पहिले उमेर नपुगी बिहे, अहिले उमेर पुगेपछि बिहे

 पुस ९, २०७७ बिहिबार १७:४:५४ | इन्द्रसरा खड्का
unn.prixa.net

काठमाण्डाै -  बेहुला उनै, घर उही । तर बिहे २ वर्षपछि । दैलेखको नौमूले गाउँपालिका ३ द्वारीकी खगिसरा खत्रीको गएको वैशाखमा गाउँकै डम्बर बस्नेतसँग बिहे भयो । बस्नेतसँग उहाँ २०७५ सालमै भागेर भागेर जानुभएको थियो । त्यतिबेला भागेर जाँदा उमेर पुगेको थिएन । 

दुई वर्षअघि उमेरै नपुगी भागेर गएको भोलिपल्ट खगिसरालाई फर्काउन डम्बरको घरमै दुईजना सहजकर्ता, जनप्रतिनिधि र खगिसराका अभिभावक पुगे । खगिसराको बिहे गर्ने उमेर नपुगेकाले फर्काउन आएको बताएपछि डम्बरका परिवार पनि सहमत भए । गएको वैशाखमा खगिसरा २० वर्ष पूरा गरेर २१ मा वर्षमा लागेपछि डम्बरसँगै बिहे भयो ।

उमेर पुगेर परिवारकै सहमतिमा बिहे भएपछि खगिसरा र डम्बर दुवैजना खुसी छन् ।  दुई वर्षको अवधिमा खगिसरा र डम्बर दुवैजनाले पढाइलाई अघि बढाए । १० कक्षा पढ्दै भागेकी खगिसराले एसईई दिएर कक्षा १२ सम्म पढ्नुभयो । डम्बरले पनि आफ्नो पढाइ पूरा गर्नुभयो । अहिले खगिसरा कक्षा १२ मा पढ्दै हुनुहुन्छ भने डम्बरले कृषि प्राविधिकको अध्ययन सक्नुभएको छ ।

खगिसरा जस्तै नौमूलेकी जुनाको पनि गएको असोजमा पहिले भागेर गएको केटासँग फेरि बिहे भयो । जुनाले डुंगेश्वर गाउँपालिकाका महेश बुढासँग २०७५ सालमा भागेर जानुभएको थियो । तर उमेर २० वर्ष नपुगेको भन्दै खगिसरा जस्तै उहाँलाई पनि भागेर गएको भोलिपल्ट घर फर्काइएको थियो । जुना पनि एक वर्ष माइतीमै बस्नुभयो । गएको असोजमा २० वर्ष पुगेर २१ मा लागेपछि परिवारले महेशसँगै उहाँको बिहे गराइदियो ।

उमेर नपुगी बिहे गर्नेलाई फर्काउने अभियान

दैलेखमा ‘महिला र बालिकामाथि हुने हिंसा अन्त्यका लागि’ एभरेस्ट क्लब दैलेखले सामुदायिक छलफल केन्द्र सञ्चालन गरिरहेको छ । जिल्लाको आठबिस नगरपालिका र नौमूले गाउँपालिकाका विभिन्न वडामा छलफल केन्द्र सञ्चालनमा छन् ।

२०७३ सालदेखि सञ्चालन भएको केन्द्रमा महिला हिंसा के हो, हिंसा भएमा के गर्नेलगायत बालविवाहको बारेमा पनि छलफल गरिन्छ । छलफल केन्द्रमा सहभागी महिला र सहजकर्ताहरुले गाउँमा भएका बालविवाह रोक्ने काम गरिरहेका छन् ।  २०७५ सालमा खगिसरा र जुनाले उमेर नपुग्दै भागेर बिहे गरेपछि दुवैजनालाई फर्काएर ल्याइएको थियो ।

‘हामीले उमेर पुगेपछि यिनै जोडीलाई सदर गर्ने भन्दै केटा पक्ष र केटी पक्षको सहमति कागज बनायौँ । सहमति भए अनुसार केटा केटी राम्रैसँग बसे । अहिले उमेर पुगेपछि आफ्नो घरजम गरेर बसिरहेका छन्’ जुना र खगिसरालाई फर्काएर ल्याउने जानकी मगरले भन्नुभयो ।   जानकीले भन्नुभयो, ‘केटा पक्षका पनि बुझ्ने रहेछन् । यता माइतीमा पनि सहमत भए । हामीलाई फर्काएर ल्याउँदा कुनै समस्या भएन ।’ 

२२ जोडीको फेरि बिहे

दैलेखको आठबिस नगरपालिका र नौमूले गाउँपालिकामा उमेर नपुग्दै भागेर बालविवाह गरेका २२ जोडीको उमेर पुगेपछि फेरि बिहे भएको छ । भागेर बिहे गरेकाहरुलाई छुट्याएर अलग राखेर  उमेर पुगेपछि फेरि उनीहरुसँग नै बिहे गराइएको कार्यक्रम संयोजक मिना थापाले बताउनुभयो ।

‘कसैलाई दुई, तीन वर्ष माइतीमा राख्यौं । २० वर्ष उमेर पुग्न दुई, तीन महिना बाँकी रहेकालाई पनि हामीले उमेर पुगेपछि मात्र बिहे गर्ने सर्तमा अलग राखेका थियौँ,’ मिनाले भन्नुभयो । बालविवाह गरेकालाई फर्काएर ल्याउँदा अभिभावकले नै सहयोग गरेको उहाँको भनाइ छ । यसरी फर्काएर ल्याउने गरेपछि भने बालविवाह कम हुन थालेको पनि उहाँले बताउनुभयो । ‘हामीले हाम्रो कार्यक्षेत्रमा पो फर्काइरहेका छौँ तर, अन्य पालिकामा धमाधम बालविवाह भइरहेको छ । यसका लागि अरु पालिकाहरुले पनि काम गर्नुपर्छ’ मिनाले भन्नुभयो ।

उमेर पुगेर बिहे गर्दा खुसी

उमेर पुगेर परिवारकै सहमतिमा फेरि बिहे गरेका जुना र महेश तथा खगिसरा र डम्बर खुसी छन् । ‘बालविवाह गर्दा हामीलाई नै बेफाइदा हुने रहेछ भन्ने थाहै थिएन । बल्ल थाहा पायौँ । अब हाम्रो उमेर पनि पुगिसकेको छ । उमेर पुगेर फेरि जुनासँग बिहे गर्न पाउँदा खुसी छु’ महेशले भन्नुभयो ।

डम्बरसँग भागेको दिनलाई सम्झँदै खगिसराले भन्नुभयो, ‘सँगैका साथीहरु धमाधम भागेर गइरहेका थिए । म पनि भागेरै गएँ । बालविवाह गर्न हुँदैन भन्ने त थाहा थियो । तर, पनि भागें । धन्न दुःख  भोग्नु परेन ।’ 
उमेर पुगेर बिहे गर्दा अभिभावक पनि खुसी छन् । ‘छोरीले नै भोलि दुःख नपाओस् भनेर फर्काएका हौं, छोरी पनि राम्रैसँग बसी । अब त उमेर पनि भयो । उमेर पुगेकी छोरीलाई माइतीमै राख्न नमिल्ने । अहिले हामीले नै बिहे गरी पठाइदियौँ’ खगिसराकी आमा तुल्सीले भन्नुभयो ।

‘बालविवाह नगरौँ’

एक, दुई वर्ष अलग बसेर फेरि बिहे गरेकाहरु अहिले अरु किशोरकिशोरीलाई बालविवाह नगर्न सल्लाह दिन्छन् । सहजकर्ताहरुले सम्झाएपछि आफूले बालविवाहबाट हुने असर थाहा पाएको भन्दै जुनाका श्रीमान महेशले उमेर नपुगी बिहे नगर्न आग्रह गर्नुभयो ।

‘सानो उमेरमा कसरी घर व्यवहार सम्हाल्ने, के गर्ने भन्ने कुरा थाहा हुँदैन । यसो हुँदा परिवारमै मिलाप हुँदैन । विवाह गर्न पहिले त सबै कुरा थाहा पाउने हुनुपर्यो । त्योभन्दा पनि आफ्नो खुट्टामा उभिएर बिहे गर्दा राम्रो हुने रहेछ’ जुनाले भन्नुभयो ।

(खुल्ला धरती, खुल्ला आकाशबाट)

अन्तिम अपडेट: चैत १४, २०८०

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया