छत्रपाटी निःशुल्क चिकित्सालयमा लिफ्ट जडानका लागि काठमाण्डाै महानगरबाट तीस लाख सहयोग

 कात्तिक २२, २०७७ शनिबार १४:५१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैकाे छत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडानका लागि काठमाण्डाै महानगरपालिकाले तीस लाख रुपैयाँ अनुदान दिएको छ ।

२०१३ सालमा स्थापना भएर नागरिकलाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्दै आएको चिकित्सालयलाई काठमाण्डाै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा रकम सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

काठमाण्डाै महानगरपालिकाका शहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापा र चिकित्सालयका तर्फबाट डाक्टर अध्यक्ष मनोजमान श्रेष्ठले सो सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौतापत्रमा हस्ताक्षरपछि सम्बाेधन गर्दै काठमाण्डाै महानगरपालिकाले स्वास्थ्य सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको भन्दै प्रमुख शाक्यले ‘कोर–सिटी’ का झण्डै तीन सय नागरिकलाई दैनिक सेवा प्रवाह गर्दै आएको निःशुल्क चिकित्सालयलाई आर्थिक सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

‘जनस्तरमा खुलेको र जनताकै सेवामा समर्पित चिकित्सालयलाई सहयोग गर्न पाउँदा खुशी लागेको छ,’ शाक्यले भन्नुभयो, ‘थप सेवा प्रवाह र चिकित्सालयको उन्नतिका लागि जनताको पनि अपनत्व महसुस गराउन जनसहभागिताबाट समेत सहयोग रकम जुटाउनुहोला । थप आर्थिक सहयोगका लागि महानगरपालिका तयार छ ।’

प्रमुख शाक्यले चिकित्सालयको थप नयाँ भवन निर्माणका लागि आर्थिक वर्ष २०७७/०७८ मा पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेको स्मरण गराउनुभयो । कार्यक्रमलाई सम्बाेधन गर्दै चिकित्सालयका अध्यक्ष डाक्टर श्रेष्ठले कोर–सिटी’ का नागरिकलाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवा प्रदान गरिरहेको छत्रपाटी निःशुल्क चिकित्सालयलाई ठूलो सहयोग प्राप्त भएको बताउनुभयो ।

उहाँले ३५ करोडको लगानीमा अत्याधुनिक भवन निर्माणको तयारीमा चिकित्सालय जुटिरहेको भन्दै सो भवन निर्माणका लागि पनि महानगरपालिकाले पाँच करोड सहयोगको प्रतिवद्धता व्यक्त गर्दा आफूहरु थप उत्साहित भएको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया