'क्लिन फिडपछि  ग्राहकले तिर्नुपर्ने शुल्क बढ्ने'

 कात्तिक १५, २०७७ शनिबार १६:१२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विज्ञापन रहित (क्लिन फिड) पूर्णरुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरुले बताएका छन् ।

विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिदा खर्च बढ्ने भएकाले शुल्क बढ्नसक्ने तर्क वितरकहरुको छ । यसबाहेक विज्ञापन नीति लागू भएपछि स्वदेशी च्यानलमा विदेशी विज्ञापन प्रसारण हुन नदिन र समग्र विज्ञापन बजारको व्यवस्थापन तथा नियमनको लागि चुनौति समेत बढेको विज्ञहरुले बताएका छन् ।

नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारणमा विज्ञापन रहित (क्लिन फिड) नीति लागू भएको एक हप्ता पुगेको छ । तर कतिपय च्यानलहरुले क्लिन फिडका लागि आवश्यक उपकरण जडान गरिनसक्दा प्रसारण बन्द छ । क्लिन फिडका लागि प्रयोग हुने उपकरणको लागत उच्च हुने, सञ्चालन लागत र स्याटेलाइटको लागत बढ्ने भएकाले ग्राहकले तिर्नुपर्ने शुल्क पनि बढ्न सक्ने टेलिभिजन वितरकहरुले बताएका छन् ।

नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्माले क्लिन फिडका लागि टेलिभिजन प्रसारकहरुले प्रविधिमा ठूलो लगानी गर्नुपर्दा खर्च बढेको बताउनुभयो । त्यसैले ग्राहकले तिर्नुपर्ने शुल्क पनि अहिलेको भन्दा बढ्ने उहाँको भनाई छ । सरकारले आधारभुत सेवा शुल्क निर्धारण गर्ने र विदेशी च्यानललाई प्याकेजमा हेर्न पाउने व्यवस्था नगरे ग्राहकले तिर्नुपर्ने शुल्क निकट भविष्यमा नै बढ्ने अध्यक्ष शर्माले बताउनुभयो । आधारभूत प्याकेज बाहेकका च्यानलहरुमा मनपर्ने च्यानल मात्रै हेर्न पाउने सुविधा नदिने हो भने अहिलेको शुल्कमा २५ देखि ३० प्रतिशत सम्म बृद्धि हुने उहाँको भनाई छ ।  

क्लिन फिड लागू हनुभन्दा पहिले अधिकांश विदेशी च्यानल डाउनलिङ्क अनुमति लिएर प्रसारण गर्दै आएका थिए । तर क्लिन फिड लागू हुँदा दुवैतर्फ खर्च बढ्ने भएकाले भविष्यमा शुल्क बढाउनुपर्ने अवस्था आउनेमा वितरकहरुले जोड दिएका हुन् । तर अहिले क्लिन फिडका कारण कतिपय विदेशी च्यानल बन्द भएकाले तत्कालका लागि शुल्क बढाइहाल्नुपर्ने अवस्था नरहेको पनि उनीहरुको भनाइ छ ।

नेपाल विज्ञापन संघका अध्यक्ष रवीन्द्रकुमार रिजाल (शशी) ले विदेशी टेलिभिजन प्रसारणमा क्लिन फिड लागू भएपनि नेपाली टेलिभिजनबाट डब विज्ञापन प्रसारण भइरहेकाले चुनौति अझैपनि बाँकी रहेको बताउनुभयो । नेपाली टेलिभिजन प्रसारकहरुले कुनैपनि विदेशी डब विज्ञापन र विदेशी भाषाको विज्ञापन बजाउन पाउँदैनन् । सरकारले २०७६ कात्तिक ८ गते देखि विज्ञापन नीति लागू भए पनि नेपाली टेलिभिजनहरुले डब विज्ञापन बजाइदिदा चुनौति थपिएको उहाँको भनाई छ । तर विज्ञापन बोर्डले यसको व्यवस्थापन सहजै गर्ने विश्वास रिजालको छ ।  

सञ्चार विज्ञ लक्ष्मण हुमागाईंले भने विज्ञापन क्षेत्र अत्यन्त प्राविधिक विषय भएकाले चुनौति धेरै भएको बताउनुभयो । विज्ञापन बोर्डसामु विज्ञापनदाता, विज्ञापन एजेन्सी, विज्ञापन कर्ममा लागेका व्यक्तिहरु, उद्योगपति व्यापारीहरु, र उपभोक्ता गरी पाँचवटै पक्षलाई समन्वय गर्नुपर्ने प्रमुख चुनौति रहेको उहाँको भनाई छ । यस्तै समग्र विज्ञापन बजारको अनुगमन गर्नुपर्ने चुनौति पनि रहेको छ । त्यसैले बोर्डमा व्यवसायिक व्यक्तिहरु संलग्न हुनुपर्ने हुमागाईंले बताउनुभयो ।

सरकारले २०७६ कात्तिक ८ गते देखि विज्ञापन नीति लागू गरेपछि क्लिन फिड कार्यान्वयनमा ल्याउनका लागि एक वर्ष अर्थात २०७७ कात्तिक ७ गते सम्मको समय दिइएको थियो । कात्तिक ७ गते पछि किल्नफिड लागू भएको छ । तर आवश्यक तयारी नपुगेको भन्दै अधिकांश विदेशी च्यानलहरु बन्द छन् । त्यसैले नेपाली टेलिभिजनमा प्रसारण हुने विदेशी विज्ञापन र विज्ञापन रहित विदेशी च्यानलको व्यवस्थापन तथा नियमनका र शुल्क व्यवस्थापनमा विज्ञापन बोर्डका लागि चुनौति धेरै नै रहेको छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया