अनलाइनमार्फत शुक्रबारदेखि पुनः श्रम स्वीकृति लिन सकिने, यस्तो छ प्रक्रिया

 पुस १५, २०७७ बुधबार १७:२७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदो शुक्रबारदेखि संसारको जुनसुकै कुनाबाट पनि पुनः श्रम स्वीकृति लिन सकिने भएको छ । अनलाइनमार्फत नै जीवन बिमा र कल्याणकारी कोषमा रकम तिर्न सक्ने व्यवस्था भएसँगै घरमै बसेर वा विदेशबाटै शुक्रबार अर्थात पुस १७ गतेदेखि पुनः श्रम स्वीकृति लिन सकिने वैदेशिक रोजगार विभागले जनाएको छ । 

एकपटक विभागको अनलाइन प्रणालीबाट बायोमेट्रिक्स् (आँखाको स्क्यान वा फिङ्गरप्रिन्ट अर्थात औँठाछापको स्क्यान) गरेर श्रम स्वीकृति लिइसकेका श्रमिकले अनलाइनमार्फत शुक्रबारदेखि पुनः श्रम स्वीकृति लिन सक्नेछन् ।

अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन विभागको वेवसाइट www.dofe.gov.np मा गई अनलाइन श्रम स्वीकृति एफइआइएमएसमार्फत फारम भर्नुपर्छ । फारम भरेपछि शाखा छान्ने बेलामा अनलाइन ब्रान्च छान्नुपर्छ ।

श्रम स्वीकृतिको क्रममा कुनै कारणले आवेदन रद्द भएमा त्यसको कारणसहितको एसएमएस आवेदकको मोवाइल र आवेदन गर्दाको यूजर अकाउन्टमा सूचना आउनेछ । त्यसकारण फारम भर्दा आफ्नो मोवाइल नम्बर र इमेल ठेगाना सही प्रयोग गर्नपर्छ । साथै श्रम स्वीकृतिको लागि आवेदन गर्दाको यूजरनेम र पासवर्ड सुरक्षित राख्नपर्छ ।

श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको फारम भर्दाको एफइआइएमएसको यूजर अकाउण्ट र इमेल ठेगाना दुवैमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुनेछ । तपाईँ आफैंले आवश्यकता अनुसार त्यसलाई प्रिन्ट गर्न सक्नुहुन्छ ।
पुनः श्रम स्वीकृति लिंदा म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम अनलाइनमार्फत नै तिर्न सकिन्छ । यसरी अनलाइनमार्फत तिर्दा कुनै शुल्क लाग्दैन ।  ईसेवा फोन पे प्रालि, स्प्यारो पे प्रालिबाट रकम तिर्न सकिने वैदेशिक रोजगार विभागले जनाएको छ ।

अनलाइनमार्फत सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले म्यादी जीवन बीमा जारी गर्छ ।

अबदेखि पुनः श्रम स्वीकृति लिन विभागको कुनै पनि कार्यालयमा कोही पनि श्रमिक जानुपर्ने भएकाले श्रमिकलाई यसबाट पुनः श्रम लिन थप सहज हुने विभागले जनाएको छ । तर पुनः श्रम स्वीकृति लिन अनलाइन सेवाको आधिकारिक प्रयोग गर्न विभागले अनुरोध समेत गरेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • Nimda Sherpa

    Dec. 31, 2020, 4:12 p.m.

    Very good

  •  0 Reply

तपाईको प्रतिक्रिया