तिहार र छठमा चिनीको अभाव नहुने खाद्य व्यापार कम्पनीको दाबी

 कात्तिक २१, २०७७ शुक्रबार १०:१६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चाडपर्वलाई हुनेगरी १० हजार टन चिनी ल्याउने जिम्मा पाएको खाद्य व्यापार कम्पनीले अझै चिनी ल्याउन सकेको छैन । तर यो वर्षको तिहार र छठ पर्वमा चिनीको अभाव नहुने कम्पनीले दाबी गरेको छ ।

१० हजार टन चिनी आयात ल्याउन नसकिए पनि साल्ट ट्रेडिङ कर्पोरेशनले ल्याएर बेचिरहेकाले बजारमा हल्ला फैलाइएजस्तो चिनीको अभाव नहुने कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालले दाबी गर्नुभयो । साल्ट ट्रेडिङले ल्याएको चिनी अहिले खाद्य संस्थानले पनि किनेर बेचिरहेको उहाँले बताउनुभयो । तर कम्पनीको सहुलियत चिनी तिहार र छठ पर्वमा भने नआउने पक्का भएको छ ।

गएको साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले चाडपर्वलाई लक्षित गरी खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनलाई ३० हजार मेट्रिक टन चिनी आयात गर्न जिम्मेवारी दिए पनि खाद्य व्यापार कम्पनीले भने समयमै चिनी ल्याउन नसकेको हो । त्यसबेला सरकारले ५० प्रतिशत भन्सार महशुल छुटमा खाद्य व्यापार कम्पनीलाई १० हजार र साल्ट ट्रेडिङलाई २० हजार टन चिनी आयात गर्न स्वीकृति दिइएको थियो ।

सरकारले दिएको स्वीकृतिअनुसार साल्ट ट्रेडिङले सहुलियत चिनी ल्याइरहेको छ । तर, खाद्य व्यापार कम्पनीले चिनी आयात गर्ने कम्पनी समेत टुङ्गो लगाउन सकेको छैन । चिनी आयात गर्नकै लागि गरिएको टेन्डरमा कुनै पनि कम्पनीले चासो नदेखाएकाले समयमै सहुलियत दरको चिनी नआउने महाप्रबन्धक खनालले बताउनुभयो ।

चिनी आयातका लागि दोस्रो पटक टेण्डर आह्वानकाे तयारी भइरहेको पनि उहाँले बताउनुभयो । अब टेण्डर आह्वान गर्दा पनि सबै प्रक्रिया पुर्याएर चिनी आयात गर्नका लागि तीन महिना लाग्ने उहाँको भनाइ छ । साल्ट टेड्रिङ कर्पोरेशनले अहिलेसम्म ५ हजार टन चिनी ल्याइसकेको छ । बाँकी चिनी ल्याउने काम भइरहेको साल्ट ट्रेडिङका विभागीय प्रमुख ब्रजेशकुमार झाले जानकारी दिनुभयो ।

सहुलियत दरको चिनी पर्याप्त नहुँदा नीजि व्यापारीले महँगो मूल्यमा चिनी बेच्ने गरेका छन् । सहुलियत दरमा आयात गरेको चिनी साल्ट ट्रेडिङले प्रतिकिलो ७३ रुपैयाँमा बिक्री गर्दै आएको छ । चाडपर्वलाई लक्षित गरी थप ३ रुपैयाँ छुट दिएको साल्ट ट्रेडिङको चिनी प्रतिकिलो ७० रुपैयाँ पर्छ । तर, बजारमा व्यापारीले प्रतिकिलो ८५ देखि ९५ रूपैयाँसम्ममा बेच्ने गरेका छन् ।

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया