इजरायलमा फेरि लकडाउनको घोषणा : कक्षा ४ सम्म र ११/१२ को पढाइ हुने

 पुस १०, २०७७ शुक्रबार ६:२८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरसको महामारी थप फैलिन नदिन इजरायलमा पुन: लकडाउनको घोषणा गरिएको छ ।

इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन हुन लागेको हो । पर्सि आइतबारदेखि लागू हुने लकडाउन देशव्यापी हुने इजरायलको प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तेस्रो चरणको पूर्ण लकडाउन तत्काल दुई हप्ताका लागि हुनेछ । तर आवश्यकताअनुसार लम्ब्याउन पनि सकिने विज्ञप्तिमा उल्लेख छ । लकडाउन अन्तर्गत घरदेखि एक हजार मिटरभन्दा बढी टाढा जान पाइनेछैन । एक ठाउँबाट अर्को ठाउँमा गएर बस्न पनि पाइनेछैन ।  

लकडाउनका बेलामा तल्लो तहमा पूर्व प्राथमिक, कक्षा एकदेखि ४ सम्म र माथिल्लो तहमा कक्षा ११ र १२ का पढाइ मात्रै सञ्चालन गर्न दिइने भएको छ । इजरायलमा दैनिक चार हजारभन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित थपिने गरेका छन् ।

दैनिक सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा कम नहुँदासम्म लकडाउन कायमै रहने खबरमा उल्लेख छ । व्यावसायीक तथा व्यापारिक कार्यालयहरू बन्द हुनेछन् तर अत्यावश्यक सेवाका कार्यालय भने खुल्नेछन् । काम गर्नेहरूलाई घरबाटै काम गर्न भनिएको छ । सार्वजनिक ठाउँमा भीडभाड गर्न पाइनेछैन ।

सार्वजनिक गाडीमा आधा संख्यामा मात्रै यात्रु रहने व्यवस्था छ । इजरायलमा अहिलेसम्म तीन लाख ८६ हजारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये तीन लाख ५४ हजार निको भएका छन् । तीन हजार एक सयभन्दा धेरैको ज्यान गएको वल्ड्रोमिटरकाे तथ्याङ्कमा उल्लेख छ ।


 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया