प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच शिष्टाचार भेट

 कात्तिक २१, २०७७ शुक्रबार १५:१३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले दुई देशबीच सदिऔँ पुरानो विशिष्ट सम्बन्ध रहेको जनाउँदै एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डाक्टर राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले पारस्परिक समानता र पारस्परिक सम्मानका आधारमा दुई देशको सम्बन्ध अगाडि बढ्नुपर्ने पनि बताउनुभयो । दुवै देशबीच सीमालगायत अन्य कतिपय विषयमा समस्या भए पनि वार्ताको माध्यमबाट ती समस्याहरु हल गर्नुपर्नेमा ओलीले जोड दिनुभयो । वार्ता र संवादको माध्यमबाट विगतदेखि रहेका समस्या समाधान गर्दै सम्बन्धलाई समयअनुसार अगाडि लिएर जानुपर्ने ओलीले बताउनुभयो ।

भारतीय सेनाप्रमुख नरवणेले नेपाल भारतसँग सम्बन्धमा राम्रो हुनुपर्छ भन्ने मान्यताका साथ अगाडि बढिरहेको कुरा बोकेर भारत फर्किन लागेको बताउनुभयो । डा. भट्टराईका अनुसार नरवणेले प्रधान सेनापति पूर्णचन्द्र थापासँगको शिष्टाचार भेटमा दुवै देशका सेनाबीच एक आपसमा कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा कुराकानी भएको जानकारी पनि प्रधानमन्त्रीलाई दिनुभएको थियो ।

भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि बढेको सीमा विवाद समाधानका लागि यस्ता औपचारिक भेटवार्ताहरुले सहयोग पुग्ने डा. भट्टराईले बताउनुभयो । विगत एक वर्षदेखि बढ्दै गएको दुई देशबीचको सीमा समस्या समाधानका लागि पटक–पटक वार्ताको प्रस्ताव गर्दा पनि सफल हुन नसकेको सन्दर्भमा नियमित कुराहरुलाई निरन्तरता दिन सके सीमा समस्या समाधानका लागि औपचारिक वातावरण बनाउँदै समस्या समाधान हुने मान्यता रहेको डा. भट्टराईले बताउनुभयो ।

भेटमा प्रधानमन्त्रीसँगै उहाँका विदेश मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल पनि सहभागी हुनुहुन्थ्यो । त्यस्तै नरवणेसँगै भारतीय राजदूत विनयमोहन क्वात्रा पनि सहभागी हुनुहन्थ्यो ।

गएको बुधवार नेपाल आउनुभएका नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गनु भएको थियो । तीन दिने नेपाल भ्रमणमा रहनुभएका नरवणे शुक्रबार नै स्वदेश फर्कनु हुनेछ ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया