नेता पोख्रेलको प्रस्तावः ‘दुई अध्यक्षबीच छलफल गरेर मात्रै बैठक डाकाैँ’, प्रचण्डको जवाफः ‘एक्लाएक्लै बैठक बस्नुको अर्थ छैन’

 कात्तिक २५, २०७७ मंगलबार १४:३९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले दुई अध्यक्षबीच छलफल गरेर मात्रै सचिवालय बैठक डाक्नुपर्ने प्रस्ताव गर्नुभएको छ ।

खुमलटार पुगेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उहाँले दुई अध्यक्षबीच छलफल गरेर एजेण्डा तय गरेर बैठक बस्नु उपयुक्त हुने प्रस्ताव गर्नुभएको हो । दुई अध्यक्ष मिल्नुको विकल्प नरहेको भन्दै उहाँले अध्यक्ष प्रचण्डलाई पहिले दुई अध्यक्षबीच बैठक बसेर सचिवालय बैठक बोलाउन आग्रह गर्नुभएको हो ।

स्रोतका अनुसार नेता पोख्रेलले अब विवाद लम्ब्याउन नहुने बताउनुभएकाे छ । उहाँले दुई अध्यक्ष मिलेर समस्या समाधान गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डलाई दुई अध्यक्षको बैठकमा सहमत हुन आग्रह गर्नुभएको थियो ।

तर अध्यक्ष प्रचण्डले भने अब ओलीसँग बसेर छलफल गर्नुको अर्थ नरहेको भन्दै आफूहरूको अनुरोधअनुसार केन्द्रीय सचिवालय बैठक नै बस्नुपर्ने बताउनुभएको थियो ।

स्थायी कमिटी सदस्य पोख्रेल थोरै समय बसेर खुमलटारबाट फर्किहाल्नुभएको र लामो कुराकानी नभएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सिधै बैठकमा बस्न सहमति जनाउन नसकेपछि अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दिउँसो चार बजेपछि पार्टी मुख्यालय धुम्बाराहीमा औपचारिक सचिवालय बैठकका लागि समय तोकेका छन् । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया