नेकपा सचिवालयका बहुमत सदस्यको निर्णय : ओलीलाई अझै दुई दिन कुर्ने

 कात्तिक २५, २०७७ मंगलबार १८:२७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयका बहुमत सदस्यको छलफलले आउँदो बिहीबारसम्म प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कुर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको पाँच सचिवालय सदस्यको छलफलले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई अबको दुई दिन कुर्ने निर्णय गरेको हो । 

भोलि (बुधबार) प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली काठमाण्डौ बाहिर जाने भएकोले बिहीबार उहाँसहितको औपचारिक बैठक बस्ने आशासहित मङ्गलबारकाे अनौपचारिक छलफल सकिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

छलफलमा अध्यक्ष प्रचण्डसहित उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता श्रेष्ठ सहभागी हुनुभएको थियो ।

धुम्बाराहीमा छलफल गर्नुअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । दुई अध्यक्षबीच बालुवाटार के–के विषयमा छलफल भयो भन्नेबारे भने खुलाइएको छैन । 

बालुवाटारबाट फर्किए लगत्तै सुरु भएको छलफलमा अध्यक्ष प्रचण्डले आफूले पर्सि (बिहीबार) बैठक बस्छ भनेर आएको र उहाँ सम्भवतः सहभागी हुने जानकारी गराउनुभएको थियो । त्यसअघि प्रधानमन्त्री ओली निकट मानिने स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएको थियो ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बस्न सहमति जनाउन नसकेपछि अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी मुख्यालय धुम्बाराहीमा मङ्गलबार  ​अनौपचारिक बैठक राखेको हो । 

यसअघि पनि गएको शुक्रबार धुम्बाराहीमै सचिवालय सदस्यहरूको अनौपचारिक बैठक बसेको थियो । अध्यक्ष एवं प्रधानमन्त्री ओली बैठक बस्नुअघि दुई अध्यक्षबीच एजेण्डा तय गर्न छलफल गर्नुपर्ने अडानमा हुनुहुन्छ भने अब एक्लै–एक्लै छलफल गर्नुको अर्थ नरहेको अर्का अध्यक्ष प्रचण्डले अडान लिँदै आउनुभएको छ ।

नेकपाको विधानमा सचिवालय बैठक बस्न दुई अध्यक्षको सहमति आवश्यक रहने उल्लेख गरिएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया