सुनको भाउ एकैदिन झण्डै साढे ३ हजार रुपैयाँले घट्यो

 कात्तिक २५, २०७७ मंगलबार ११:३७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज एकैदिन झण्डै साढे ३ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा सुन ३ हजार ४ सय रुपैयाँ घटेर ९४ हजार ८ सय रुपैयाँमा झरेको छ । हिजो तोलामा सुन  ९८ हजार २ सय रुपैयाँ थियो । अमेरिकाकाे राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी हुनु र कोरोना विरुद्धको खोपमा सफलता मिल्नुले सुनचाँदीको भाउ घटेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

कोभिड-१९ विरुद्धको खोपका सम्भावित सफलताको आशासँगै विश्व शेयर बजारमा सकारात्मक प्रभाव देखिन थालेपछि सुनको भाउ घट्न थालेको हो । अब तत्काल सुनको भाउ बढ्ने सम्भावना नरहेको महासङ्घले जनाएको छ ।

हिजो ड्रग्स फर्म फाइजरले प्रारम्भिक विश्लेषणमा आफूले निर्माण गरिरहेको कोरोना भाइरस विरुद्धको खोप ९० प्रतिशत प्रभावकारी भएको दाबी गरेसँगै शेयर बजारमा उकालो  लाग्न थालेको छ । यसैबीच, आज चाँदी पनि तोलामा ६० रुपैयाँले घटेको छ ।

चाँदी आज तोलामा १२ सय १५ रुपैयाँमा कारोबार भएको छ । हिजो तोलामा १२ सय ७५ रुपैयाँ थियो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया