रुस, अर्मेनिया र अजरबैजानबीच शान्ति सम्झौता

 कात्तिक २५, २०७७ मंगलबार १३:४:२३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – लामो समयदेखि भइरहेको सङ्घर्ष रोक्न रुस, अर्मेनिया र अजरबैजानबीच सहमति भएको छ ।  अजरबैजान र आर्मीनीयाबीच ६ हप्तादेखि चलेको युद्धपछि सहमति भएको हो ।

नगोर्नो काराबाख क्षेत्रलाई लिएर लामो समयदेखि यी दुई देशबीच विवाद छ । विवादित यो भूमि अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको मानिन्छ तर त्यो क्षेत्र सन् १९९४ देखि अर्मेनियाको जातीय समूहको नियन्त्रणमा छ ।

नयाँ सम्झौताअनुसार युद्धका क्रममा नगोर्नो काराबाख क्षेत्रमा आफ्नो नियन्त्रणमा लिन सफल स्थान अजरबैजानले प्राप्त गर्नेछ । त्यसबाहेक अन्य केही क्षेत्रबाट समेत आफू हट्न अर्मेनियाले सहमति जनाएको बीबीसीले उल्लेख गरेको छ ।

युद्धका क्रममा अजरबैजानले रुसको सैन्य हेलिकप्टर खसालेको पनि स्वीकार गरेको छ । यो आक्रमणमा चालक दलका दुई सदस्यको ज्यान गएकाे थियो भने एक जना घाइते भएका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो क्षेत्रमा रुसी शान्ति सेनाको उपस्थिति रहने बताउनुभएको छ ।

अजरबैजानका राष्ट्रपति इल्हाम अलियभले शान्ति सम्झौतालाई द्वन्द्व समाधानको एउटा महत्त्वपूर्ण अवस्था भएको बताउनुभएको छ । अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले भने यो सम्झौता आफू र आफ्ना नागरिकका लागि पीडादायी भएको बताउनुभएको छ । 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया