मानार्थ महारथी पदवीकाे इतिहास सच्याउनुपर्ने माग

 कात्तिक १४, २०७७ शुक्रबार १७:३६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

सैन्य मामिला इतिहासका अध्येता मोहन थापा

काठमाण्डाै – नेपाली सेनाले भारतीय सेनाका प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी लगाइदिने परम्परामा केही इतिहासगत त्रुटिलाई सच्याउनुपर्ने सैन्य मामिलाका एक अध्येताले बताउनुभएको छ । 

भारतीय स्थल सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरभाने नेपाली सेनाको मनार्थ महारथी दर्ज्यानी लिनका लागि यही कात्तिक १९ गते नेपाल आउँदै हुनुहुन्छ । नेपाल र भारतले दुवै देशका सेनापतिलाई एक अर्काले मानार्थ महारथीको दर्ज्यानी दिने प्रचलन रहँदै आएको छ ।

विभिन्न सञ्चार माध्यम र छापाहरुमा सन् १९५० देखि दुवै देशले एकअर्का देशका सैन्य प्रमुखलाई मानार्थ महारथीको पदवी दिँदै आएको उल्लेख गरिएको पाइन्छ । तर सैन्य मामिला इतिहासका अध्येता मोहन थापाले भने विक्रम संवत् २०२० जेठ २५ गते राजा महेन्द्र वीर विक्रम शाहले भारतीय स्थल सेनाका सेनाध्यक्ष एस मानेकसा (मानेक साह) लाई नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गरेपछि एक देशले अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथी पदवी दिने प्रचलन सुरु भएको बताउनुभएको छ ।

शुक्रबार न्युज एजेन्सीसँग कुरा गर्दै थापाले अहिलेसम्म लिखित रुपमा भेटिएको प्रमाणअनुसार २०२० मा नेपालले भारतीय सेनाध्यक्षलाई दिएको दर्ज्यानी नै पहिलो भएको बताउनुभयो । यस्तै २०२७ देखि २०३२ सम्म नेपाली सेनाको प्रधानसेनापति रहनुभएका सिंहबहादुर बस्नेतलाई भारतले पहिलो पटक मानार्थ महारथीको पदवी दिएको लिखित प्रमाण रहको पनि बताउनुभयो । त्यसपछि मात्रै नियमित रुपमा एक देशले अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको पदवी दिने प्रचलन बसेको उहाँको भनाइ छ ।

तर २०४४ सालदेखि २०४८ सालसम्मका नेपाली सेनाका प्रधानसेनापति महारथी सच्चित शमशेर जबराले भने भारतीय सेनाको मानार्थ महारथी पदवी नलिएको पनि उहाँले बताउनुभयो । तत्कालीन समयमा नेपाली सेनाले चीनबाट सैन्य सामग्री खरिद गरेको र पञ्चायतको बेला नेपालमा भएको आन्दोलनलाई भारतले सघाएका कारण नेपाली सेनाका तत्कालीन प्रधानसेनापति जबराले भारत भ्रमण गर्नुभएन । त्यसै कारण उहाँले पदवी नलिएको थापाले बताउनुभयो ।

नेपालमा एकमात्र सेनाप्रमुख रहने र भारतमा जल, हवाई र स्थल सेनाप्रमुख रहने हुँदा स्थल सेना प्रमुखलाई पदवी दिने गरिएको छ । दुवै देशका राष्ट्रपतिले सेना प्रमुखलाई मानार्थ महारथीको पदवी दिने परम्परा रहेको छ ।  

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया