कम्युनिस्ट नेतृत्वकाे सरकारले अस्थिरता र भ्रष्टाचारबाहेक केही दिन सकेन : प्रकाशमान सिंह

 कात्तिक २४, २०७७ सोमबार १३:५१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्ट नेतृत्वको सरकारले देशमा जहिले पनि अस्थिरता र भ्रष्टाचारलाई मात्रै प्रश्रय दिएको बताउनुभएको छ । पहिलो संविधान सभादेखि अहिलेसम्म कम्युनिस्टहरूले नागरिकबाट अत्यधिक मत पाएको तर सत्तामा पुगेपछि अस्थिरता र भ्रष्टाचारबाहेक केही पनि दिन नसकेको बताउनुभयो ।

गणेशमान सिंहको १०६ औँ जन्मजयन्तीको अवसरमा गणेशमान सिंह फाउण्डेशनले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले अहिले पनि झण्डै दुई तिहाइको बहुमत पाएको नेपाल कम्युनिस्ट पार्टीको सरकारले नागरिकलाई अस्थिरता र भ्रष्टाचार मात्रै दिएको बताउनुभयो । पहिलो संविधान सभामा नागरिकले म्यान्डेड दिए पनि संविधान जारी नगरि भङ्ग गरेको र अहिले पनि संविधानको कार्यान्वयन गर्न दिएको म्यान्डेड विपरीत अस्थिरता र भ्रष्टाचारलाई बढवा दिएको उहाँकाे भनाइ छ । 

बालुवाटारको ललिता निवास जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस काण्ड, वाइडबडी न्यारोबडी काण्ड बाहिर आउँदासमेत सरकारले कसैलाई कारबाही नगरेको नेता सिंहले बताउनुभयो । प्रधानमन्त्रीले आफू पनि भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ भन्ने तर आफ्नै पार्टीका नेताहरु संलग्न भएका घोटलाहरूमा उहाँले नै संरक्षण गर्ने काम गरिराखेको बताउनुभयो ।

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गर्नुपर्ने न्यूनतम कामसमेत गर्न नसकेको उहाँले बताउनुभयो । कोरोनाका कारण उत्पन्न पछिल्लो परिस्थितिमा नागरिकलाई राहत दिनुपर्नेमा सरकारले औषधि र उपकरण खरिदमा घोटला गरेको उहाँले बताउनुभयो । सरकारले कोरोना महामारी रोकथाममा न्यूनतम काम पनि नगर्ने र पछिल्लो समय हामी गर्न सक्दैनौँ भन्दै पछि हटेकोसमेत बताउनुभयो । सरकारले कोरोना रोकथामको लागि न्यूनतम कामसमेत गर्न नसक्दा नागरिक दुःखी भएको पनि नेता सिंहले बताउनुभयो । 

सरकारले सङ्घीयताको भावना विपरीत एकपछि अर्को काम गरिराखेको आरोपसमेत नेता सिंहले लगाउनुभएको छ । संविधानले देशमा तीन तहको सरकारको व्यवस्था गरे पनि प्रधानमन्त्रीले सङ्घीय सरकारकै इकाइको रुपमा प्रदेश र पालिकालाई लिएको उहाँले बताउनुभयो । 

यस्तै नेता सिंहले नेपाली कांग्रेसभित्र पनि अप्रजातान्त्रिक गतिविधि बढेको बताउनुभएको छ । पार्टीभित्र देखा परेका अप्रजातान्त्रिक गतिविधि सुधार गर्नको लागि पनि तोकिएको मितिमा नै महाधिवेशन गर्नुपर्ने उहाँले बताउनुभयो । चार वर्षमा हुनुपर्ने महाधिवेशन एक वर्ष समय थप हुँदा पनि हुन नसक्ने स्थितिमा आएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

महाधिवेशन गर्नका लागि गर्नुपर्ने तयारी केही पनि नगरिएको उहाँले बताउनुभयो । यस्तै प्रजातान्त्रिक पार्टीभित्र अप्रजातान्त्रिक विधिबाट गठन भएका सबै विभागहरु खारेज हुनुपर्ने माग उहाँकाे छ । 

नेपाली नागरिकले गणेशमान सिंह जस्तै चरित्रवान्, स्वच्छ छवि भएका राजनीतिज्ञकाे चाहना गरेको उल्लेख गर्दै अहिलेका नेताहरू पनि सच्चिनुपर्ने उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया