काठमाण्डौ हिजोभन्दा आज अझै सफा

 पुष २३, २०७७ बिहीबार ७:४५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बादल हटेपछि काठमाण्डौसहित देशका विभिन्न ठाउँमा बढेको प्रदूषण बिस्तारै घट्न थालेको छ । हिजोदेखि प्रदूषण घट्न थालेको हो । हिजोको तुलनामा आज काठमाण्डौ अझै सफा देखिएको छ ।

आकाश खुलेर प्रदूषित हावा बाहिर गएकाले प्रदूषणको स्तर घटेको वातावरणविद् भूषण तुलाधरले जानकारी दिनुभयो । तर प्रदूषण कम भए पनि जाडो महिनामा प्रदूषणको उत्पादन धेरै हुने भएकाले पूर्णरुपमा हट्ने सम्भावना भने नरहेको वातावरणविद् तुलाधरले बताउनुभयो ।

जाडो छल्नका लागि आगो बाल्ने, फोहोर जलाउनेलगायतका काम जाडो महिनामा धेरै हुने गर्छ । यस्तै जाडो महिनामा इँट्टाभट्टाहरु पनि सञ्चालन हुने भएकाले प्रदूषण बढी हुने गर्छ । 

उत्पादन भइरहने तर बाहिर जाने बाटो नहुँदा प्रदूषण बढ्ने गर्छ । पानी परेमा प्रदूषण घट्ने सम्भावना हुन्छ । आकाशमा बादलले ढाक्दा गएको सोमबार र मंगलबार काठमाण्डौ, नेपालगञ्ज, हेटौँडासहित विभिन्न ठाउँको वायु प्रदूषणको स्तर स्वास्थ्यका लागि खतराको अवस्थामा पुगेको थियो । 

सामान्यतया नेपालका सहरहरुमा पहिले यो मौसममा वायु गुणस्तर सूची एयर क्वालिटी इन्डेक्स (एक्यूआई) सरदर २०० भन्दा कम हुन्थ्यो । तर गएको सोमबार र मङ्गलबार भने काठमाण्डौको ३३० र हेटौँडाको ४०० हाराहारी पुगेको थियो ।  

विश्वमा वायु प्रदूषणको मापनअनुसार एक्यूआई शून्यदेखि ५० सम्मलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ । एक्यूआई ५० देखि १०० सम्मलाई ठीकै र त्यसभन्दा माथिको स्तरले अस्वस्थ वातावरणलाई जनाउँदै जान्छ । 

काठमाण्डौ उपत्यकामा वायु प्रदूषण एक प्रमुख समस्या हो भने यहाँको वायु प्रदूषण विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभन्दा करिब पाँच गुणामाथि छ । 
 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया