‘भाडा तिरिदिन्छौँ भनेका छौँ, खुलामञ्चमै किन भोजभतेर गर्नुपर्‍याे ?’

 कात्तिक २४, २०७७ सोमबार १७:१६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाण्डाै गरिखानेहरूको सपनाको सहर भएको बताउनुभएको छ । उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

‘सडकमा कसैले पनि मागी खानुपर्ने अवस्था आयो भने उनीहरु सबैलाई व्यवस्थापन गर्ने दायित्व काठमाण्डाै महानगरपालिकाको हो’, शाक्यले भन्नुभयो, ‘हामीले त्यही जिम्मेवारी निर्वाह गर्ने कोसिस गरिरहेका छौँ । यस्तो अवस्थामा एकले अर्कालाई दोषारोपण गरेर भन्दा पनि सबै मिलेर अघि बढ्नुपर्छ । यो सबैको दायित्व पनि हो ।’

शाक्यले खुलामञ्चमा निःशुल्क खाना खुवाएको विषय सबैको सरोकारभित्र परेको भन्दै त्यसलाई व्यवस्थापन गरेरै छाड्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘मेरो जानकारीअनुसार झण्डै आधा दर्जन संस्थाले त्यहाँ निःशुल्क खाना खुवाइरहेका छन्’, उहाँले भन्नुभयो, ‘सबैले एकै ठाउँमा खाना खुवाउन आवश्यक छैन । हामीले निःशुल्क भोजनको व्यवस्था गरिरहेका सङ्घ–संस्था र व्यक्तिलाई र खाना खानेलाई पनि पायक पर्ने गरी फरक–फरक ठाउँमा बन्द स्थानको छनोट गर्नुहोस् भनेका छौँ । हामी ती ठाउँको भाडा तिर्न तयार छौँ । त्यति मात्र होइन खाना खुवाउन आर्थिक अभाव भयो भने हामी खाद्यान्नको समेत व्यवस्थापन गर्न तयार छौँ । तर यस्तो कोरोना कहरका बेला स्वास्थ्य मापदण्डको समेत ख्याल नगरि खुला ठाउँमा खाना खुवाउनु हुन्न भन्ने हाम्रो चाहना हो ।’

उहाँले खाना खुवाउनकै लागि विभिन्न विदेशी संस्था र स्वदेशबाट समेत आर्थिक सहयोग उठाउनुपर्ने र चन्दा माग्नुपर्ने आवश्यकता नरहेको भन्दै आवश्यक सहयोग गर्न महानगरपालिका तयार रहेको पनि जानकारी गराउनुभयो ।  

उहाँले अहिले पनि श्रम गरी खानेहरूका लागि कुनै समस्या नभएको भन्दै उनीहरूलाई प्रोत्साहन गर्न सबैसँग आग्रह गर्नुभयो । ‘काम नगरि खाने प्रवृत्तिको अन्त्य र श्रम गरी खानेलाई प्रोत्साहन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । कोभिड–१९ का कारण रोजगारी गुमाएकालाई श्रममा आधारित रोजगारीका अवसर दिन महानगरपालिका तयार छ’, उहाँले भन्नुभयो, ‘हामी सबैसँग सहकार्य गरी अघि बढ्दै मागी खानुपर्ने बाध्यतामा रहेका महानगरवासीलाई व्यवस्थापन गर्न तयार छाैँ ।’

उहाँले सङ्घीय सरकार, प्रदेश सरकार र पालिकाकाे समन्वयमा पाँच हजार बेडको आइसोलेशन वार्ड निर्माण गर्ने भनेको स्मरण गराउँदै कतिपय अवस्थामा महानगरपालिकाले नै निर्माण गर्ने भनी समाचार आएको र त्यसमा केही भ्रम पर्न गएको बताउनुभयो । उहाँले पछिल्लो समय काठमाण्डौ उपत्यकामा कोरोना सङ्क्रमणको अवस्था भयावह बन्दै गएको र त्यसमा पनि महानगरपालिकामा अझ सङ्क्रमण दर बढिरहेको भन्दै पालिका, प्रदेश र केन्द्र सरकारको समन्वयमा व्यवस्थापन गर्नुको अर्को विकल्प नरहेको प्रष्ट पार्नुभयो ।

उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले अहिलेसम्म पालिकाले गरेका काम सकारात्मक भए पनि थप समन्वय गरेर अघि बढ्दा अझ राम्रो हुने बताउनुभयो ।

सांसद भीमसेनदास प्रधानले समन्वयको अभावमा समस्या हुने गरेको भन्दै समन्वय गरेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले खुलामञ्चमा निःशुल्क खाना खुवाउनेहरूलाई व्यवस्थापन गर्ने नाममा त्यत्तिकै छाड्न नमिल्ने भन्दै समन्वय गरेर स्थान तोकेरै खाना खुवाउने व्यवस्था गर्न आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया