देशैभरका तरकारी बजारमा 'क्यूआर कोड' को प्रयोगलाई प्रोत्साहन गरिने

 पुस १०, २०७७ शुक्रबार १६:४२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले देशभरका तरकारी बजारमा 'क्यूआर कोड' मार्फत भुक्तानी गर्ने अभियानको सुरुवात गरेको छ । 

डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवर्द्धन गर्न राष्ट्र बैंकले देशभरका तरकारी बजारमा क्यूआर कोडको प्रयोग गर्ने अभियान सुरु गरेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनुभएको छ ।

शुक्रबार काठमाण्डाैकाे नक्साल तरकारी बजारमा रहेका पसलहरूमा क्यूआर कोडबाट भुत्तानीको सुरुवात गर्न आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले देशैभरका तरकारी बजारमा क्यूआर कोडको प्रयोगलाई प्रोत्साहन गरिने बताउनुभएको हो । नगदको चलन–चल्तीबाट कोभिड–१९ सङ्क्रमण जोखिमको डर भएकोले क्यूआर कोडबाट भुक्तानी गर्ने अभियान सञ्चालन गरिएको उहाँकाे भनाइ छ ।

कोभिड–१९ सङ्क्रमणको जोखिम बढेसँगै अहिले क्यूआर कोडको प्रयोगकर्ताहरू मासिक रूपमा २० प्रतिशतले बढेको गभर्नर अधिकारीले बताउनुभयो । 

कार्यक्रममा नेपाल बैंकर्स सङ्घका अध्यक्षसमेत रहनुभएका सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले क्यूआर कोडबाट भुक्तानी गरी डिजिटल कारोबारलाई प्रोत्साहन गर्दा बैंकहरूको खर्च घट्ने बताउनुभयो ।

ब्रिक बैंकिङको लागत क्लिक बैंकिङको भन्दा धेरै नै महँगो भएकाले बैंकहरूले क्यूआर कोडबाट भुक्तानी बढाउन प्रोत्साहन गर्नुपर्ने दाहालले बताउनुभयो । त्यसका लागि बैंकहरूले डिजिटल पूर्वाधार र सुरक्षामा अझ बढी लगानी बढाउनुपर्ने पनि सीईओ दाहालले बताउनुभयो । 

नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले फलफुल तथा तरकारी खरिद गर्दा क्यूआर कोडबाट बिल भुक्तानी गरी कार्यक्रमको थालनी गर्नुभएको हो । डिजिटल भुक्तानी प्रणालीलाई सहजीकरण गर्न सानिमा बैंकले नक्साल तरकारी बजारका बिक्रेताहरूलाई निःशुल्क क्यूआर कोड वितरण गरेको थियो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया