घुम्टो उघारेर हेर्दा...

 कात्तिक २१, २०७७ शुक्रबार ७:३२:३८ | इन्द्रसरा खड्का
unn.prixa.net

काठमाण्डाै - नेपाली राम्रोसँग बोल्न आउँदैन । तर बोलेको प्रायः बुझ्नु हुन्छ । वडा कार्यालयमा आउने सेवाग्राहीसँग कुरा गर्नुहुन्छ ।  कार्यालयमा आउने कसैले आफ्नो जग्गा हडपेको पीडा सुनाउँछन् । कसैले घरमा बस्न नदिएको गुनासो सुनाउँछन् । घरायसी झैझगडाका कुरा पनि आइरहन्छन् ।

एकैदिन ८/९ वटा यस्तै झगडा आउँछन्, बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयमा । वडा कार्यालयमा यस्ता घटनाहरुको छलफल गरी मेलमिलाप गराउनुहुन्छ, दलित महिला सदस्य रेखा खटी । पालिकाको चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएकी रेखा भन्नुहुन्छ, ‘पहिले नमस्कार गर्न पनि डर लाग्थ्यो । अहिले त दिनहुँ सेवाग्राहीसँग कुरा गर्छु ।’

उहाँ थप्नुहुन्छ, ‘पहिले बोल्नै डर लाग्थ्यो । अब त काठमाण्डौबाट आएका मान्छेसँग पनि कुरा गर्नसक्छु नि ! वडामै मेलमिलाप हुने घटना हामी सबै बसेर मिलाउँछौ, हामीले नसकेका गाउँपालिकामा पठाइदिन्छौँ । अहिले म त यस्तै काममा व्यस्त छु’ उहाँले भन्नुभयो ।

रेखाको फेरिएको दैनिकी

रेखाको अहिलेको दैनिकी पहिलेको भन्दा निकै फरक छ । पहिलेजस्तो अहिले बिहान उठेदेखि रातिसम्म घरखेतको काम गर्नु पर्दैन ।  बिहान उठ्ने घरको काम गर्ने । बिहान १० बजे वडा कार्यालय पुग्ने । साँझ कार्यालय बन्द भएपछि घर फर्कने रेखाको अहिलेको दैनिकी हो । त्यतिमात्र हैन कहिलेकाहीँ त घरदैलो पनि गर्नुपर्छ । अझ सभा, गोष्ठी, तालिम हुँदा पालिका वा त्योभन्दा बाहिर पनि जानुपर्छ । अहिलेको आफ्नो काम देखेर रेखालाई सपना जस्तो पनि लाग्छ ।

‘बिहान उठ्यो बारीको काम गर्यो, खाना खायो, फेरि काम, फेरि खाना पकायो, खायो सुत्यो । पहिले यसैगरी दिन बित्थे । अहिले त कार्यालयमा जान्छु, स्थानीय नागरिकका कुरा सुन्छु’ रेखाले आफूले गर्ने काम सुनाउनुभयो ।

घुम्टो भित्रको जीवन 

मधेसी समुदायमा अहिले पनि घुम्टोले अनुहार छोप्ने चलन कायमै छ । गाउँघर जान हुँदैन, पुरुषसँग बोल्न हुँदैन भन्दै महिलाले घुम्टोले टाउको र अनुहार छोप्ने गर्छन् । अहिले ४५ वर्ष पुग्नुभएकी रेखाको ४० वर्ष पनि यसैगरी घुम्टो भित्र रह्यो । उहाँले माइती, आफ्नो घर खेतबारी भन्दा परको संसार देख्नु भएको थिएन । 

घुम्टो भित्र रहँदा रेखालाई लाग्थ्यो - यो भन्दा पर पनि केही छ र ? हाम्रो संसार यही हो । ‘काम गर्दा, खाना पकाउँदा, खाना खाँदा घुम्टोले अनुहार छोप्नै पर्ने । जेठाजू, ससूरालाई त अनुहार नै देखाउन नमिल्ने । यसरी सबैसँग बोलचाल गर्न र घुम्टो उघारेर हिँड्न पाउनु त भाग्यको कुरा हो नि’ मुसुक्क हाँस्दै उहाँले भन्नुभयो ।

‘टाउकोमा घुम्टो म अहिले पनि राख्छु । मलाई सहज लाग्छ । तर अनुहार नै छोपेर घरभित्रै बस्दिनँ’ रेखाले सुनाउनुभयो ।

घुम्टो उघारी हेर्दा...

घुम्टोभित्र अल्झिएकी रेखालाई गाउँकै नेता बन्ने आँट आफैं आएको हैन । स्याक नेपाल बाँके र अक्सफामले बाँकेको डुडुवा गाउँपालिकाको वडानम्बर २ मा महिला तथा बालिकामाथि हुने हिंसा विरुद्धको अभियान अन्तर्गत सामुदायिक छलफल केन्द्र सञ्चालनमा ल्यायो । 

२०७३ सालमा सञ्चालनमा आएको छलफल केन्द्रमा महिलालाई भेला गरेर एकअर्कामा बोल्न सिकाउन थालियो । गाउँ टोलमा हुने सभा, समारोहमा महिलाले पनि जानुपर्छ, आफूलाई लागेको कुरा भन्नुपर्छ भन्नेबारे सिकाइयो ।

घुम्टो बाहिरको जीवनबारे सिकाइयो । महिलाका अधिकार के हुन्, आफूमाथि अन्याय भए के गर्ने, महिला हिंसा के हो, बालविवाह गरे के हुन्छ भन्नेबारे पनि थाहा पाए । सामुदायिक छलफल केन्द्रमा जान थालेपछि रेखाले घुम्टो उघारेर हेर्न थाल्नुभयो । गाउँमा परिवारभित्रैबाट पीडामा परेका थुप्रै महिलाहरुको पीडा सुन्न थाल्नुभयो । 

गाउँमा झैझगडा हुँदा उहाँले आफैं सम्झाउन थाल्नुभयो । सुरुमा घरघर जान चुनौती भए पनि रेखाले सम्झाउने काम छोड्नु भएन । छलफल केन्द्रमा सिकेका कुरा श्रीमानलाई सिकाउन थाल्नुभयो । रेखा भन्नुहुन्छ, ‘त्योभन्दा पहिले मलाई केही थाहा थिएन । घुम्टोभित्र रहेकी मैले सामुदायिक छलफल केन्द्रमा जान थालेपछि धेरै कुरा सिकेँ । साँच्चै घुम्टो उघारेर हेर्दा त जिन्दगी नै फरक रहेछ ।’ 

सहयोगी श्रीमान

रेखा कार्यालय जाँदा उहाँका श्रीमान चेतराम बारीको काम गर्नुहुन्छ । दिनभरि खेतबारीको काम गरेर पसल पनि हेर्नुहुन्छ । साँझ बिहानको काम भने रेखा र चेतराम दुवैजना मिलेर गर्नुहुन्छ । ‘अहिले म महिला पनि अघि बढ्नुपर्छ, छोरीहरुलाई पनि पढाउनुपर्छ भन्दै समाजका मान्छेलाई सिकाउँछु पनि । यहाँसम्म पुग्न श्रीमानको साथ महत्वपूर्ण छ’  रेखाले भन्नुभयो ।

‘रेखा र चेतरामका दुई छोरा र दुई छोरी छन् । श्रीमती वडा सदस्य भएकोमा रेखाका श्रीमान खुसी हुनुहुन्छ । ‘श्रीमती झोला बोकेर कार्यालय जान्छिन्, म कोदाली समातेर बारीमा जान्छु । घरको काम मिलेर गर्छौं । निकै खुसी छौँ’ चेतरामले उज्यालोसित भन्नुभयो । 

(खुल्ला धरती, खुल्ला आकाशबाट)

अन्तिम अपडेट: चैत १२, २०८०

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया