करको दायरा विस्तार र चुहावट नियन्त्रण आवश्यक : अर्थमन्त्री पौडेल

 मंसिर ७, २०७७ आइतबार १९:५९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करका दायरा विस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न आवश्यक भएको बताउनुभएको छ ।

नवौँ राष्ट्रिय कर दिवस २०७७ को अवसरमा आन्तरिक राजस्व कार्यालय जोरपाटीको उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेलले स्वेच्छिक कर सहभागिता वृद्धि गर्दै समग्र राजस्व परिचालनमा अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभएको हो । उहाँले कर परीक्षण, अनुसन्धान, बजार अनुगमन , प्रशासनिक पुनरावलोकन, बक्यौता असुली , बेरुजु फर्छ्याेट जस्ता परिपालनाका विधिलाई कडाइका साथ लागू गर्न निर्देशन दिनुभयो ।

अर्थमन्त्री पौडेलले कर सहभागितामा न्यूनतम लागत, सेवाग्राहीमैत्री व्यवहार, प्रक्रियागत सरलीकरण, प्रविधिको भरपूर उपयोग हुने वातावरण सिर्जना गर्न पनि निर्देशन दिनुभयो । उहाँले करदाता र कर प्रशासनबीचको स्वच्छ व्यावसायिक सम्बन्ध र आपसी विश्वास मजबुत भएमा मात्र राजस्व परिचालनमा सकारात्मक योगदान पुग्ने र यसका लागि कर दिवस सहयोगी रहने धारणा व्यक्त गर्नुभयो ।

आर्थिक वर्ष २०७६/०७७ को राजस्वको संशोधित अनुमान पूरा भएको भन्दै अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म लक्ष्यको नजिक राजस्व सङ्कलन हुने गरी कर सहभागिता जनाउनुहुने सबै करदातालाई धन्यवाद ज्ञापन गर्नुभयो । 

अन्तिम अपडेट: मंसिर ९, २०७७

तपाईको प्रतिक्रिया