हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै – यस वर्षको तिहार अधिकमासका कारण झण्डै एक महिना पछाडि धकेलिएको छ । तिहारमा सयपत्री तथा मखमली फूलको मालाको खपत हुने गर्छ । तर यस वर्ष तिहार अगाडि नै सयपत्री फूल फुलिसक्ने भएकाले मागअनुसार फूल आपूर्ति हुन नसक्दा बजार प्रभावित हुने देखिएको छ । यद्यपि व्यवसायीहरुले भने तिहारमा स्वदेशी उत्पादनले नै फूलको माग धान्ने बताएका छन् ।
किसानहरुले लगाएको सयपत्री फूल फुल्ने समयभन्दा पछाडि तिहार परेकाले फूलको बजारमा असर पर्ने आँकलन गरिएको हो । तर पुष्प व्यवसायीहरु भने क्यालेण्डरको आधारमा फूल खेती गरिएकाले नेपाली उत्पादनले नै यस वर्षको मागलाई सहजै धान्ने बताएका छन् ।
फ्लोरिकल्चर एसोसिएशन अफ नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले अधिकमासका कारण यस पटकको तिहार २०/२२ दिन पछाडि धकेलिए पनि फूलको बजारलाई कुनै असर नपर्ने बताउनुभयो । घरेलु किसानले उत्पादन गरेको फूल तिहार अगाडि नै सुकेर जाने भए पनि व्यावसायिक रुपमा गरिएको फूलको उत्पादन निरन्तर चलिरहेकोले तिहारको मागलाई सजिलै धान्ने उहाँले बताउनुभयो ।
गएकाे वर्षको तिहारमा २५ लाख माला खपत भएको थियो । जसमध्ये मखमली माला पाँच लाख र सयपत्री माला २० लाख रहेको थियो । यस वर्ष भने कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण फूलको माग कम हुने आँकलन गरिएको पनि अध्यक्ष कसजुले बताउनुभयो ।
यस वर्ष १२ देखि १५ लाख मालाको माग हुने अनुमान गरिएको र सबै मालाको आपूर्ति स्वदेशी उत्पादनबाट हुने उहाँको भनाइ छ । यस वर्ष फूलको मूल्य भने केही महँगो पर्ने भएको छ । अध्यक्ष कसजुका अनुसार सयपत्री फूलको एउटा मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म पर्न सक्ने बताउनुभयो । गएकाे वर्ष सयपत्री फूलको एउटा मालाको मूल्य ५० देखि ६० रुपैयाँ परेको थियो ।
पुष्प व्यवसायी श्यामसुन्दर प्रजापतिले भने तिहारका लागि लगाइएको सयपत्री फूल फूलिसकेको बताउनुभयो । केही फूल तिहारसम्म काम नलाग्ने गरी सुकिसकेको पनि उहाँले बताउनुभयो । चिसो बढ्दै जाँदा फूल झाँगिन नसक्ने र फुलेको फूलसमेत सुक्ने भएकाले तिहारसम्म सयपत्री फूललाई जोगाइराख्न समस्या भएको उहाँले बताउनुभयो ।
तिहार पछाडि भए पनि नेपालमा उत्पादित फूलले बजारको मागलाई धान्ने भएकाले बाहिरी देशबाट फूल आयात गर्न नहुने व्यवसायीहरुको भनाइ छ । अन्य देशबाट नआउँदा आन्तरिक फूलको मूल्य बढ्छ भन्ने बुझाइले गर्दा आत्मनिर्भर भइसकेको अवस्थामा पनि फूल आयात हुने गरेको व्यवसायीहरुले गुनासो गरेका छन् । गएकाे वर्षको तिहारमा झण्डै १० लाख फूलका माला भारतबाट आयात भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।