हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डौ - बालबालिकामा सिसाजन्य पदार्थको असर बढी पर्ने गरेको पाइएको छ।
बालबालिकाको दिमाग कलिलो हुने भएकाले उनीहरुमा सिसाजन्य पदार्थले बढी असर पार्ने गरेको पाइएको हो । बालबालिकालाई सिसाजन्य पदार्थको जोखिमबाट बचाउन सरकारले पहल गर्नुपर्नेमा विज्ञले जोड दिएका छन् ।
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले सिसाजन्य पदार्थको असर तथा रोकथामबारे सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरिरहेको छ । सिसाजन्य तथा टल्कने पदार्थले बालबालिकाको स्वास्थ्य र वातावरणमा पारेको असरबारे ललितपुरमा भएको कार्यक्रममा त्रिचन्द्र बहुमुखी क्याम्पसका सह-प्राध्यापक डाक्टर ज्योति गिरीले विभिन्न प्रकारका रङ्ग र मानिसले प्रयोग गर्ने सौन्दर्यका सामग्रीमा सिसाजन्य अर्थात् टल्कने प्रदार्थ धेरै हुनेहुँदा यसले मानव शरीरमा असर गर्ने बताउनुभयो ।
टल्कने वस्तुले साना बालबालिकाको दिमागमा असर गरेर विभिन्न रोगको सिकार बनाउने भएकाले सचेत रहनुपर्नेमा डाक्टर गिरीले जोड दिनुभएको छ । जमिनमा प्रयोग भएका सिसाजन्य पदार्थले पानी र माटो हुँदै उत्पादन भएको अन्नमा समेत प्रभाव पार्न नछाड्ने उहाँको भनाइ छ ।
मोबाइलको ब्याट्री, रङ्ग उद्योग, बालबालिकाले खेल्ने खेलौना, घरमा प्रयोग गरिने काठपात तथा हस्तकला र गरगहना आदिमा पोतिने चिजमा पनि सिसाजन्य पदार्थको प्रयोग हुने गर्छ । यसको असरलाई बढाउन उद्योग र कलकारखानाबाट निस्कने धुवाँ, मलखाद र विषादीले अझ बढी सहयोग गर्ने गरेको भेटिएको छ ।
पानीमा अहिलेसम्म सिसाजन्य पदार्थ नभेटिएको र रङ्गमा बढी मात्रामा सिसाजन्य पदार्थ भेटिएको हुँदा यसतर्फ सरकारले मापदण्ड तोकेर मात्र उत्पादन र बजार व्यवस्थापन गर्न दिनुपर्नेमा विज्ञको सुझाव छ । जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र सीईपीएचईडीका कार्यकारी निर्देशक रामचरित शाहका अनुसार अन्य वस्तुको तुलनामा घरमा लिपिने रङ्गमा अधिक मात्रामा सिसाजन्य प्रदार्थको प्रयोग हुन्छ ।
नेपाली बजारमा सिसाजन्य पदार्थ प्रयोग गरिएका रङ्गहरु अहिले पनि उत्तिकै उत्पादन भइरहेका छन् । यसको नियन्त्रणमा सरकार नै लाग्नुपर्नेमा शाहको जोड छ । ती रङ्ग उद्योगमा सरकारका प्रतिनिधिले अनुसन्धान गरेर मापदण्ड तोकिदिएमा मात्रै मानिसको जीवन तथा वातावरणमा पर्ने असर घटाउन सकिने शाहले बताउनुभयो ।
पछिल्लो समय मोबाइल प्रयोगकर्ता बढ्दै जाँदा मोबाइलमा प्रयोग हुने सिसाजन्य प्रदार्थलाई ध्यानमा राखी आवश्यक र सही तवरले मात्र मोबाइल प्रयोग गर्न नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद आर्यालले सुझाव दिनुभएको छ ।
मानिसले दैनिक प्रयोग गर्ने सौन्दर्यका सामग्रीमा सिसाजन्य पदार्थको प्रयोग कति हुनुपर्छ र कति भइरहेको छ भनेर अध्ययन तथा अनुसन्धान गर्न आवश्यक रहेको नेपाल केमिकल सोसाइटीका महासचिव डाक्टर भानुभक्त न्यौपानेले बताउनुभएको छ ।
व्यावहारिक विज्ञान तथा प्रविधि केन्द्र रिकाष्टका कार्यकारी निर्देशक रामेश्वर अधिकारी सिसाजन्य पदार्थको जोखिमबाट मानव र वातावरण दुवैलाई बचाउन रिसाइक्लिङ प्लान्ट र उचित पूर्वाधार व्यवस्था गर्न जरुरी रहेको बताउनुहुन्छ ।
पूर्व विज्ञान मन्त्री गणेश शाहले यस्ता वस्तुको असरबाट जोगिनुपर्नेमा जोड दिँदै त्यसका लागि सरकारले उचित नियम बनाउनुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।