मेरो ज्यान जोखिममा छ, कहाँ गएर न्याय खोज्नु ?

 मंसिर ११, २०७७ बिहिबार १२:५३:१८ | इन्द्रसरा खड्का
unn.prixa.net

मेरो घर मोरङ जिल्ला हो । म २९ वर्षकी भएँ । अहिले काठमाण्डौको बुढानीलकण्ठमा बस्छु । मैले काठमाण्डौको भंगालका सन्तोष ठकुरीसँग बिहे गरेको सात वर्ष भयो । तर श्रीमानले मलाई श्रीमतीको दर्जा हैन, यौन प्यास मेटाउने साधनको रूपमा प्रयोग गर्‍याे ।  

कुटपिट गरेको भए, घरबाट निकालेको भए, मलाई श्रीमानले यस्तो गर्‍याे भनेर गुहार माग्थेँ, आफन्तलाई भन्थेँ । तर आफ्नै श्रीमानबाट भोग्नुपरेको यो पीडा कसलाई सुनाउन सक्थेँ र ?  म दिनहुँ बलात्कार घटनाका समाचारहरू हेर्थेँ, सुन्थेँ । बालिकादेखि वृद्धाहरू यसको सिकार भइरहेका थिए । म यता हरेक रात, हरेक दिन आफ्नै श्रीमानबाट बलात्कृत भइरहेकी हुन्थेँ । म न त कसैलाई भन्न सक्थेँ, न त उजुरी दिन जाने आँट नै आउँथ्यो । 

श्रीमानले यति गर्दा पनि जब मेरो पेटमा बच्चा बस्थ्यो, म खुसी हुन्थेँ, श्रीमानले दिएको पीडा र व्यवहार बिर्सन्थेँ, खुसी हुँदै यो कुरा श्रीमानलाई सुनाउँथेँ । तर श्रीमानले थाहा पाउने बित्तिकै अस्पताल गएर गर्भपतन गर्न दबाब दिन्थे । मन नभए पनि अस्पताल कुद्नु पर्थ्याे । मैले यसरी नै तीन पटक पेटमा बसेको बच्चा श्रीमानकै दबाबमा अस्पताल गएर फाल्नु पर्‍याे ।  

श्रीमानको यस्तो व्यवहार देखेर अलग हुन धेरै पटक प्रयास गरेँ तर अलग बस्न उसैले दिएन । म उबाट अलग भएर बस्न जाने ठाउँ थिएन । आफूसँग पैसा थिएन । बिहे गरेको सात वर्ष हुँदा पनि श्रीमानले काम गरेको पैसा कहाँ खर्च हुन्थ्यो, के मा लगानी हुन्थ्यो समेत मलाई थाहा हुँदैनथ्यो ।

श्रीमानको यस्तो व्यवहारले म अलग हुन चाहन्थेँ । उसैले नाइनास्ती गर्दा मैले बुढानीलकण्ठ नगरपालिकामा गएर अंश मानाचामल पाउँ भन्दै उजुरी गरेँ । न्यायिक समितिका संयोजक एवं नगरपालिकाकी उपप्रमुखसँग श्रीमानले आफूमाथि गर्ने व्यवहार सुनाएँ । 

उहाँले यस्तो पीडा सहेर नबस्न पनि सुझाव दिनुभयो । मैले उजुरी गरेपछि उपप्रमुखले श्रीमानलाई कार्यालयमा बोलाउनुभयो । कार्यपालिका गएर अबदेखि श्रीमतीलाई कुनै दुःख नदिने मिलेर बस्ने भन्दै कागज बनाएर घर फर्कियाैँ । कोठामा पुग्ने बित्तिकै फेरि उस्तै व्यवहार सुरु भयो । 

मलाई थाहा थियो वैवाहिक बलात्कारको पनि मुद्दा लाग्छ तर मैले कसरी यो विषयमा मुद्दा हाल्नु भन्ने भयो । सात वर्षका हरेक दिन मैले यही पीडा सहेर बसेँ । तर सहनै नसक्ने भएपछि मैले गएको कात्तिक २५ गते महानगरीय प्रहरी परिसर टेकुमा वैवाहिक बलात्कारको मुद्दा दर्ता गरेँ । प्रहरीले श्रीमानलाई पटक–पटक फोन गर्दा पनि श्रीमान् प्रहरीको सम्पर्कमा गएनन् । उजुरी दिएको तीन दिनपछि प्रहरीले कालीमाटीबाट पक्राउ गर्‍याे ।  

धरौटीमा छुट्ने डर

छन त अहिले श्रीमान् प्रहरीको हिरासतमा छ । ऊ ठेकेदार, जग्गा दलालीको काम गर्ने मान्छे । टन्न पैसा भएको उसले जसलाई पनि किन्न सक्छ । न्यायालय पनि पैसामा बिक्ने गरेको धेरै समाचार सुनेकी छु । म हिजो बुझ्न जाँदा तिम्रो श्रीमान् धरौटीमा छुट्दैछ भन्ने सुनेँ ।

प्रहरीले पक्राउ गरेकै दिनदेखि श्रीमानले जेल जानु परे तँलाई मारेर मात्र जान्छु भन्दै धम्की दिइरहेको छ । ऊ मात्र हैन उसका आफन्तहरूले पनि धम्की दिरहेका छन् । उसँग पैसा छ । प्रहरी, वकिल, न्यायाधीश सबै उसैको चिनजानका छन् । अब त्यो धरौटीमा छुट्यो भने मेरो ज्यान जोखिममा छ । हिजोआज मेरा हरेक दिन न्यायालयमा धाउँदै ठिक्क हुन्छ ।

सन्तोषसँग यसरी भएको थियो भेट 

म सात वर्ष विदेश बसेर २०७१ सालमा नेपाल फर्किएँ । मेरो परिवारमा तीन जना बहिनी र बुवाबाहेक कोही छैन । मसँग विदेशबाट कमाएर ल्याएको ६५ लाख रुपैयाँ थियो । विदेशबाट फर्केर मैले बुवासँग कुरा गरेँ, गाउँको घरजग्गा बेचेर काठमाण्डौमा घर अथवा जग्गा जे पायो त्यही किन्ने बुवा छोरीको योजना थियो ।  त्यही योजनाअनुसार म काठमाण्डौमा जग्गाको खोजीमा लागेँ ।

काठमाण्डौमा जग्गा वा घर नै किन्न दलालहरूलाई नै भेट्नुपर्ने रहेछ ।  त्यही क्रममा मेरो सन्तोषसँग भेट भयो । सुरुमा जग्गा किन्न भएको भेटघाट र कुराकानीले हामीलाई विवाहसम्म पुर्‍याउँछ भन्ने सोचेको पनि थिइनँ तर भयो त्यसै । हामीले धेरै ठाउँमा घर जग्गा हेर्‍याैँ । कुनै ठाउँमा केही नमिल्ने, कुनै ठाउँमा केही । जग्गा खोज्दैमा धेरै समय लाग्यो । अन्ततः बूढानीलकण्ठमा जग्गा हेर्‍याैँ । 

आफूले डिभोर्स गरेर विवाह गरायो

सन्तोष मभन्दा १८ वर्ष जेठो । जग्गाकै लागि कहिले भेटेर त कहिले फोनमा कुरा हुँदै थियो । उसले एकदिन मसँग आफ्नो श्रीमतीको कुरा गर्‍याे, श्रीमतीलाई छोड्ने कुरा सुनायो । उसले मलाई बिहे गरौँ पनि भन्यो, मैले उसको कुरा सुनिनँ । हेर्दा बाउजस्तै देखिने सन्तोषले मसँग यस्तो कुरा गर्दा सुरुमा त रिस उठ्यो । त्यसको केही दिनपछि सन्तोषको श्रीमती अनुले मलाई फोन गरेर भेट्ने कुरा गरिन् ।

मैले पनि के हुन्छ र भेट्दैमा भन्दै अनुसँग भेटेँ । अनुले मेरोबारेमा सबै सोधिन्, मैले पनि आफू विदेशबाट आएकोदेखि घर किन्न बनाएको योजना सुनाएँ । त्यो दिन मसँग अरु कुरा गरिनन् । मेरो योजना सुनिसकेको अर्को दिन उनले मलाई फेरि भेट्न बोलाइन् । म पनि भेट्न गएँ । अनुले आफ्नो बाँकी जीवन श्रीमानसँग नभइ धर्म, कर्म गरेर बिताउने योजनाअनुसार आफ्नो श्रीमानका लागि राम्री केटी खोजेर बिहे गर्ने योजना सुनाइन् । 

यता अनु, उता सन्तोषको कुरा सुन्दा म कता फसेँ थाहै भएन । सायद भाग्यमा यस्तै थियो । मैले पनि सन्तोषसँग बिहे गर्ने निर्णय गरेँ ।  हामी तीन जनाको योजनाअनुसार २०७१ साल मङ्सिरमा जिल्ला अदालतमा गएर अनुको डिभोर्स गरेर मेरो विवाह दर्ता बनायौँ । तर मलाई के थाहा मसँग भएको पैसा लुट्न श्रीमान्, श्रीमतीले यस्तो योजना बनाउँछन् भनेर !

उनीहरू डिभोर्स गरेर पनि पैसाको कारोबारदेखि लिएर सबै काम भित्रभित्रै योजना बनाएर गर्दा रहेछन् । मैले थाहै नपाइ अब मेरो जीवन नै यही हो, यो जीवनलाई सुन्दर बनाउनुपर्छ भन्ने हिसाबमा लागेँ । आफ्नै पैसाले बूढानीलकण्ठमा घर बनाएँ । सन्तोषको २४ वर्षको छोरा छ, उसको पढाइ खर्च नै मैले गरेँ । सन्तोष सुगरको रोगी थियो, उसैको उपचारमा व्यस्त भएँ । 

सन्तोषले आफ्नो पैसा मलाई कहिल्यै दिँदैन थियो । मसँगै भएको पैसाले घर बनाएँ । घर बनाएको तीन महिनापछि सन्तोषलाई डिभोर्स दिएकी अनु मेरो घरमा आइन् । मेरो श्रीमानको घरमा आएर बस्ने को होस् भन्दै मलाई नै घरबाट निस्कन भनिन् । मलाई अचम्म लाग्यो । आफैँ आफ्नो डिभोर्स गरेर मेरो विवाह दर्ता बनाइदिने अनु अहिले आएर मलाई नै घरबाट निकाल्न खोज्ने ! 

म आफैले बनाएको घर छोडेर कोठा भाडामा लिएर बस्न थालेँ तर श्रीमान् भने मसँगै आएर बस्न थाल्यो । यसमा पनि मैले कुनै आपत्ति जनाइनँ । अबको बाँकी जीवन हामीले कसरी बिताउने, किन डिभोर्स दिइसकेकी श्रीमती आएर अहिले हामीलाई घरबाट निकालिन् भन्ने कुरामा सन्तोषले कुनै प्रतिक्रिया दिएन । यो विषयमा कुरा नै गर्न चाहेन । 

मलाई अहिले आएर थाहा भयो, अनु र सन्तोषले मसँग भएको पैसा खान नै यस्तो योजना बनाएका रहेछन् । मसँग भएको पैसा सबै सकियो । अहिले न त मेरो हातमा पैसा छ, न त श्रीमान् साथमा । बरु उल्टै मलाई उसको जेठी श्रीमती र उसैका आफन्तले पनि धम्की दिइरहेका छन् ।

डरैडरको बास

सन्तोष धरौटीमा छुट्नु भनेको तेरो श्रीमतीलाई मार भनेर मौका दिनु हो । अहिले म न्यायको लागि प्रहरी, अधिकारकर्मी, न्यायालयमा धाइरहेकी छु । मेरो ज्यान नै जोखिममा छ । मलाई उसको मान्छेले कहाँ, कतिखेर आक्रमण गर्छन् भन्ने पनि यकिन छैन । 

म मात्र हैन, मेरो कारण मेरो माइती, मेरा बहिनीहरू पनि जोखिममा छन् । मैले अहिले यो बेला नै न्याय पाउन सक्दिनँ भने यो देशमा न्यायालय भएको के काम ? सन्तोषले प्रहरी मात्र हैन, पैसाले न्यायाधीश पनि किन्न सक्छ । उसँगको पैसाको कमी छैन । प्रहरीदेखि वकिलसम्म उसको राम्रो लिङ्क छ । थाहा छ ऊ सजिलै उम्कन्छ पनि । तर यस्ता अपराधीलाई धरौटीमा छोडिन्छ भने म जस्तै पीडितहरूले कहाँ गएर न्याय पाउने ? कहाँ गएर ज्यान जोगाउने ? 

(कुराकानीमा आधारित) 

अन्तिम अपडेट: पुस २७, २०७७

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया