लुम्बिनी प्रदेशको राजधानीका दुई गाउँ जोड्न नेपालको तेस्रो लामो झोलुङ्गे पुल निर्माण कार्य सुरु

 कात्तिक १८, २०७७ मंगलबार २०:३०:४४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – लुम्बिनी प्रदेशको राजधानी गढवा गाउँपालिका १ काे बडहरा र राप्ती गाउँपालिका ३ काे खुरुरीया जोड्ने राप्ती नदीमा नेपालको तेस्रो लामो झोलुङ्गे पुल निर्माण कार्य सुरु भएको छ ।

याे पुलको लम्बाइ आठ सय १८ मिटर र चौडाइ एक दशमलव २० मिटर हुने छ । पुलमा जम्मा ११ वटा पिलर रहने छन्, जसमा फुटपाथका लागि पाँच वटा पिलर, पङ्खाका (साइड विङ) का लागि चार वटा पिलर र मेन ब्लकका लागि दुई वटा पिलर गरी जम्मा ११ वटा पिलर रहने छन् । प्रत्येक पिलरको गोलाइ सात सय ५० सेन्टिमिटर रहने छ भने प्रत्येक पिलरको गहिराइ पानीमुनि १६ मिटर रहने छ ।

पानीमाथि फुटपाथसम्मको पिलरको उचाइ १२ मिटर र फुटपाथदेखि माथि ३५ मिटर उचाइको पाँच वटा टावर रहने छन् । पहिलो पिलरदेखि दोस्रो पिलरसम्मको दुरी तीन सय ८१ मिटर र तेस्रो र चौथो पिलरको दुरी ९०/९० मिटरको दुरीमा रहने छन् । त्यसै गरी अन्य पिलरका दुरी ९९/९९ मिटर दुरीमा रहने छन् । याे पुल नेपालको तेस्राे लामो झोलुङ्गे पुलका रुपमा चिनिने भएको छ ।

नेपालमा पहिलो लामो झोलुङ्गे पुल महाकाली नदीमा बनेको दोधारा–चाँदनी हो, जसकाे लम्बाइ एक हजार चार सय ४० मिटर रहेको छ । दोस्रो लामो झोलुङ्गे पुल इलाम जिल्लाको माई खोलामा निर्माण भइरहेको छ, जसकाे लम्बाइ आठ सय २० मिटर रहेको छ । यी दुवै पुलको निर्माणको जिम्मा थानी निर्माण सेवा काठमाण्डौले पाएको छ ।

राप्ती नदीमा निमार्ण कार्य सुरु भएको झोलुङ्गे पुलको कुल लागत आठ करोड २७ लाख रहेको निर्माण सेवाका साइट इन्चार्ज विक्रम बस्नेतले जानकारी दिनुभएकाे छ । उहाँका अनुसार दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भए पनि डेढ वर्षमै निर्माण सम्पन्न गरिने गरी काम भइरहेको उहाँले बताउनुभयाे । 

बडहरा–खुरुरीया जोड्ने राप्ती नदीमा झोलुङ्गे पुल निर्माण भएपछि राप्ती नदी दक्षिणका गढवा गाउँपालिका १ बडहरा, बनघुस्री, बनबारी, चिमचिमे, पत्रिङ्गा, जेठानगाउँ, पचाहा र राप्ती नदी उत्तरका राप्ती गाउँपालिका ३ खुरुरीया, वसन्तापुर बागढड्डी, वडा नम्बर २ का कटाहा, लालमटिया, बराखुट्टी लगायतका स्थानीयलाई प्रत्यक्ष सुविधा पुग्नुका साथै लुम्बिनी प्रदेशको राजधानी क्षेत्रको देउखुरी उपत्यका अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज हुनेछ ।

याे पुल निर्माण कार्य सुरु भएपछि आफूलाई धेरै खुसी लागेको बडहरा निवासी तथा तत्कालीन संविधान सभाका सभासद रश्मीराज नेपालीले बताउनुभयो । त्यस्तै २००७ सालदेखि, आफ्ना बाउबाजेको पालादेखि अहिलेसम्म डुङ्गा र पौडी खेलेर नदी पार गरेका दुर दिन अब हट्छन कि भन्ने आशा पलाएको खुरुरीया निवासी वरिष्ठ समाजसेवी एवम् राष्ट्रिय जनमोर्चाका नेता लालमणि शर्माले अभिव्यक्ति दिनुभएको छ ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया