विदेशमा सीप, नेपालमा लगानी

 पुष २२, २०७७ बुधबार १०:१६:४४ | रासस
unn.prixa.net

काठमाण्डाै – विदेशमा सिकेको सीपलाई स्वदेशमा भित्र्याएर यहाँका एक युवाले होटल व्यवसायमा उदाहरणीय काम गर्न सफल भएका छन् । बेलायतमा छ वर्षसम्म होटल क्षेत्रमा आर्जन गरेको सीपलाई यहाँ प्रयोगमा ल्याइएको हो ।

रामग्राम नगरपालिका–५ पश्चिम नवलपरासीका ३२ वर्षीय गुरु पौडेलले स्वदेश फर्किएर त्यहाँको सीपलाई यहाँ प्रयोगमा ल्याउनुभएको हो । मुस्ताङको धवलागिरि टेक्निकल स्कूलमा होटल व्यवस्थापनसम्बन्धी अध्ययन र गोकर्णथली रिसोर्टको प्रयोगात्मक कक्षाले सन २००९ मा उहाँलाई रोजगारीका लागि बेलायत पुर्याएको हो । त्यहाँको छ वर्षको होटल रेष्टुरेन्ट क्षेत्रको जागिरपछि उहाँ स्वदेशमै केही गर्ने अठोटका साथ फर्कनुभयो ।

पौडेलले भन्नुभयो, “फर्कनासाथ मैले पशुपालन गर्ने सोचले गुरु कृषि तथा पशुपालन फार्म खोलेँ । यससँगै होटल व्यवसाय पनि शुरु गरेँ ।” रामग्राममा दुई कठ्ठा जमिन खरिद गरेर  दुई करोड रुपैयाँ भन्दा बढीको लगानीमा गुरु ग्रिनरी रेष्टुरेन्ट एण्ड लज उहाँले शुरु गर्नुभयो । निरन्तरको मेहेनतसँगै उहाँले त्यहाँबाट राम्रो सफलता हात पार्नुभयो । पौडेलले भन्नुभयो, “वार्षिक २० लाख रुपैयाँ हाराहारी आम्दानी हुने गर्छ ।” पहिलो होटल राम्रो सञ्चालनमा आएसँगै उहाँले गत साताबाट नारायणी किनार गैँडाकोटमा गुरु ग्रिनरी फुड पार्क शुरु गर्नुभएको छ ।

गैँडाकोट नगरपालिका–१ स्थित ब्रिटिसक्याम्प जाने सडक नजिकै नारायणीको भङ्गालोसँग जोडिएको उहाँको होटल फरक शैलीमा निर्माण गरिएको छ । फरक–फरक कटेजहरुसँगै बगरमाथि बसेर हरियालीमा रमाउँदै खानका लागि ठाउँ बनाइएको छ । भाडामा जग्गा लिएर ४५ लाख रुपैयाँ लगानी गरी खोलिएको पौडेलको दोस्रो यस होटल अन्यभन्दा पृथक रहेको छ । माटाका भाँडामा खसीको मासु पकाएर फरक स्वादका साथ ग्राहकलाई पस्कने उहाँको भनाइ छ । यससँगै लोकल कुखुरा, हाँसको स्वाद पनि ग्राहकलाई दिँदै आइएको छ ।

श्रीमती सुजता र भाइ युवराजसँगै सिङ्गो परिवार यसै पेशामा जुटेको छ । परिवारबाहेक पनि दुई ठाउँमा १६ जनाले रोजगारी पाएका छन् । उहाँ भन्नुहुन्छ, “अब हेटाँैडामा अर्को होटल खोल्ने योजनामा छु ।” बेरोजगार भएँ भन्नेहरुका लागि मात्र होइन विदेशमा रहेका नेपालीका लागि पनि उदाहरणीय बन्नुभएका पौडेल निरन्तर मेहेनत गर्न सकेमा यहीँ धेरै गर्न सकिन्छ भन्नुहुन्छ । यस पेशामा मिठो बोल्ने र इमान्दार हुनसकेमा सफलता मिल्ने उहाँको अनुभव छ । देशैभर व्यवसाय विस्तार गर्ने उहाँको सोच छ ।

पौडेलले भन्नुभयो, “एकपटक मकहाँ छिर्ने ग्राहकलाई अर्कोपटक आउने म आफैँ बनाउन सक्छु ।” हँसिलो अनुहार र नम्र बोली मात्र होइन मिठो परिकार एवं आतिथ्यता पौडेल सफल हुनुको कारण भएको उहाँका शुभेच्छुकहरु बताउँछन् ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया