मुद्दती निक्षेप र अन्य बचतको ब्याजदर सीमा पाँच प्रतिशत

 मंसिर १९, २०७७ शुक्रबार ६:५२:४ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले कर्जा मुद्दती निक्षेप र अन्य बचत खाताको ब्याजदरको अन्तर पाँच प्रतिशतभन्दा तलमाथि गर्न नदिने भएको छ

चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले व्यवस्था गरेको हो । मौद्रिक नीतिको समीक्षापछि आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले कल डिपोजिटबाहेक अन्य निक्षेपको हकमा सीमा निर्धारण भएको जानकारी दिनुभयो

बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा मात्रै निक्षेप खोज्ने तथा ब्याजदरको सम्बन्धमा पनि फरक पारेकाले सीमा तय गरिएको केन्द्रीय बैंकले जनाएको छ । बैंकले अहिले बचत खातामा पैसा जम्मा गर्नेलाई दुई प्रतिशतको हाराहारीमा ब्याज दिने गरेका छन् । मुद्दती निक्षेपमा केही बढी ब्याज भए पनि साधारण बचतमा असाध्यै कम ब्याज रहेको छ ।

बैंकमा लगानीयोग्य रकम बढी भएको भन्दै धमाधम निक्षेपकोसमेत ब्याज घटाएका छन् । कर्जामा ब्याजदर कम हुँदा त्यसले लगानीमैत्री वातावरण बनेको र तथा लगानी विस्तार भए पनि बचतको ब्याज कम हुँदा त्यसले अन्यत्र असर पारेको राष्ट्र बैंकको भनाइ छ । यस्तै केन्द्रीय बैंकले छ महिनासम्म ब्याज भुक्तानी बक्यौता नभएका ऋणीको धितो लिलाम गर्न स्थगन गरिदिएको छ । कोरोना महामारीका कारण समयमा किस्ता तिर्न नसकेका ऋणीलाई बैंकले धमाधम लिलामी गर्न थालेपछि राष्ट्र बैंकले यस्ताे व्यवस्था गरेको हो ।

किस्ता तिर्न नसकेका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले सामान्य संवेदनासमेत नहेरी धितो लिलामी गरेको गुनासो चर्कोरुपमा उठेपछि राष्ट्र बैंकले उक्त व्यवस्था गरेको जनाएको छ । गभर्नर अधिकारीले कोभिडले असर परेका ऋणीलाई समस्या नहोस् भन्ने ध्येयका साथ यस्ताे व्यवस्था गरिएको जानकारी दिनुभयो । यस्तै केन्द्रीय बैंकले कर्जामा अनियमित प्रतिस्पर्धा नहोस् भन्ने ध्येयका साथ अग्रिम भुक्तानी शुल्कसमेत बढाएको छ । त्यसैगरी शेयर धितो कर्जामा समेत पुनरावलोकन गरिने भएको छ ।

त्यसका अलावा रियलस्टेट कर्जामा पनि पुनरावलोकन गर्न लागिएको छ । कोभिडले असर गरेको पर्यटन तथा होटल क्षेत्र एवं पर्यटन क्षेत्र तथा पशुपंक्षीपालन व्यवसायलाई प्रदान गरिने पुनःकर्जामा थप सरलीकृत गर्न लागिएको केन्द्रीय बैंकको भनाइ छ ।

 

 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया