चन्द्र ढकाल टिमलाई निर्यात व्यवसायी महासङ्घको साथ

 मंसिर ५, २०७७ शुक्रबार २०:३६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – निर्यात व्यवसायी महासङ्घ नेपाल (फिन) ले नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवार चन्द्रप्रसाद ढकालको टिमलाई सहयोग गर्ने भएको छ । 

निर्यातजन्य उद्योग व्यवसायको क्षेत्रमा सक्रिय वस्तुगत सङ्घहरुले स्थापना गरेको निर्यात व्यवसायी महासङ्घ नेपालले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल र वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र त्यही टिमका वस्तुगततर्फका सदस्यका उम्मेदवारहरूलाई स्वागत तथा शुभकामना दिँदै यस टिमलाई खुला रुपमा सहयोग गर्ने उद्घोष गरेको हो । 

महासङ्घले शुक्रबार काठमाण्डौमा चन्द्र ढकाल टिमलाई स्वागत तथा जितको अग्रिम शुभकामना दिँदै फिन अन्तर्गतका ११ वटा वस्तुगत सङ्घका अध्यक्षहरुले टिमलाई मतदान गर्ने उद्घोष गरेको हो । 

स्वागत तथा शुभकामना कार्यक्रममा निर्यात व्यवसायी एवं फिनका अध्यक्ष तथा प्रदेश सांसद रामबहादुर गुरुङले महासङ्घमा वस्तुगत सदस्यहरुको हितका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल र उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको टिमलाई जिताउनु पर्ने बताउनुभयो । 

अहिलेको अवस्थामा सरकारले व्यवसायीको समाधानमा लागि बेवास्ता गरेको भन्दै सरकारसँग छलफल र सहकार्य गरेर आफ्ना समस्या समाधान गराउनका लागि पनि वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले नेतृत्व गरेको उमेशलाल श्रेष्ठको टिमलाई जिताउनुको विकल्प नरहेको गुरुङको दाबी थियो । 

‘म यस फिन अन्तर्गत रहेको सम्पूर्ण सदस्यहरुलाई क्रस नगरि ढकालले नेतृत्व गरेको टिमको सम्पूर्ण सदस्यहरुलाई नै मतदान गर्न आग्रह गर्दछु’, गुरुङले भन्नुभयो, ‘यदि हामीले सानोदेखि ठूलो व्यवसायसम्म सफल रुपमा सञ्चालन गर्दै आउनुभएको ढकालले नेतृत्व गरेको टिमलाई नै जिताउन सक्यौँ भने हाम्रो समस्या पनि समाधान हुने आशा लिएका छौँ ।’ साथै अबका दिन सरकारसँग दुई धारमा नभइ सहकार्य गरेर व्यवसायीका समस्या समाधान गर्नसमेत चन्द्र ढकाल समूहलाई आग्रह गरेका थिए । 

कार्यक्रममा बोल्दै फिन अन्तर्गत रहेका वस्तुगत सङ्घका अध्यक्षहरुले स्वतः अध्यक्ष भइसकेका व्यक्तिले एउटा टिमको नाममा महासङ्घभित्र कार्टेलिङ गरेको भन्दै त्यसलाई तोड्न पनि ढकाल प्यानललाई भोट दिनुपर्ने बाध्यता रहेको बताएका छन् । 

‘चुनावी प्रतिस्पर्धामा रहेका दुवै प्यानलको सर्वमान्य अध्यक्ष भएर बस्नुपर्ने व्यक्तिले अहिले एउटा टिम खडा गरी त्यस टिमलाई जिताउन दर्जनौँ व्यक्तिलाई मनोनितको बल्छी फालेर हिँडेका छन्’, फिन अन्तर्गत रहेको वस्तुगत सङ्घका अध्यक्षहरुले भने, ‘उनको त्यस व्यवहारले महासङ्घमा दुर्घटना निम्तिने छ, तसर्थ महासङ्घलाई दुर्घटनाबाट बचाउनका लागि पनि ढकाल प्यानललाई जिताउनुपर्ने छ ।’

फिनमा निर्यात क्षेत्रका कार्यरत ११ वटा वस्तुगत संस्थाहरु रहेका छन् । जसमा नेपाल गलैँचा निर्यात सङ्घ, गार्मेण्ट एसोसिएशन, नेपाल पश्मिना उद्योग सङ्घ, नेपाल हातेकागज सङ्घ, नेपाल हब्र्स एण्ड हर्बल उत्पादक सङ्घ, स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपाल, अलैँची उत्पादक सङ्घ, अदुवा प्रशोधन तथा व्यापार सङ्घ, नेपाल बोटल वाटर उद्योग सङ्घ र सिल्क एसोसिएशन रहेका छन् । 

कार्यक्रममा सबै सङ्घका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले आफ्नो सुरुवाती व्यवसाय नै निर्यात क्षेत्रबाट सुरु भएको जानकारी दिँदै आफू पनि फिनभित्रैकै एक सदस्यको रुपमा रहेकोले यस क्षेत्रको विकासका लागि काम गर्ने बताउनुभयो । 

‘म चुनावको क्रममा यहाँ आएर भोट मात्रै माग्ने र पछि वास्ता नगर्ने भन्ने म र मेरो टिमबाट हुँदैन, यो कुराको यहीँ हलबाट प्रतिबद्धता जाहेर गर्दछु’, ढकालले भन्नुभयो, ‘हाम्रो टिम जितेर गएपछि तपाईँहरुले गर्व हुने गरी काम गरेर देखाउनेछौँ ।’ 

साथै व्यावसायिक समस्या पहिचान गरी तत्काल समाधान गर्नका लागि स्केट होल्डर चाहिने भन्दै त्यसका लागि पनि आफ्नो टिमलाई जिताउन उहाँको आग्रह थियो । 

कार्यक्रममा फिनका उपाध्यक्ष एवं सिल्क एसोसिएशनका अध्यक्ष शंकर पाण्डेले महासङ्घ कमजोर हुँदा सम्पूर्ण निजी क्षेत्र कमजोर हुने भन्दै निजी क्षेत्र एक भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले आफ्नो टिमको विजयसँगै महासङ्घले फिनसँग सहकार्य गर्दै निर्यात प्रवद्र्धनमा काम गर्ने बताउनुभयो । 

‘देशको कुल गार्हस्थ्य उत्पादनमा ७० प्रतिशतभन्दा बढी योगदान दिने निजी क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण एकदमै नकारात्मक छ, त्यसलाई परिवर्तन गर्नु जरुरी छ’, उहाँले भन्नुभयो, ‘हाम्रो धेरै एजेण्डा छैनन्, हामीले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउँदै देशको आर्थिक वृद्धिका योगदान पुर्‍याउने हो ।’ 

साथै उहाँले कार्यक्रममा पटक–पटक हारेका व्यक्ति अहिले पनि चुनावी मैदानमा रहेको भन्दै आफू सगरमाथा चढ्न हिँडेको व्यक्ति अहिले बेस क्याम्पमा पुगेको बताउनुभयो । 

यसैगरी महासङ्घका पूर्वअध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले फिन अन्तर्गतका सम्पूर्ण सदस्यहरुले चन्द्र ढकाल प्यानललाई बोलाएर समर्थन गर्नु नै यस टिमको जितको स्पष्ट आधार भएको बताउनुभयो । 

कुनै समय देशमा बढी रोजगारी दिइ वैदेशिक मुद्रा भित्र्याउँदै देशको आर्थिक वृद्धिमा योगदान दिने निर्यात क्षेत्र रहेको जानकारी दिँदै अबका दिनमा यस क्षेत्रको प्रवद्र्धनका लागि चन्द्र ढकाल टिमले काम गर्ने उहाँले बताउनुभयो । 

व्यवसायीलाई समस्या पर्दा सहज रूपमा उपलब्ध हुने व्यक्तिलाई महासङ्घको नेतृत्वमा पुर्याउनुपर्ने बताउँदै त्यसका लागि चन्द्र ढकाल र उमेशलाल श्रेष्ठको टिम उपयुक्त भएको उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया