नेकपा विवाद : धुम्बाराही बैठकमा ओलीसहित चार सचिवालय सदस्य अनुपस्थित

 कात्तिक २१, २०७७ शुक्रबार १७:२०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाउनुभएको अनौपचारिक सचिवालय सदस्यहरुको बैठकमा चार जना सदस्य अनुपस्थित भएका छन् । 

केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा नाै सचिवालय सदस्यमध्ये केपी ओली पक्षधर मानिने चार जना सदस्यहरु अनुपस्थित भएका हुन् । छलफलमा अध्यक्ष प्रचण्डसहित उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ मात्रै सहभागी हुनुभएको हो । 

सचिवालयका नाै जना सदस्यलाई नै कार्यकारी अध्यक्ष प्रचण्डले छलफलका लागि धुम्बाराहीमा बोलाउनुभएको तर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेल सहभागी नहुनुभएको स्रोतले जनाएको छ । 

बिहीबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डसँग भएको भेटमा अध्यक्ष प्रचण्डले सचिवालय बैठक बोलाउनुपर्ने बताउनुभएको थियो । प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री ओलीले अहिले नै बैठक बोलाउन जरुरी नरहेको प्रतिक्रिया दिनुभएको थियो । 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता, भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग प्रधानमन्त्री ओलीको भेट, राजदूत नियुक्तिलगायत विषयमा विवाद हुँदा नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीचको तिक्तता बढेको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया