पूर्वाधार बैंकलाई आईपीओ निष्कासनको अनुमति, आवेदन दिने सबैले शेयर पाउने पक्का

 पुस १२, २०७७ आइतबार १६:३७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल धितोपत्र बोर्डले नेपाल पूर्वाधार बैंकलाई प्रारम्भिक शेयर निष्कासन (आईपीओ) निष्कासनको अनुमति दिएको छ ।

आठ अर्ब रुपैयाँको आठ करोड कित्ता शेयर निष्कासनको लागि बोर्डले पूर्वाधार बैंकलाई अनुमति दिएको छ । यो आईपीओ नेपालमा अहिलेसम्मकै ठूलो हो ।

मङ्सिर ३ गते बसेको बैंकको साधारण सभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने र बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेडलाई छनोट गर्ने विषय पारित गरेको थियो । पूर्वाधार बैंकको आईपीओमा प्रत्याभूतकर्ताको काम नागरिक लगानी कोषले गर्नेछ ।

पूर्वाधार बैंकको आईपीओ भर्ने सबैले शेयर पाउने पक्का छ । १० कित्ता शेयर नीतिअनुसार अहिले आईपीओ वितरण हुने गरेको छ । बैंकको आठ करोड कित्ता शेयर १० कित्ताका दरले ८८ लाख जनाले पाउने सम्भावना रहन्छ । तर बढीमा १२ लाख जनाले आवेदन दिने हुँदा पूर्वाधार बैङ्कको शेयर भर्ने जति सबैलाई पर्नेछ । धेरैले १० कित्ताभन्दा धेरै पाउने सम्भावना पनि रहेको छ ।

पुसको अन्तिम हप्तासम्म आईपीओ खुलाउने तयारी रहेको बैंकका सूचना अधिकारी सुवर्णकुमार सिंहले उज्यालोलाई जानकारी दिनुभयो । ‘धितोपत्र बोर्डले स्वीकृति दिइसकेको छ, अब कम्पनी रजिस्ट्रारको कार्यालय र राष्ट्र बैंकबाट पूरा गर्नुपर्ने केही प्रक्रिया पूरा गरेपछि आईपीओ निष्कासन हुन्छ, सम्भवतः पुसको अन्तिम हप्तामा खुला हुन सक्छ’, सिंहले भन्नुभयो । 

सरकारको समेत लगानी रहेको पूर्वाधार बैंकको अहिले १२ अर्ब चुक्ता पुँजी रहेको छ, शेयर निष्कासनपछि चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्नेछ । बैंकले पूर्वाधारका विभिन्न क्षेत्रमा लगानी गर्ने उद्देश्य राखेको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

1 Comments

  • Shiv dev yadav

    Dec. 29, 2020, 8:46 a.m.

    This is really a good news for everyone who wants to invest or buy share.

  •  0 Reply

तपाईको प्रतिक्रिया