अनलाइनबाट यसरी लिनुहोस् सजिलै पुनः श्रम स्वीकृति

 माघ २, २०७७ शुक्रबार १७:९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  – सरकारले देश तथा विदेश विदेश जहाँबाट पनि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरेको छ । यो व्यवस्था लागू भएसँगै अब पुनः श्रम स्वीकृति लिनकै लागि विदेशबाट स्वदेश आउनपर्ने बाध्यता हटेको छ भने देशमा पनि श्रम कार्यालयमा लाइन लाग्नुपर्ने, विभिन्न बिचौलियाको जाल र ठगीमा पर्ने सम्भावना सकिएको छ । तर कतिपयलाई अनलाइनमार्फत कसरी पुनः श्रम स्वीकृति लिने भन्ने अन्यौल छ । कतिपय श्रमिकले अनलाइन फारम भर्न लगायत प्रक्रिया नजानेको गुनासो पनि गरेका छन् । अनलाइनमार्फत  सजिलै  पुनः श्रम स्वीकृति कसरी लिने त ? यस विषयमा हामीले वैदेशिक रोजगार विभागका सूचना तथा प्रविधि शाखाका बिपुल पराजुलीसँग गरेको कुराकानीको सम्पादित अंश ।

अनलाइबाट पुन श्रमस्वीकृति लिन चाहने सेवाग्राहीहरुले योभन्दा पहिले अनलाइबाटै श्रम स्वीकृति लिएको हुनुपर्छ । अथवा गएको तीन वर्षमा जसले श्रम लिनुभएको छ उहाँहरु सबैले अनलाइनबाट पुनः श्रम स्वीकृति लिन सक्नुहुन्छ । अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिनुभन्दा पहिले केही पूर्वतयारी गर्नुपर्ने हुन्छ । पूर्व तयारीमा सबैभन्दा पहिले सेवाग्राहीको आफैले प्रयोग गर्ने इमेल आईडी हुनुपर्छ ।

यस्तै नेपालमा रहँदाको अथवा नेपालमा भएको कोही आफन्तले प्रयोग गर्ने मोबाइल नम्बर पनि तयारी अवस्थामा राख्नुपर्ने हुन्छ । त्यसपछि ‘पासपोर्ट साइज’को फोटोको स्क्यान कपी राख्नुपर्ने हुन्छ । जुन पहिले नै राखिएको हुन्छ । तर पहिले गलत तरिकाले प्रविष्ट भएको छ वा धेरै पुरानो भइसकेको छ भने नयाँ राख्नको लागि फोटो चाहिने हो, नत्र पर्दैन । त्यसपछि पासपोर्टको आफ्नो व्यक्तिगत विवरण भएको पेजको स्क्यान गर्नुपर्छ । पहिला श्रम स्वीकृति लिँदा प्रयोग भएको भिसा र अहिलेको भिसा दुवैको स्क्यान कपी पनि तयार गर्नुपर्छ ।

त्यसपछि विदेश जाँदाखेरि विमानस्थलमा पासपोर्टमा लगाइदिएको ‘डिर्पाचर स्ट्याम्प’ वा विदेशबाट फेरि नेपाल फर्किदाखेरि विमानस्थलमै लगाइदिएको ‘अराइभल स्ट्याम्प’को पेजहरुको स्क्यान कपी पनि पेश गर्नुपर्ने हुन्छ । त्यस्तै योभन्दा पहिले श्रम स्वीकृति लिएको भन्दा फरक कम्पनीमा जान लागेको भए त्यो कम्पनीले दिएको ‘एग्रीमेन्ट लेटर’ तथा ‘जब अफर लेटर’को स्क्यान कपी पनि हुनुपर्छ । 

बेलाबेला सरकारले तोकिदिएका अतिरिक्त कागजपत्रको स्क्यानकपी पनि तयारी अवस्थामा भए झन् सजिलो हुन्छ । जस्तो घरेलु कामदारको रुपमा गएको र पुनः जान लागेको भए दूतावास प्रमाणित एउटा अनुसूचीको फारम पनि माग्ने गरिएको छ । त्यस्तो हकमा त्यो अतिरिक्त प्रमाणको पनि स्क्यान कपी आवश्यक हुन्छ ।

यस बाहेक सेवाग्राहीसँग आफ्नो सेवा प्राप्त गर्ने प्रयोजनको लागि त्यस्तो सबै कागजातको स्क्यान कपी तयार गरेर राख्नपर्छ । त्यसपछि श्रम स्वीकृति एप्लाई गर्नुपर्छ जसको लागि केही चरणहरु छन् ।

पहिलो चरण : 

त्यति कागजातहरु आफूले तयार पारिसकेपछि सर्वप्रथम त वैदेशिक रोजगार विभागको वेबसाइट https://dofe.gov.np मा जानुपर्छ । त्यहाँ ‘अनलाइन श्रम स्वीकृति’ भन्ने लिंक भेटिन्छ । त्यसमा क्लिक गनुपर्छ । त्यसपछि त्यहाँ ‘युजर नेम’ र ‘पासवर्ड’ माग्छ । पहिले नै श्रम स्वीकृति लिँदा ‘युजर नेम’ र ‘पासवर्ड’ उपलब्ध गराइएको हुन्छ । त्यही ‘पासवर्ड’ र ‘युजरनेम’ राखेर ‘साइन ईन’ गर्नुपर्छ । यदि योभन्दा पहिले लिएको ‘युजर नेम’ र ‘पासवर्ड’ बिर्सिनुभयो भने त्यहीँनेर ‘फर्गेट पासवर्ड’ भन्ने अप्सन हुन्छ । त्यसमा क्लिक गरेपछि सिस्टमले इमेल माग्छ ।

इमेल राखिसकेपछि त्यो इमेलमा पुरानो पासवर्डलाई रिसेट गर्नको लागि विकल्प आउँछ । यदि पहिले श्रम लिँदा राखेको इमेल पनि बिर्सेको खण्डमा त्यस्तो व्यक्तिको हकमा नेपालमा श्रम स्वीकृति प्रदान गर्ने सातवटै श्रम कार्यालय तथा विदेशमा रहेका नेपाली कुटनीतिक नियोगको वेबसाइटबाट निवदेन डाउनलोड गर्नुपर्छ । त्यो निवदेन भरेर सम्बन्धित निकायमा बुझाएपछि पासवर्ड रिसेट गर्न सकिन्छ । यसरी प्राप्त पासवर्ड भविष्यमा पनि काम लाग्ने भएकाले ‘युजर नेम’ र ‘पासवर्ड’ सुरक्षित राख्नुपर्छ ।

दोस्रो चरण :

अनलाइन श्रम स्वीकृतिको लिंक ‘लग इन’ गरिसकेपछि श्रम स्वीकृतिको व्यक्तिगत विवरण भएको फाइल खुल्छ । त्यो पेजमा केही व्यक्तिगत विवरण अपडेट गर्नुपर्ने छ वा परिवर्तन गर्नुपर्ने छ भने प्रोफाइल पेजमा गएर परिवर्तन गर्न सकिन्छ । सँगसँगै यदि योभन्दा पहिले पुरानो पासपोर्टबाट श्रम लिनुभएको थियो र अहिले नयाँ पासपोर्ट लिनुभएको छ भने त्यो नयाँ पासपोर्ट नम्बर पनि त्यहाँ ‘इनपुट’ गरेर आफ्नो पासपोर्टको विवरण पनि अद्यावधिक गर्न सकिन्छ ।

चरण तीन :

पेजको बाँया भागमा ‘रि इन्ट्री’ भन्ने मेन्यु भेटिन्छ । त्यो मेन्युभित्रको ‘इम्प्लोइमेन्ट डिटेल्स’ भन्ने लिंकमा गएर क्लिक गर्ने । त्यहाँ क्लिक गरेपछि आफू जान लागेको देशको नाम, कम्पनी, सेवा सुविधालगायत त्यहाँ उपलब्ध सबै विवरणहरु पेश गर्नुपर्ने हुन्छ । सँगसँगै त्यसको अलिकति तल गएर आवश्यक प्रमाणहरु पेश गर्नुपर्ने हुन्छ । भिसा र पासपोर्टको स्क्यान कपी अनिवार्य रुपमा ‘अपलोड’ गर्नुपर्छ । तर सम्भव भएसम्म आफूसँग उपलब्ध भएका सबै कागजात ‘अपलोड’ गर्नुपर्छ ।

चरण चार :

‘इम्प्लोइमेन्ट डिटेल’मा भरेको सबै विवरण ठीक छ भनेर एकीन भइसकेपछि श्रम स्वीकृति नवीकरणको लागि बीमा र वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने हुन्छ । सामान्यतया तीन वर्षको श्रम लिइन्छ । त्यसको लागि १५ सय रुपैयाँ कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने र श्रम स्वीकृतिको माग गरेको अवधिभन्दा ६ महिना बढीसम्मको बीमा गर्नुपर्ने हुन्छ । मान्यताप्राप्त बीमा कम्पनीमा गएर वैदेशिक रोजगारीको लागि बीमा गर्न आएको र मेरो पासपोर्ट नम्बर यो हो भनेर भनेपछि उहाँले बीमा गरिदिनुहुन्छ ।

यस्तै कल्याणकारी कोषको रकम जम्मा गर्नको लागि पनि मान्यताप्राप्त बैंकको कुनै पनि शाखामा गएर रकम जम्मा गर्न सकिन्छ । तर अहिले ‘ई सेवा’ प्रणालीले सहज बनाएको छ । नेपाल राष्ट्रबैंकबाट मान्यताप्राप्त भुक्तानी सेवा प्रदायक कम्पनीमार्फत पनि बीमा र कल्याणकारी कोष मार्फतको रकम जम्मा गर्न सकिन्छ । अहिलेको लागि ‘ई सेवा’ नामक अनलाइन भुक्तानीबाट बीमा र कल्याणकारी कोष दुवैमा रकम जम्मा गर्न सकिन्छ । त्यसैगरी खल्ती नाम गरेको अनलाइन भुक्तानीबाट कल्याणकारी कोषको रकम जम्मा गर्न सकिन्छ । 

यसरी रकम जम्मा गरिसकेपछि पहिलेकै ‘लगइन’ पेजमा आएर त्यहाँ रिइन्ट्री मेन्युभित्र ‘इन्डिभिजुअल रिइन्ट्री रिक्वेस्ट’ मेन्युमा गएर हेर्दा बैंकमा कल्याणकारी कोषको पैसा भन्ने ठाउँमा पनि हरियो टिक लागेको हुन्छ र इन्स्युरेन्स भन्ने ठाउँमा पनि पनि टिक लागेको हुन्छ । टिक लाग्नुको अर्थ जम्मा गरेको रकम विभागको सिस्टममा गइसकेको छ भन्ने बुझ्नुपर्छ । यदि टिक लागेको छैन वा क्रश चिन्ह छ भने बीमा र कल्याणकारी कोषको रकम जम्मा भएको रहेनछ वा जम्मा गरेको ठाउँबाट विभागको वेबसाइटमा पठाइदिएको रहेनछ भन्ने बुझ्नुपर्छ । 

टिक लागेको पक्का भइसकेपछि ‘एक्सन आइटम’ भेटिन्छ । ‘एक्सन आइटम’मा क्लिक गरेपछि ‘रिक्वेस्ट’ भन्ने एउटा अप्सन आउँछ । ‘रिक्वेस्ट’मा क्लिक गरिसकेपछि श्रम स्वीकृतिको लागि अप्लाइ गर्न सकिन्छ । अप्लाइ गर्दाखेरि शाखाहरु छनौट गर्न सकिन्छ । सातै प्रदेशका कार्यालयहरु छनौट गर्न सकिन्छ । यदि अनलाइनबाट सेवा लिने हो भने अनलाइन शाखा छनौट गर्न सकिन्छ । यदि अनलाइन छनौट नगरी अरु कार्यालय छनौट गरेको खण्डमा सम्बन्धित कार्यालयमै जानुपर्छ । तर सुरुमा नजानी कुनै शाखा छनौट गरियो तर खासमा अनलाइबाट अप्लाइ गर्न चाहनुहुन्छ भने त्यहाँ ‘रिसेड्युल’ भन्ने अप्सन पनि छ । त्यहाँ क्लिक गरेर आफूले श्रम लिन चाहेको कार्यालय वा अनलाइमा क्लिक गरेर परिवर्तन गर्न सकिन्छ ।

जनुसुकै शाखा छनौट गर्दा पनि ती शाखाले सिमित टोकन प्रदान गरेको हुन्छ । तर विस्तारै अनलाइन शाखाको टोकन हामी बढाउँदैछौं । यी चरणहरु पूरा गरेर सेवाग्राहीले श्रमको लागि अप्लाइ गर्न सक्नुहुन्छ । जुन दिनको लागि अप्लाइ गर्नुहुन्छ त्यही दिन पुनः श्रम स्वीकृति प्राप्त गर्न सकिन्छ । तर कुनै कागज पुगेको छैन वा अरु केही कुरामा गल्ती देखायो भने पनि मोबाइलमा म्यासेज आउँछ ।

अझै सहज हुँदै

अनलाइनबाट पुनः श्रम स्वीकृति लिन त्यति गाह्रो छैन । अहिले अंग्रेजी भाषामा मात्र छ विस्तारै नेपाली र अंग्रेजी दुवै भाषामा ल्याउनेछौं । यस्तै आवेदन भर्दा पनि एकपछि अर्को गरेर चरणवद्ध रुपमा गर्न मिल्ने गरी सहज बनाउनेछौं । एक महिनाभित्र सहज हुनेछ । त्यसपछि अंग्रेजी भाषाको कम ज्ञान भए पनि सजिलै आवेदन दिन सकिने हुन्छ ।

अहिले प्रारम्भिक चरणमा भएका कारणले सेवाग्राहीहरुले पनि विस्तारै बुझ्दै, अरुबाट सिक्दै र बेलाबेला हामीसँग सम्पर्क गर्दै यसको प्रयोग गरिरहनुभएको छ । 

विदेशबाटै पुनः श्रम लिन चाहनेहरुले आफूसँग उपलब्ध भएको बैंकबाट रकम भुक्तानी गर्न मिलेन त्यसैले अनलाइनबाट पुनः श्रम स्वीकृतिको लागि फारम भर्न सकिएन भन्ने गुनासो गर्नुहुन्छ । तर अहिले हामीसँग सूचीकृत बैंकहरुले पनि त्यो सुविधाहरु उपलब्ध गराउने प्रतिबद्धता गर्नुभएको छ । त्यो भएपछि आफ्नै बैंकको खाताबाट पनि सिधै बीमा र कल्याणकारीको लागि रकम जम्मा गर्न सकिन्छ । यसलाई अझै सरल बनाउने प्रक्रियामा हामीहरु छौं । सर्भरमा खासै समस्या छैन । श्रम स्वीकृति लिदा आफूले प्रयोग गर्ने मोबाइल नम्बर र ईमेल आईडी प्रयोग गर्न हामीले आग्रह गरेका छौं । 


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया