदेशमा त्यति लामो समय बिताएकोमा पछुतो लाग्छ ।

‘ढिलै भए पनि मेरी श्रीमतीलाई स्वरोजगार बन्ने साेचले मलाई पनि हौसला मिलेको छ’, उहाँले भन्नुभयो, ‘अर्काको देशमा पसिना बगाउनुभन्दा आफ्नो देशमा परिवारसँगै स्वरोजगार बन्नु कति हो कति राम्रो नि ।’

अहिले मञ्जु आम्दानीको स्रोतको लागि श्रीमानको मात्रै भर पर्नुहुँदैन, आफैले पनि केही गर्नुपर्छ भन्नुहुन्छ । यही कुरा उहाँ गाउँका अरु महिलाहरुलाई पनि सम्झाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘श्रीमानलाई परदेश नपठाउँ, स्वदेशमै उद्यमी बनाउँ ।’ 


 

अन्तिम अपडेट: कात्तिक २०, २०७७

तपाईको प्रतिक्रिया