धनगढीदेखि भेडेटारसम्म ढकाल समूहकाे चुनावी अभियान : भारी मतान्तरले विजयी हुने दाबी

 कात्तिक ३०, २०७७ आइतबार १९:२२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न चुनावमा जिल्ला तथा नगर अध्यक्षहरूले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल टिमलाई ८० प्रतिशतभन्दा बढी मत दिएर विजयी गराउने प्रतिबद्धता जाहेर गरेका छन् । 

महासङ्घको आसन्न चुनावकाे क्रममा जिल्ला दौडाहामा रहनुभएका वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल, जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधि तिवारी तथा केन्द्रीय सदस्यहरूलाई प्रत्यक्ष रूपमा भेट गरी जिल्ला नगर अध्यक्षहरूले टिमलाई ८० प्रतिशतभन्दा बढी मत दिएर विजयी गराउने प्रतिबद्धता जाहेर गर्नुभएकाे हाे ।  

जिल्ला अध्यक्षहरूले भेटघाटको क्रममा महासङ्घको नेतृत्व गर्न स्टेक होल्डर चाहिने र त्यसका लागि एक मात्र विकल्प चन्द्र ढकाल रहेको समेत बताएका थिए । ‘वास्तविक रूपमा व्यवसाय गरेका सफल व्यवसायीले मात्रै महासङ्घको नेतृत्व सम्हाल्न सक्छ’, भेटघाटका क्रममा जिल्ला अध्यक्षहरूले भने, ‘चन्द्र ढकाल बागलुङमा जन्मेर सानादेखि ठूला व्यवसायसम्म सफल रुपमा सञ्चालन गरेको र सरकारदेखि विदेशी दातृ निकायसम्म पनि उत्तिकै पहुँच भएकाले ढकाल महासङ्घमा अहिले निर्विकल्प उम्मेदवार हुन् ।’ 

नेपालको सुदूरपश्चिमको धनगढीबाट सुरु गरेर १ नम्बर प्रदेशको धनकुटासम्म पुगेको ढकाल टिमलाई सबै जसो जिल्ला अध्यक्षले प्रत्यक्ष रूपमा भेट गरी भारी मतले चुनाव जिताउन आफूहरू लागिपर्ने बताएका थिए । चुनावी अभियानको क्रममा कात्तिक २० गते धनगढी पुग्दा ढकाल प्यानललाई स्वागत गर्दै सुदूरपश्चिम प्रदेशका सबैजसो जिल्ला अध्यक्षले एउटै स्वरमा भने ‘हामीले डेढ दशकपछि साना मझौला तथा जिल्लाका उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्न सक्ने व्यक्ति पाएका छौँ, त्यसैले आसन्न चुनावमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल र जिल्ला नगरतर्फका उपाध्यक्ष गुणनिधि तिवारीलाई जिताउनुको विकल्प छैन ।’ 

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका १० जिल्ला नगर अध्यक्षमध्ये आठ जनाले प्रत्यक्ष रूपमा उपस्थित भइ जिताउन लाग्ने बताएका थिए । प्रदेशको चुनावी सभामा अन्य प्रदेशका जिल्ला नगरका अध्यक्षसमेत गरी तीन दर्जनभन्दा बढी अध्यक्षकाे उपस्थिति रहेको थियो स सुदूरपश्चिमको धनगढीबाट सुरु भएको चुनावी अभियानमा नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै काठमाण्डाैसम्म आइपुग्दा सबै प्रदेशका गरी ८० प्रतिशतभन्दा बढी जिल्ला नगर अध्यक्षले आसन्न चुनावमा ढकाल टिमलाई जसरी पनि जिताउनुपर्ने भन्दै अभियानमा होमिएका थिए । जसमा ५० भन्दा बढी जिल्लाका अध्यक्षसँगै सहभागी भएर चुनाव प्रचारप्रसारमा हिँडेका थिए । 

ढकाल समूहले कात्तिक २७ गते १ नम्बर प्रदेशको भेडेटारमा गरेको चुनावी अभियानमा ५२ जिल्ला नगरका अध्यक्ष एवं प्रतिनिधिहरू उपस्थित भएका थिए ।
झण्डै दुई दर्जन जिल्ला नगरबाट पूर्वअध्यक्ष तथा पदाधिकारीहरू प्रतिनिधित्व गर्दै ढकाल टिमलाई समर्थन गर्न उपस्थित भएका थिए ।

ढकाल टिमको स्वागतमा नेपालगञ्जमा आयोजित कार्यक्रम महासङ्घको केन्द्रीय अधिवेशन वा विजय सभाभन्दा कम थिएन । नेपालगञ्जको झकिझकाउ सजावटबाट सिङ्गारिएको सभा हलमा उपस्थित कर्णाली र ५ नम्बर प्रदेशका जिल्ला नगरका अध्यक्षहरुले अब महासङ्घमा आफूहरुको प्रतिनिधित्व नै ढकालले गर्ने भन्दै जितको अग्रिम बधाई दिएका थिए ।

‘आजसम्म महासङ्घका धेरै व्यक्तिलाई मत दिएर जिताएर पढाइयो तर जिल्ला नगरका उद्योगी व्यवसायीलाई समस्या पर्दा कहिल्यै फोन उठाएनन् भने समस्या समाधान गर्ने प्रयत्न पनि गरेनन्’, कार्यक्रममा उपस्थित जिल्ला नगरका अध्यक्षहरूले भने, ‘वरिष्ठ उपाध्यक्ष ढकालको देशभर आफ्ना उद्योग व्यवसाय फैलिएको, यसअघि पनि आफ्ना समस्या समाधान गरिदिन खटिने गरेको र महासङ्घका आफ्ना साथीहरू कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष चक्र अधिकारी र महासङ्घका केन्द्रीय सदस्य किशोर आचार्य दुर्घटनामा पर्दा दिनरात नभनी खटिएर एअरलिफ्टमार्फत उद्धार गरी उपचार गराउनुभयो, त्यसको गुन तिर्न पनि हामीले निर्विकल्प रूपमा ढकाललाई जिताउनुपर्छ ।’ 

जिल्ला नगरका अध्यक्षहरूको ढकाल समक्ष एउटै माग थियो, ‘यसअघि धेरैलाई जिताएर नेतृत्वमा पुर्‍यायाैँ, अहिले आफूहरूलाई समस्या परेर फोन गर्न न फोन उठ्छ न समस्या समाधान गर्दिन्छन् तर तपाईँ चुनाव जितेर नेतृत्वमा पुगेपछि त्यसो नगरिदिनुहोला ।’ साथै उनीहरुले महासङ्घका ढकाल जस्तो एक असल अविभावक पाएको भन्दै खुसीको अनुभूति गरेका थिए । 

साथै ढकालले पनि ६ प्रदेशका विभिन्न ठाउँमा भएका कार्यक्रममा आफूले चुनाव जितेर गएसँगै नेतृत्वको फोन नउठ्ने भन्ने गुनासो सम्बोधन हुने विश्वास दिलाउँदै आउँदा दिनमा जिल्ला नगरकै उद्योगी व्यवसायीसँग सहकार्य गरेर आफूले व्यापार व्यवसाय विस्तार गर्ने प्रतिबद्धतासमेत जाहेर गरेका थिए । 

यसैगरी ५ नम्बर प्रदेशको बुटवलमा आयोजित कार्यक्रममा प्रदेशका सबै जसो जिल्ला नगर उद्योग वाणिज्य सङ्घका अध्यक्षहरुले अबको महासंघमा ढकाल निर्विकल्प रहेको बताएका थिए । जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधि तिवारीको आफ्नै प्रदेशमा आयोजित कार्यक्रममा जिल्ला अध्यक्षहरूले सानादेखि ठूलो व्यवसायसम्म सफल रूपमा सञ्चालन गर्दै आएका ढकाल र जिल्ला नगरका हरेक समस्यासम्म जुध्दै आएका तिवारीको टिमलाई जिताउनु नै समग्र व्यवसायीको हित हुने बताउनुभएकाे थियाे ।

यसैगरी ढकाल आफैले प्रतिनिधित्व गर्ने गण्डकी प्रदेशका १६ वटै जिल्ला नगरका अध्यक्षले ढकाल प्यानललाई एकछापे भोट हाल्ने भन्दै अन्य प्रदेशका अध्यक्षहरूलाई समेत यस टिमलाई दुई तिहाइ भन्दा बढी भोट दिएर जिताउन आग्रह गरेका थिए ।

कार्यक्रममा उपस्थित जिल्ला अध्यक्षहरूले महासङ्घको नेतृत्व गर्ने व्यक्ति हरेक हिसाबले सबल र सक्षम हुनुपर्ने भन्दै त्यसका लागि वरिष्ठ उपाध्यक्ष ढकालको विकल्प नभएको बताएका थिए । 

त्यस्तै वाग्मती प्रदेशमा पनि कुल १६ मध्ये १२ वटा जिल्ला नगरका अध्यक्षहरू उपस्थित भएर आसन्न चुनावमा ढकाल प्यानलको विकल्प नरहेको बताएका थिए । यसैगरी चुनावी अभियानमा रहेको ढकाल समूहलाई गुलरिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष विरु चौधरी, राजापुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद रेग्मी, गैडाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष अमृत भट्टचनले आ–आफ्नै महासङ्घको सभा कक्षमा स्वागत गर्दै ढकाल समूहलाई आफ्नो पूर्ण साथ र समर्थन रहेको बताएका थिए । 

यसैगरी चितवन उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु श्रेष्ठ, रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजाराम रेग्मी र खैरेनी उद्योग वाणिज्य सङ्घका अध्यक्ष चन्द्र सापकोटाले संयुक्त रूपमा चितवनमा स्वागत गर्दै आफ्नो पूर्ण साथ रहेको भन्दै जितको अग्रिम शुभकामना दिएका थिए ।

चुनावी अभियानको क्रममा रहेको ढकाल समूहलाई १ नम्बर प्रदेशको भेडेटारमा स्वागत गर्दै त्यस प्रदेश अन्तर्गतका जिल्ला नगर अध्यक्षहरूले यही टिमले आफ्ना व्यवसायीका समस्या समाधान गर्न सक्ने बताएका थिए । कार्यक्रममा उपस्थित प्रदेशका १७ वटा जिल्ला नगरका अध्यक्षहरूले ढकाल प्यानलसँग आफ्नो मन र एजेण्डा मिलेको भन्दै कुनै पनि शक्तिले याे समूहलाई पराजित गर्न नसक्ने उद्घोष गरेका थिए । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया