रसुवामा चिज उत्पादन घट्यो

 कात्तिक १६, २०७७ आइतबार १३:२२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवामा यो वर्ष चिज उत्पादन घटेको छ ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण चिज उत्पादन घटेको हो । जिल्लामा सञ्चालनमा रहेका चिज उत्पादन केन्द्रहरूले भण्डारण गर्ने ठाउँको अभाव र उत्पादित चिज बिक्री नहुँदा गएको भदौ १६ गतेदेखि उत्पादन बन्द गरेका थिए । यसअघि वैशाखदेखि असोज मसान्तसम्म चिज उत्पादन हुन्थ्यो ।

लकडाउनका कारण जेठको तेस्रो हप्ताबाट केन्द्रहरूले आफ्नो उत्पादन सुरु गरेका थिए । उत्पादन बढ्दै जाँदा राख्ने ठाउँको अभाव भएको र दूग्ध विकास संस्थानले पनि चिज नलगेपछि उत्पादन बन्द भएको थियो । यसअघि क्यान्जिनमा उत्पादन भएको चिज बाहेक अन्य चारवटा केन्द्रले उत्पादन गरेका चिज संस्थानले नै लैजाने गरेको थियो । यसअघि दैनिक ४० किलोसम्म चिज बिक्री हुने गरेकोमा अहिले बिक्री नभएर थन्किएर बसेको लाङटाङ चीज उत्पादन केन्द्रका प्रमुख ग्याल्बु लामाले बताउनुभयो ।

‘पहिले यहाँ उत्पादन भएको चिज विदेशी पर्यटकले लिएर जान्थे’, उहाँले भन्नुभयो, ‘तर अहिले विदेशी नआएका कारण चिज बिक्री भएको छैन ।’ केन्द्रहरूले यो वर्ष २४ हजार ४ सय ७७ किलो चिज र ८ हजार १ सय ७९ किलो मखन उत्पादन गरेका छन् । गएकाे वर्ष केन्द्रहरूले ३९ हजार ६ सय ८० किलो याक चिज र १२ हजार ४ सय किलो मखन उत्पादन गरेका थिए ।

यस वर्ष गत्लाङले ८ हजार २ सय ९६ किलो चिज र २ हजार ५ सय ७१ किलो मखन, लाङटाङले ३ हजार किलो चिज र ९ सय किलो मखन,  पाङ्लेखर्कले  ६ हजार ६ सय ८१ किलो चिज र २ हजार २ सय ८ किलो मखन तथा चन्दनबारी चिज उत्पादन केन्द्रले ६ हजार ५ सय किलो चिज र २ हजार ५ सय किलो मखन उत्पादन गरेको छ ।

स्थानीय बजारमा चिज खपत नहुने र भण्डारण क्षमता पनि कम भएका कारण उत्पादन गर्न नसकिएको केन्द्रहरूले बताएका छन् । जिल्लामा अहिले दुग्ध विकास संस्थानअन्तर्गत ६ वटा केन्द्र सञ्चालनमा छन् । चिसो समयमा दूध कम उत्पादन हुने र नजम्ने समस्या कारण वैशाखदेखि असोज मसान्तसम्म चिज उत्पादन हुने गरेको हो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया