प्रचण्डले बोलाएको सचिवालय सदस्यहरुको छलफलमा ओली सहभागी नहुने

 कात्तिक २१, २०७७ शुक्रबार १४:५०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय सदस्यहरुलाई पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाउनुभएको छ । पार्टीभित्रको विवाद थप बढेसँगै उहाँले केहीबेरमा सचिवालयका सदस्यहरुसँग छलफल गर्न लाग्नुभएको हो । 

सचिवालयका नाै जना सदस्यलाई नै कार्यकारी अध्यक्ष प्रचण्डले छलफलका लागि धुम्बाराहीमा बोलाउनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बिहीबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटमा अध्यक्ष प्रचण्डले सचिवालय बैठक बोलाउनुपर्ने बताउनुभएको थियो । प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री ओलीले अहिले नै बैठक बोलाउन जरुरी नरहेको प्रतिक्रिया दिनुभएको थियो ।

त्यसअघि अध्यक्ष प्रचण्डले आफ्नै निवास खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापासँग छलफल गर्नुभएको थियो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता, भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग प्रधानमन्त्री ओलीको भेट, राजदूत नियुक्तलगायत विषयमा विवाद हुँदा नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीचको तिक्तता बढेको छ । 

  

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया