नागरिकले फ्याँकिसकेको राजतन्त्र आउने भ्रम पाल्नु हुँदैन : प्रधा...
चैत ३०, २०८१ शनिबार
काठमाण्डौ – दिनभरि मजदुरी गर्ने, साँझ ज्याला बुझेर घर जाने । त्यही पैसाले मिठो मसिनो खाने । यसैगरी चलिरहेको थियो बारा, कलैयाका अजय महतोको दैनिकी ।
‘लक्का जवान छौ, यति मेहनत विदेशमा गरे त धेरै कमाइ हुन्छ’, कसैले यसो भनिदिए । अनि अजयलाई पनि विदेश जाउँ-जाउँ लाग्यो ।
घरको आर्थिक अवस्था पनि कमजोर । बुवा ईट्टा भट्टामा काम गर्ने । अभावकाे जिन्दगी जिइरहेका अजयलाई विदेश जाने कुराले केही आशा जगाइदियो ।
तर न हातमा सीप छ न त पढेलेखेको नै । विदेश गइहाले पनि के कामको लागि जाने ? यस्तै यस्तै प्रश्नले घेर्न थाल्यो । तर अजयलाई त जसरी पनि विदेश जानु थियो । विदेश जानको लागि पासपोर्ट चाहिने भएपछि घरबाट बुवालाई पैसा मागेर काठमाण्डौ आएर पासपोर्ट बनाउनुभयो । त्यहीबेला म्यानपावरसँग विदेशमा कामबारे बुझ्नुभयो । कतारमा राम्रो काम छ भन्ने कुरा म्यानपावरले गर्यो । त्यसपछि श्रम गरेर सामान्य कामदारको रुपमा सन् २०१२ मा उहाँ कतार जानुभयो ।
भनिन्छ नि, जीवनमा पैसा भन्दा पनि परिवारसँगको साथले बढी खुशी दिन्छ । स्वदेशमै काम गर्नुको आनन्द स्वर्गको आनन्द भन्दा कम हुँदैन । विदेश गएको केही समयमै अजयलाई यस्तो लाग्न थाल्यो । तर बाध्यता थियो काम गर्नै पर्ने ।
कतार गएको दुई वर्षपछि विदामा घर आउँदा अजयको विहे भयो । विहेपछि झन् जिम्मेवारी बढ्यो । पहिलेसम्म एक ज्यानको बोझ थियो अब दुई ज्यान भए । त्यसपछि घरपरिवार, श्रीमतीलाई सुख दिने सपना बोकेर विहे भएको केही महिनामै फेरि कतार जानुभयो अजय ।
विहेपछि अजयको मन लागेन विदेशमा । समय सयममा छुट्टी मिलाएर घर आउने भइराख्थ्यो । तर एकदिन अजयलाई लाग्यो, 'अब विदेशमा धेरै नबसौं ।' अनि आफ्ना सबै समाना पोको पार्नुभयाे र अब कहिल्यै विदेश नजाने सोच बनाएर उहाँ सन २०१५ मा स्वदेश फर्किनुभयो ।
सधैं मनले सोचेको मात्रै कहाँ हुन्छ र ? तीन वर्ष परदेशमा बिताएर अब कहिल्यै विदेश नजाने भन्दै स्वदेश फर्किएका अजयलाई गाउँघरको कमाइले परिवार पाल्न गाह्रो भयो । चारपाँच वर्ष अटोरिक्सा चलाउनुभयो । यसबाटको कमाइ घर खर्चमै ठिक्क हुन थाल्यो । छोरी जन्मिइन् । परिवारको संख्या बढ्यो । छोरीको भविष्यको चिन्ताले छोप्न थाल्यो । अनि अजयले एकपटक फेरि विदेशमा कमाएर आउने सोच बनाउनुभयो ।
आफूसँग त पैसा थिएन । गाउँकै एकजना साहूसँग एक लाख पचास हजार रुपैयाँ ऋण काढेर एजेन्टलाई दिनुभयो । त्यसपछि श्रम स्वीकृति गराएर सन् २०२० को फेब्रुअरीमा उहाँ यूएई जानुभयो । आफ्नो जन्मभूमि छोडेर जहाज चढेको बेला आफ्ना बुवाले भोग्दै आएको दुःख सम्झिनुभयो । आफू नपढेको भए पनि छोरीलाई उच्च शिक्षा दिने अठोटलाई मनन गर्नुभयो । यसरी परिवारसँगको विछोडलाई अनुभूति गर्दै दुबई विमानस्थलमा ओर्लिनुभयो अजय ।
विश्वमा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको थियो । खाडीका देशमा पनि यसको असर देखिदै थियो । दुर्भाग्यवस् अजयको यूएई जाने समय त्यही बेला पर्न गयो । त्यहाँ पुगेपछि आफू गएको कम्पनीले महिनाकाे दश दिन मात्र काम दिने थाहा भयो अजयलाई ।
कम्पनीले महिनाकाे दश दिन मात्र काम गर्न लगाउँदा करारपत्र अनुसार नभएको भनि अजय र उहाँका साथीहरु मिलेर आवाज उठाउनुभयो । तर सोचेको उल्टो भयो ।
‘आफूलाई करारपत्र अनुसारको सेवा सुविधा चाहियो भन्दा हामीलाई कम्पनीले नै निकालिदियो, उल्टै हामीविरुद्ध मुद्दा हाल्यो’, त्यतिबेलाको पीडा सम्झेर भक्कानिदै अजय भन्नुहुन्छ, ‘अरुको देशमा न हातमा पैसा न त कसैसँग चिनजान, बाटोमै रात बितायौँ ।’
अर्को दिन त्यहाँका सहयोगी संस्थाले एकदिन आफूसँग राखेर पछिल्लो दिन नेपाली दूतावासको जिम्मा लगाइदियो । घरको माया र साहूबाट लिएको ऋणले सम्झिदा अजयलाई बेचैनी हुन्थ्यो । घर फर्किउँ भने त्यत्रो ऋण कसरी तिर्ने । घर नजाउँ भने परदेशमा खाने बस्ते ठेकान छैन, केही भइहाल्यो भने परिवारको कस्तो विचल्ली होला । यस्तै कुराले पिरोल्न थाल्यो ।
दूतावासकै संरक्षणमा नौ महिना बिते । दूतावासले पनि सित्तैमा पठाइदिएन । टिकेट काटेर जाउँ भन्नको लागि साथमा एक पैसा थिएन । यसरी अर्काको भूमिमा बिना काम दुःख खेपेर बस्नुपर्दा बाँच्नु न मर्नुको परिस्थितिमा पुगेको अजय बताउनुहुन्छ । भन्नुहुन्छ, ‘दिमागमा आत्महत्या गर्ने सोच समेत आएको थियो ।’
अजयलाई घर फर्काउन नेपालबाट उहाँका बुवा पनि लागिरहनुभएको थियो । अजयका बुवाले एक दिन आफू काम गर्ने इट्टा भट्टाको मालिकसँग बुझ्दा आप्रवासी स्रोत केन्द्रले सहयोग गरिदिने थाहा पाउनुभयो । त्यसपछि उहाँले कलैया उपमहानगरपालिका र ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को साझेदारीमा सञ्चालित आप्रवासी श्रोत केन्द्रका सूचना अधिकृत प्रभातकुमार वर्मालाई भेट्नुभयो ।
त्यसपछि कलैया आप्रवासी श्रोत केन्द्रले अजयलाई नेपाल फर्काउने प्रक्रिया अघि बढायो । काठमाण्डौमा रहेको वैदेशिक रोजगार विभाग, दुबईस्थित नेपाली दूतावास र विभिन्न सहयोगी संस्थाको समन्वय र सहयोग लिएर आप्रवासी श्रोत केन्द्रले गएको पुस १८ गते दश महिनापछि अजयलाई घर फर्काउन सफल भयो ।
समयमै आप्रवासी श्रोत केन्द्रमा जानकारी गराएको भए त्यतिबेला दुःख भोग्नु नपर्ने रहेछ भन्ने उहाँलाई लाग्छ । अजयले अहिले वैदेशिक राेजगारीकाे ठगीकाे बारेमा धेरै बुझ्नुभएकाे छ । सकेसम्म स्वदेशमै काम गर्ने र विदेश जानै परे पनि राम्राेसँग बुझेर मात्र जाने उहाँ बताउनुहुन्छ ।
‘विदेश जानैपर्ने बाध्यता, जिउने आधार तर नबुझेर जाँदा दुःखको घर रहेछ’, अजय भन्नुहुन्छ, ‘आफूलाई पढ्न नआए पनि बुझ्ने मान्छे कसैसँग सल्लाह लिएर मात्रै विदेश जानुपर्ने रहेछ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।