सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग हुँदा उत्पादन क्षमता र र...
माघ २८, २०८१ सोमबार
काठमाण्डौ – रुसले नेपालमा ठूलो लगानीको जलविद्युत् आयोजना निर्माण गर्ने इच्छा व्यक्त गरेको छ । नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तलाई मन्त्रालयमा भेटेर जलविद्युतमा लगानी ल्याउने इच्छा देखाएको हो ।
रुसका दुई ठूला बैंक लान्टा र मस्को इन्डस्ट्रियल बैंकले नेपालको जलविद्युतमा लगानी गर्ने प्रस्ताव गरेको राजदूत नोभिकभले जानकारी दिनुभयो । त्यस्तो लगानी सरकार–सरकारबीचको सम्झौतामा गर्न चाहेको प्रतिनिधि मण्डलले जनाएको छ ।
राजदूत नेतृत्वको टोलीले नेपालमा जलविद्युत् उत्पादन र वितरणसम्बन्धी कानुनी व्यवस्था तथा क्षेत्रीय बजारको सम्भावनाबारे मन्त्री पुनसँग चासो राखेको थियो । रसियाली प्रतिनिधि मण्डलले उत्पादित विद्युत् आफ्नै उद्योगमा खपत गर्न सकिने/नसकिने विषयमा समेत मन्त्री पुनसँग प्रश्न गरेको थियो ।
प्रारम्भिक चरणमा ‘पाइलट प्रोजेक्ट’ का रुपमा कुनै आयोजनामा लगानी गर्ने र बजारको अवस्था बुझेर सरकारी र निजी दुवै क्षेत्रलाई नेपालमा लगानीका लागि प्रोत्साहित गरिने राजदूत नोभिकभले बताउनुभयो ।
मन्त्री पुनले आउँदो १० वर्षमा नेपालको आन्तरिक बजारमा १० हजार मेगावाट विद्युत् खपत हुने प्रक्षेपण सरकारले गरेको जानकारी दिनुभयो । बढी भएको विद्युत् निर्यात गर्न भारत र बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता गरिसकिएको उहाँले बताउनुभो ।
मन्त्री पुनले विदेशी कम्पनीले एकल, नेपाली कम्पनीसँगको संयुक्त लगानी वा सरकारी कम्पनीसँग मिलेर जलविद्युतमा लगानी गर्न सक्ने अवस्था रहेको चर्चा गर्दै रुसी लगानीकर्तालाई नेपालमा स्वागत गर्ने उल्लेख गर्नुभयो ।
नेपालकै तेस्रो पुरानो २ दशमलव ४ मेगावाटको खोपासी जलविद्युत् केन्द्र रुस सरकारको सहयोगमा २०२२ सालमा निर्माण भएको र आयोजनाबाट अहिलेसम्म पनि विद्युत् उत्पादन भइरहेको जानकारी मन्त्री पुनले गराउनुभयो ।
भेटमा राजदूत नोभिकभका साथै लान्टा बैंक र मस्को इन्डस्ट्रियल बैंकका उच्च अधिकारीका साथै रुसमा व्यवसाय गर्दै आएका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का संस्थापक डा. उपेन्द्र महतो, एनआरएनएका उपाध्यक्ष डा. बद्री केसी तथा स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) का महासचिव गोरे शेर्पा सहभागी हुनुहुन्थ्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।