नेपाली सेनाले थाल्यो गोरखादेखि काठमाण्डौसम्मको पदयात्रा

 पुस २१, २०७७ मंगलबार २१:३३:३२ | किरण लोहनी
unn.prixa.net

गोरखा - पृथ्वी जयन्तीको अवसर पारेर नेपाली सेनाले गोरखादेखि काठमाण्डौसम्म पदयात्रा सुरु गरेको छ । ऐतिहासिक महत्त्वको एकीकरण अभियानलाई हर्सोल्लासका साथ मनाउन गोरखादेखि काठमाण्डौसम्मको ऐतिहासिक पदमार्गमा पदयात्रा सुरु गरिएको सेनाले जनाएको छ । 

नेपाली सेनाले गएकाे वर्ष पनि यही बाटो हुँदै काठमाण्डौसम्म पदयात्रा गरेको थियो । आज मंगलबार गोरखा दरबारबाट सुरु हुने यात्रा धादिङ, नुवाकोट हुँदै पृथ्वी जयन्तीको दिन काठमाण्डौ पुग्ने गोरखाकाे रणसिंह दल गणका गणपति उज्ज्वल केसीले बताउनुभयो ।

पदयात्रामा बाजागाजासहित पृथ्वीनारायण शाहकालीन नेपाली सेनाको पोसाकमा रणसिंह दल गणको फौज सहभागी भएको छ । यस क्रममा टर्चसहितको नेपालको झण्डासहित पृथ्वीनारायण शाहको पालामा स्थापना भएका सेनाका प्रथम पाँच कम्पनीका झण्डा पनि समावेश गरिएको गणपति केसीले जानकारी दिनुभयो ।

पृथ्वीनारायण शाहको पालामा श्रीनाथ, कालीबक्स, पुरानो गोरखा, बर्दवाणी र सबुज नाममा ५ कम्पनी स्थापना भएका थिए । तत्कालीन कम्पनीहरु अहिले पनि सेनाको गणका रुपमा रहेका छन् । पदयात्राका क्रममा गोरखाको टोलीले नेपाली सेनाको धादिङको टोलीलाई, धादिङले नुवाकोटको टोलीलाई र नुवाकोटमा तैनाथ नेपाली सेनाको टोलीले काठमाण्डौमा तैनाथ गणलाई टर्च, राष्ट्रिय झण्डा र सेनाका ५ कम्पनीको झण्डा हस्तान्तरण गर्नेछ । 

काठमाण्डौको गणले पृथ्वीजयन्तीको दिन काठमाण्डौमा हुने कार्यक्रममा भाग लिने नेपाली सेनाले जनाएको छ । सरकारले गोरखादेखि काठमाण्डौसम्मको पुरानो बाटोलाई एकीकरण पदमार्गका रुपमा विकास गर्न लागेको छ ।

यो वर्ष त्यस बाटोको अध्ययनको जिम्मा नेपाली सेनालाई दिइएको छ । सेनाले त्यस पदमार्गको अध्ययन पूरा गरेको छ । गोरखाबाट धादिङ, नुवाकोट हुँदै काठमाण्डौबाट काभ्रेसम्मको करिब १ शय ९२ किलोमिटर बाटोलाई सरकारले एकीकरण पदमार्गको रुपमा प्रवद्र्धन गर्न लागेको हो ।

रणसिंह दल गणले भने गोरखाभित्रको बाटोको अध्ययन गरेको हो । गोरखा दरबारबाट पिपलथोक, ताप्लेकोट, अस्राङ हुँदै बोर्लाङघाटसम्मको बाटोको प्रारम्भिक अध्ययन गरिएको गणपति केसीले बताउनुभयो । काठमाण्डौको हनुमानढोकाबाट गोरखा दरबार २६ कोषको दूरीमा रहेको छ । बाटोको बीचबीचमा रहेका अधिकांश कोशेढुंगा हराएका छन् भने भएकाको पनि संरक्षण हुन सकेको छैन । 

एकीकरण पदमार्गमा पर्ने गोरखाखण्डमा ६ वटा कोशेढुंगा हुनुपर्नेमा ५ वटा मात्रै सुरक्षित छन् । गोरखा दरबारको हनुमान भन्ज्याङ, मेलबिसौना, ताप्लेकोट, अश्राङको ठाँटी र बोर्लाङको घाटबेसीको कोशेढुंगा सुरक्षित छन् । यस्तै पदमार्ग आसपास दर्जनौं ऐतिहासिक मठमन्दिर, गुम्बा, पाटीपौवा लगायतका पुरातात्विक सम्पदाहरु रहेका छन् । 

पदमार्गको धेरैजसो खण्डमा भने मध्यपहाडी लोकमार्ग निर्माण भैरहेको छ । जसका कारण ऐतिहासिक सम्पदा नासिने जोखिम पनि बढेको छ । पुरानो हुलाकी मार्गका रुपमा रहेको बाटो आसपासका पुराना चौताराहरुको पनि संरक्षण हुन सकेको छैन । 

पदयात्रामा सहभागी सेनाको टोलीको बिदाइ कार्यक्रममा बोल्दै नेपाली सेनाका उपरथी विनयविक्रम राणाले त्यस्ता सम्पदाहरुको संरक्षणमा पनि सेना सहभागी हुने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया