स्टेकहोल्डरले मात्र महासङ्घको सफल नेतृत्व गर्न सक्छ : वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल

 मंसिर ८, २०७७ सोमबार १५:४९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल उद्याेग वाणिज्य महासङ्घकाे वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले महासङ्घको छवि सुधार्न वास्तविक उद्योगी, व्यवसायी तथा स्टेकहोल्डर नै नेतृत्वमा आउनुपर्ने बताउनुभएको छ । 

यसअघिको महासङ्घको कार्यसमितिमा उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित ढकालले देशभरिका उद्योगी व्यवसायीहरूले नेतृत्व छनोटका लागि अहिले गर्ने निर्णयले नेपालको समग्र निजी क्षेत्र र महासङ्घको उज्ज्वल भविष्य निर्माणमा सहयोग गर्ने बताउनुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औँ साधारण सभा तथा चुनाव यही मङ्सिर ११, १२ र १३ गते हुन गइरहेको छ । आसन्न चुनावमा ढकाल वरिष्ठ उपाध्यक्ष पदको प्रत्याशी हुनुहुन्छ ।

जिल्ला नगरबाट साधारण सभा तथा चुनावमा सहभागी हुन काठमाण्डौ आइपुगेका व्यवसायीहरूसँगको भेटघाटका क्रममा ढकालले महासङ्घलाई सबै उद्योगी, व्यवसायी मात्रै नभएर पेसागत लगानीकर्ताहरूको साझा संस्था बनाउन महासङ्घको नेतृत्व वास्तविक स्टेकहोल्डरले लिनुपर्ने बताउनुभयो । 

नयाँ नेतृत्वले जिल्ला नगरका समस्याका साथै निजी क्षेत्रका समस्या नजिकबाट बुझोस् र समस्याको सम्बोधन गर्नसक्ने होस् भन्ने आम मतदाताको अपेक्षा रहेकोमा आफू र आफ्नो टिम त्यसप्रति पूर्ण प्रतिबद्ध रहेको ढकालकाे भनाइ थियो । 

जिल्ला नगर उद्योग वाणिज्य सङ्घ, एसोसिएट, वस्तुगत, द्विराष्ट्रिय सङ्घका मतदाताहरूको माग नै वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल भएकाले आफ्नो जित सुनिश्चित भएको उहाँले बताउनुभयो । उहाँले आफू सबै उद्योगी व्यवसायीहरूको आशा र भरोसाको संवाहक बनेर काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

आफ्नो प्यानलका दुई उम्मेदवारहरू चुनावअघि नै निर्विरोध निर्वाचित भइसकेको जानकारी दिँदै ढकालले यसबाट प्रारम्भिक अनुमान सहजै लगाउन सकिने बताउनुभयो । 

अहिले महासङ्घमा उमेर र आबद्ध अवधिलाई आधार बनाउँदै सक्षम र असक्षमको विषय बनाइ बहस भइरहेकोप्रति लक्षित गर्दै ढकालले महासङ्घमा को/कति वर्ष रह्यो भन्दा पनि कसले पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्‍याे र आम उद्योगी, व्यवसायीका समस्याप्रति जानकार र समाधानका लागि पहल गर्न सक्ने सक्षम व्यक्ति को हुन सक्छ भन्ने विषयमा समीक्षा गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

उमेरका हिसाबले र महासङ्घमा बिताएका समय दौरानका हिसाबले आफ्ना प्रतिस्पर्धीप्रति आफूले सदैव सम्मान गर्ने बताउँदै ढकालले आफू नयाँ, समावेशी र सक्षम युवा टिम लिएर निजी क्षेत्र हाँक्ने भिजनका साथ हिँडेकाले आफू र आफ्नो टिमलाई सहयोग गर्न आह्वान गर्नुभयो । 

प्रचार गरिए जस्तो धेरै पूर्वअध्यक्षहरूले अर्को पक्षलाई समर्थन गरिरहेको कुरामा असहमत हुँदै ढकालले पूर्वअध्यक्षहरूसँग आफू नियमित सम्पर्कमा रहेको र पूर्वअध्यक्षहरूको सहयोग र शुभेच्छा आफूले प्राप्त गरेको ढकालले बताउनुभयो ।  

पूर्वअध्यक्षहरूले कुन समूहलाई समर्थन गर्दै हुनुहुन्छ भन्ने भन्दा पनि पूर्वअध्यक्षहरूको विरासत धान्न सक्ने नेतृत्व क्षमता कसमा छ र अहिलेको अवस्थामा महासङ्घको संस्थागत क्षमता अभिवृद्धि गर्दै निजी क्षेत्रको वास्तविक छाता सङ्गठनका रूपमा महासङ्घलाई अगाडि बढाउनका लागि उपयुक्त व्यक्ति को हुन सक्छ भन्ने विषयमा इमानदारीपूर्वक आत्मसमीक्षा भएमा त्यहाँ अवश्य पनि आफू र आफ्नो टिमको विकल्प नहुने ढकालको भनाइ थियो । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया