आठ महिनापछि कोरोनाका कारण चीनमा एक जनाको ज्यान गयो

 माघ १, २०७७ बिहिबार ११:३१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चीनमा आठ महिनापछि पहिलो पटक कोरोना भाइरसका कारण एक जनाको ज्यान गएको छ । 

चीनले आठ महिनापछि कोरोना भाइरसको सङ्क्रमणबाट हेबेई प्रान्तमा आज एक जनाको ज्यान गएको पुष्टि गरेको अल जजिराले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेपछि हेबई प्रान्तमा समुदाय स्तरमा कोरोना परीक्षण भइरहेको छ । जोखिम बढेपछि त्यहाँको यातायात, बजार पसल तथा विद्यालय बन्द भएका छन्  ।

जोखियुक्त सहरमा त्यहाँको सरकारले लकडाउन गरेको छ । दुई करोड मानिस घरभित्रै बसेका छन् । केही दिनअघि मात्रै राजधानी बेइजिङसँग जोडिएको हेबेईमा एकैदिन ५० जनाभन्दा सङ्क्रमित भेटिएका थिए । चीनमा आज एकैदिन १३८ जना सङ्क्रमित भेटिएका छन् । गएको वर्षको मार्च महिनापछि एकैदिन यति धेरै मानिसमा सङ्क्रमण भएको यो पहिलो पटक हो । 

यसैबीच कोरोना भाइरसको उत्पतिबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) काे टोली आज चीन जाँदै छ । डब्ल्यूएचओको टोलीलाई चीनले वुहानमा प्रवेश दिन्छ/दिँदैन यसबारे केही खुलाएको छैन । कोरोना भाइरसको अध्ययनका लागि डब्ल्यूएचओले आफ्नो टिम वुहान पठाउन लामो समयदेखि चीनसँग छलफल गरेको थियो ।

यसअघि कोरोना भाइरसबारे अध्ययनका लागि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले तयार पारेको टिमलाई चीनले प्रवेशमा रोक लगाएको थियो ।

सन् २०१९ को अन्त्यमा पहिलो पटक वुहानमा देखिएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वभर फैलिएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया