हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डौ – गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसका कारण मारमा परेका ऋणीलाई कालोसूचीमा नराख्न र धितो लिलाम नगर्न बैंकहरुलाई आग्रह गर्नुभएको छ ।
मौद्रिक नीतिको कार्यान्वयनका सन्दर्भमा राष्ट्र बैंकले गरेको भिडिओ अन्तर्क्रियामा गभर्नर अधिकारीले कोरोना महामारीका कारण उद्योग, व्यवसाय शिथिल बनेको अवस्थामा ऋणीलाई कालोसूचीमा राख्ने, धितो लिलाम गर्ने जस्ता कार्य नगर्न गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘कोभिडबाट प्रभावित व्यवसायी तथा ऋणीलाई कालोसूचीमा राख्न र धितो लिलाम नगर्न हामीले निर्देशन दिएका छौँ, त्यसको कार्यान्वयन गरिदिनुस् ।’
साँवा\ब्याज भुक्तानी लिँदा बैंकहरुले ग्राहकको अवस्था हेरेर व्यवहार गर्नुपर्ने उहाँको भनाइ थियो । 'कसैले कमाएका छन् भने भुक्तानी लिनुस्, नकमाउनेसँग कसेर नलिइ दिनुस् ।' उहाँले भन्नुभयो । कोरोना महामारीका कारण बैंक तथा वित्तीयलाई परेको कठिनाइलाई सम्बोधन गर्न राष्ट्र बैंक तयार रहेको धारणा गभर्नर अधिकारीले राख्नुभयो ।
गभर्नर अधिकारीले कोरोनाबाट शिथिल बनेको अर्थतन्त्रलाई पुनर्जीवन दिने गरी बैंकले उदार र राहतमुखी मौद्रिक नीति जारी गरेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा सहयोग गरिदिन बैंक तथा वित्तीय संस्था, उद्योगी, व्यवसायी तथा सरोकारवालाहरुसँग आग्रह गर्नुभयो ।
यो वर्ष व्यवसायीलाई राहतस्वरूप दुई खर्ब रुपैयाँको पुनर्कर्जा सुविधा र २० प्रतिशतसम्म अतिरिक्त कर्जा सुविधा पाउने व्यवस्था गरिएको स्मरण गराउँदै गभर्नर अधिकारीले यस्तो सुविधाको उपयोग गरिदिन व्यवसायीहरुसँग अनुरोध गर्नुभयो ।
अन्तर्क्रियामा अर्थ मन्त्रालयका सचिव एवम् नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य शिशिरकुमार ढुङ्गानाले कोभिडका कारण प्रभावित उद्योग व्यवसायको पुनरुत्थानको लागि सरकारले बजेटमार्फत विभिन्न नीतिगत सहुलियत ल्याएको जानकारी दिनुभयो ।
शिथिल बनेको अर्थतन्त्रलाई पुनर्जीवन दिन सरकार, राष्ट्र बैंक, वित्तीय संस्था र उद्योगी व्यवसायीहरु सहकार्य गरेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले राष्ट्र बैंकले अवलम्बन गरेको नीतिगत प्रयासका कारण अर्थतन्त्र गम्भीर दुर्घटनामा पर्नबाट जोगिएको धारणा राख्नुभयो ।
कार्यक्रममा सहभागी अन्य उद्योगी व्यवसायीले कोभिड प्रभावित व्यवसायको लागि राष्ट्र बैंकबाट जारी भएको नीतिगत सहुलियत उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाले बेवास्ता गरेको गुनासो राखेका थिए । खासगरी पुनर्कर्जा र सहुलियतपूर्ण कर्जाको सुविधा सहजरूपमा नपाइएको, ब्याज छुट नपाएको, ब्याजदर नघटेको भन्दै उनीहरुले राष्ट्र बैंकको ध्यानाकर्षण गराएका थिए । वित्तीय संस्थाहरु सेवामुखी नभएर व्यापारमुखी बन्दै गएको गुनासो उद्योगी व्यवसायीहरुको थियो ।
कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुले राष्ट्र बैंकले जारी गरेका नीतिगत व्यवस्थाको कार्यान्वयनका निम्ति आफूहरु प्रतिबद्ध रहेको धारणा राखेका थिए । नेपाल बैंकर्स एसोसिएशनका अध्यक्ष भुवनकुमार दाहालले राष्ट्र बैंक र उद्योगी, व्यवसायीसँग हातेमालो गरेर अघि बढ्न वित्तीय क्षेत्र तयार गरेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।