कोरोनाको सङ्क्रमण बढेपछि काठमाण्डाै उपत्यकामा थप जोखिम : बैठक बसेर आवश्यक निर्णय लिने तयारी

 कात्तिक १७, २०७७ सोमबार ८:४३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोनाको सङ्क्रमण बढेपछि काठमाण्डाै उपत्यका थप जोखिममा परेको जनप्रतिनिधिले बताएका छन् ।

उपत्यका नगरपालिका फोरमका सचिव तथा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार कोरोना सङ्क्रमण बढ्दै गएपछि अवस्था थप जटिल बन्दै गएको छ । उहाँले स्वास्थ्य मापदण्डको पालना गरी दैनिक गतिविधि गर्न आग्रह गर्नुभएको छ । पालिकाले पनि त्यसैअनुसार सङ्क्रमण नियन्त्रणका उपाय अपनाएर काम गर्नुको विकल्प नरहेको उहाँले बताउनुभयो ।

देशभर रहेका सङ्क्रमितमध्ये आधाभन्दा बढी काठमाण्डौ उपत्यकामा रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ८२४ सङ्क्रमितमध्ये एक हजार ६२२ उपत्यकाका छन् । जोखिमपूर्ण अवस्थामा सङ्क्रमितको खोजी गरी उपचारको दायरामा ल्याउने र उनीहरूको सम्पर्कमा परेका व्यक्तिको परीक्षणलाई तीव्र बनाउनुपर्ने खाँचो रहेको उहाँको भनाइ छ ।

स्वास्थ्य मापदण्ड कार्यान्वयनमा कडाइ नहुँदा सर्वसाधारणले उल्लङ्घन गर्ने क्रम बढेको छ । मास्क नलगाउने, जथाभाबी सामूहिक गतिविधिमा सहभागी हुने, भौतिक दूरी कायम नगर्ने जस्ता क्रियाकलाप बढ्न थालेको छ । सङ्क्रमणदर अनुसारको तयारी नपुगेको उपत्यका नगरपालिका फोरमको भनाइ छ ।

विगतमा दिइएको सुझाव समेत कार्यान्वयन हुन नसक्दा जोखिम बढेको फोरमले जनाएको छ । फोरमका उपाध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनका अनुसार कोराेना सङ्क्रमण रोक्न कसरी जाने भनेर बैठकको तयारी भैरहेको छ ।

समुदायमा देखिएको सङ्क्रमणको अवस्था र त्यसलाई रोक्न चाल्ने कदमबारे निर्णय गर्न आज महानगरले बैठक बोलाएको पनि उहाँले जानकारी दिनुभयो । काठमाण्डाै महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले सङ्क्रमणका विषयमा कसैले पनि खेलबाड गर्न नहुनेमा जोड दिनुभएको छ ।

काठमाण्डौ उपत्यकाका १८ वटै नगरपालिकाले आफ्नो क्षमताअनुसार जोखिम रोक्ने गतिविधिलाई निरन्तरता दिइरहेको तर प्रभावकारी हुन नसकेको जनप्रतिनिधि र नागरिकको गुनासो छ । चाडबाडसँगै मानिसको चहलपहल बढ्दा सङ्क्रमण फैलिन सहयोग पुग्ने भएकाले अझै नियन्त्रणका उपायलाई तीव्र पार्नुपर्ने आवश्यकता रहेको नेपाल चिकित्सक सङ्घका उपाध्यक्ष डाक्टर अनिल कार्कीले सुझाव दिनुभएको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया