सुप्रिम सहकारी प्रकरणमा पूर्व डीआईजी जोशी पुर्पक्षका लागि कारा...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै – यस वर्षकाे हिउँदमा दैनिक दुई सय ५० मेगावाटसम्म बिजुली आयातको लागि भारतले स्वीकृति दिएको छ । प्राधिकरणका अनुसार यसपालिको जाडोयामका लागि दुई सय ५० मेगावाटसम्मको बिजुली आयातको लागि भारतले आइतबार मात्रै स्वीकृति दिएको हो ।
दुई सय ५० मेगावाटमध्ये केही ८० देखि एक सय ५० मेगावाट २४ घण्टा लिनुपर्ने खालको र बाँकी बिजुली आवश्यक पर्दा मात्र लिए हुने अवस्था रहेको पनि प्राधिकरणले जानकारी दिएको छ । ‘यो स्वीकृति जुन २०२१ सम्मलाई हो’, प्राधिकरण स्रोतले भन्यो, ‘त्यो समयसम्म नेपालको आफ्नै बिजुली अधिक हुने हुँदा निर्यातको लागि वार्ता भइरहेको बताइएको छ ।
गएकाे हप्ता मात्रै ढल्केवर–मुजफ्फरपुर लाइन ४०० केभीमा चार्ज भइ भारतबाट ४०० केभीमा पहिलो पटक बिजुली प्रवाह भएको छ । यसबाट बिजुली प्रवाहको लागि राजमार्ग तयार भएको छ ।
काठमाण्डाैदेखि ढल्केबरसम्मको बिजुलीको प्रसारण 'लुप' जोडियो
नेपाल विद्युत् प्राधिकरणले २०७३ सालमा ढल्केबर–खिम्ती लाइन जोडिएदेखि नै जोड्न बाँकी रहेको काठमाण्डौदेखि ढल्केबरसम्मको बिजुलीको प्रसारण लुप (सर्कल) जोड्न सफल भएको छ ।
नेपाल विद्युत् प्राधिकरणमा कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी भर्खरै सम्हाल्नुभएका हितेन्द्रदेव शाक्यको प्रत्यक्ष निर्देशन र निगरानीमा यो काम सम्पन्न भएको हो । ‘ग्रिडका दक्ष इञ्जिनियरको टोली खिम्ती सब–स्टेशनमा १३२ केभी लाइनको कनेक्शन र भित्रका कनेक्शन परिवर्तन गरी लुप जोड्न सफल भएका छन्’, शाक्यले भन्नुभयो, ‘पटक–पटक स्विचिङ गर्दा मुख्य गरेर औद्योगिक ग्राहकलाई धेरै मर्का पर्थ्याे ।’
उहाँले अब त्याे समस्या समाधान भइ आइतबार दिउँसोदेखि त्याे लुप चालु रहेको जानकारी दिनुभयो । ‘सुरुका छलफलपछि ग्रिडका प्रबन्धकलाई आवश्यक जडानको कदमहरू चाल्न आग्रह गरेको थिएँ’, उहाँले भन्नुभयो, ‘खिम्ती प्लान्टका कर्मचारी र ग्रिडकै केही कर्मचारी पनि अस्पष्ट थिए तर सैद्धान्तिक छलफलपछि उहाँहरू पनि आश्वस्त हुनुभयो । सबैको प्रयासबाट हामी सफल भयौँ ।’
उहाँले दक्ष इञ्जिनियरहरूसँग छलफल गर्दा सहजै समस्या समाधान हुन्छ भन्ने यो एउटा सफल उदाहरण भएको जानकारी दिनुभयो । यसको प्रत्यक्ष फाइदा जाडोयाममा देखिने उहाँले बताउनुभयो ।
‘एउटा सर्किट ढल्केबरबाट पश्चिम चन्द्रनिगाहपुर, हेटौँडा हुँदै कुलेखानी, स्युचाटार, बालाजु भएर भक्तपुर हुँदै लामासाँघु र खिम्तीसम्म पुग्थ्यो । अर्को खिम्तिबाट लामासाँघु, भक्तपुर हुँदै काठमाण्डाै प्रवेश हुन्थ्यो’, शाक्यले भन्नुभयो, ‘त्यस्तो अवस्थामा बानेश्वरतिर बिजुली पुग्थेन भने हेटौँडातिरको लाइनबाट बिजुली ल्याएर जोड्नुपर्थ्याे भने त्यता ओभरलोड हुँदा भक्तपुरतिरबाट ल्याएर जोड्नुपर्थ्याे । कहिले पूर्वबाट कहिले पश्चिमबाट जोड्नुपर्ने बाध्यताले ती दुईको लुप प्रसारण कहिल्यै पनि एकै ठाउँमा जोडिन पाएन ।’
अब एउटै लुप भएपछि जहाँ जति अपुग भयो भने त्यही लुपबाट प्रसारण हुने र मेक बिफोर ब्रेक गरिँदा विद्युत् काट्नु पर्ने बाध्यता नहुने शाक्यको विश्वास छ । ‘यो सामान्य समस्या हो, दुई–चार जना इञ्जिनियर एक ठाउँमा राखेर छलफल गर्दा सजिलै हल भयो’, उहाँले भन्नुभयो, ‘यो सामान्य प्राविधिक समस्या छलफलको अभावमा अल्झिएको थियो, अब समाधान भयो ।’
शाक्यले स्युचाटारमा रहेकाे भार प्रेषण केन्द्र (एलडीसी) को कन्ट्रोल रुममा पुगी विद्युत् आपूर्तिको व्यवस्थापनमा खटिने क्रममा त्यहाँका प्राविधिकहरूसँगको छलफलमा यो पत्ता लगाएपछि तत्काल समाधानको प्रयासमा लागेको बताउनुभयो । ‘केही इञ्जिनियर साथीहरु सुरुमा यो काम गर्नुहुँदैन भनी पछि हटेका थिए’, उहाँले भन्नुभयो, ‘उहाँहरूले केही समय मागेपछि हामी यो कार्य आइतबार सम्पन्न गर्न सफल भएका छौँ । रक्सौलमा पनि कहिले भारत र कहिले नेपालले गर्दा त्यस्तो समस्या छ । अब त्यो पनि तत्काल समाधान गर्ने गरी टिम परिचालन भएको छ ।’
शाक्यले त्यहाँको समाधानपछि भारत र नेपालमा लाइन स्विचिङ गर्दा लाइन काट्नु–जोड्नु पर्ने बाध्यता पनि हट्ने दाबी गर्नुभयो ।
उहाँले आफ्नै दक्ष इञ्जिनियरहरूको हौसला बढाएर र उनीहरूसँग छलफल गरी अघि बढ्ने हो भने विश्वसनीय सेवा दिन सकिन्छ भन्ने सन्देश पनि यो कामले दिएको बताउनुभयो ।
‘हामीले आउँदा दिनमा क्वालिटी, सर्भिस र प्राइजसँगै आयोजनाहरूमा स्वदेशी इञ्जनियरिङ प्रयोगलाई प्राथमिकता दिएर अघि बढ्नुको अर्को विकल्प छैन’, शाक्यले भन्नुभयो, ‘सधैँभरि विदेशी परामर्शदाताको मात्रै भर पर्ने हो भने ठाउँ–ठाउँमा धोका पाइन्छ । ढल्केबर सबस्टेशनले यदि हाम्रो इञ्जिनियरिङ प्रयोग नभएको भए यति छिटो प्रगति गर्ने थिएन । स्वदेशी इञ्जिनियरिङ प्रयोगलाई प्राथमिकता दियो भने जस्ताे सुकै समस्या पनि हल गर्न सकिन्छ भन्ने त्यो एउटा गतिलो उदाहरण हो ।’
उहाँले आफ्नो कार्यकालभरि स्वदेशी प्रविधि र प्राविधिकलाई नै प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘चिलिमे मोडेल अर्थात् स्वदेशी प्रविधि, स्वदेशी सीप र स्वदेशी लगानीमा अघि बढ्नुपर्छ । ठूला–ठूला आयोजनामा पनि अब स्वदेशी परामर्शदाता नै प्रयोग गर्नुपर्छ म त्यसैमा लाग्छु’, उहाँले भन्नुभयो, ‘आजको दिनमा विद्युतको चुनौती भनेको लोडशेडिङ होइन, अब त्यसलाई इतिहास बनाएर विश्वसनीयता, राम्रो सेवा र उपयुक्त मूल्यमा जोड दिनुपर्छ ।’ त्यसका लागि विद्युत् प्रणालीलाई प्राविधिक हिसावले स्तरीय र बलियो बनाउँदै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।
‘त्यसका लागि प्रसारण लाइनहरू निर्माण गर्ने र सबस्टेशनको क्षमता थप गरी आधुनिकीकरण गर्दै लैजाने र वितरण प्रणाली सुदृढ गर्नु आवश्यक छ’, उहाँले भन्नुभयो ।
आउँदा दिनमा काठमाण्डौ उपत्यकामा बढ्न सक्ने लोड समेतको विचार गरी प्राविधिक उपायहरू अप्टिमाइजेशनमा आधारित भइ सम्भव भएसम्म सस्तो र स्वदेशी बुद्धिले जानेको र मानेको जुक्ति लगाइ कार्य गरिने पनि उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।