मकै, काेदाे फल्ने खेतमा अलैँची : सुनसरीकाे जीवन भयाे सहज

 माघ ३, २०७७ शनिबार १४:२०:४९ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको दोर्दी गाउँपालिका–८, पुरानो दुवरकी सुनसरी तामाङलाई विगतमा सामान्य घर–खर्च चलाउन पनि सकस थियो । चाडपर्व आउँदा खर्चको अभावले उहाँलाई पिरोल्थ्यो । बिरामी पर्दा पनि उपचारका लागि पैसाको उतिक्कै अभाव खड्कन्थ्यो ।  तर अहिले अलैँची खेती गरेपछि उहाँका ती समस्या बिस्तारै समाधान हुँदै गएका छन् । अलैँची खेतीले उहाँको जीवनस्तर उकासिएको छ ।

‘पहिले त घरखर्च चलाउन समस्या हुन्थ्यो । चाडपर्व आउँदा खर्च अभावले चिन्ता लाग्थ्यो । आय–श्रोत नहुँदा कसैले दुई÷चार पैसा पनि पत्याउँदैनथे’, उहाँले भन्नुभयो, ‘अलैँचीले चाडपर्व मनाउन, बच्चाहरु पढाउन, गुजारा चलाउन सजिलो बनाएको छ ।’

आफ्नो बाँझो, पाखो जमिनमा अहिले अलैँची लगाउनुभएको छ, सुनसरीले । वार्षिक साढे २ क्विन्टल हाराहारीमा उहाँले अलैँची उत्पादन गर्दै आउनुभएको छ ।

‘१२ रोपनी जग्गामा अलैँची लगाइएको छ,’ उहाँले भन्नुभयो, ‘अलैँची राम्रै उत्पादन भइरहेको छ ।’

अलैँची खेतीमा सुन्सरीलाई श्रीमानको पनि साथ–सहयोग मिलेको छ । ‘हामी दुवै जना अलैँची खेतीमा लागेका छौँ,’ उहाँले भन्नुभयो ।  

विगतमा उहाँहरुले मकै, कोदो लगाउनुहुन्थ्यो । मकै कोदोमा दुःख धेरै, उत्पादन कम हुने भएकाले उहाँहरुले अहिले मकै, कोदो खेती हुने जग्गामा पनि अलैँची लगाउनुभएको छ । 

‘मकै, कोदो खेती गर्दा दुःख धेरै हुन्छ । अलैँची खेतीमा त्यति धेरै दुःख हुँदैन । यसबाट राम्रो आम्दानी हुन्छ,’ उहाँले भन्नुभयो , ‘सुरुका वर्षहरुमा भने अलैँची खेतीलाई स्याहार गर्नुपर्छ । सरसफाइमा पनि ध्यान दिनुपर्छ ।’
मकै, कोदो खेतीको तुलनामा अलैँची खेतीबाट कम लगानी, श्रममा धेरै आम्दानी लिन सकिने उहाँले बताउनुभयो । ‘मकै, कोदोको तुलनामा अलैँचीको आम्दानी धेरै हुन्छ,’ उहाँले भन्नुभयो ।

अलैँचीको मूल्य घट्दो : किसान चिन्तित

तर पछिल्लो वर्ष अलैँचीको मूल्य घट्दा उहाँ चिन्तित हुनुहुन्छ । विगतका वर्षहरुमा प्रति केजी २ हजारसम्म अलैँची बेच्दै आउनुभएकी उहाँले यसवर्ष प्रतिकिलो ५ सय रुपैयाँमा अलैँची बिक्री गर्नुभएको हो ।

‘पहिले अलैँचीले राम्रै मूल्य पाएको थियो । अहिले अलैँचीको मूल्य घट्दै गएको छ,’ उहाँले भन्नुभयो । 

यस्तै, पुरानो दुवरकै मिनबहादुर तामाङले पनि व्यवसायिक रुपमा अलैँची खेती गर्दै आउनुभएको छ । उहाँले विगत ३ वर्षदेखि अलैँची खेती गर्दै आउनुभएको छ । 

उहाँले हाल २९ रोपनी जग्गामा अलैँची लगाउनुभएको छ । पछिल्लो समय अलैँचीको मूल्य घट्दै गएकाले अलैँची उत्पादक किसानलाई चिन्तित तुल्याएको उहाँ बताउनुहुन्छ । ‘अलैँची खेती गरेपछि गुजारा चलाउन सजिलो त भएको छ,’ उहाँले भन्नुभयो, ‘पछिल्ला वर्षमा अलैँचीको बजार मूल्य घट्दै गएको छ । यसले भने किसानलाई चिन्तित तुल्याएको छ ।’

उहाँका अनुसार पुरानो दुवर गाउँका सबै घरधुरीले अलैँची खेती गर्दै आएका छन् । यहाँ ६० घरधुरी रहेको छ । 

किसानलाई पालिकाको सहयोग

गाउँपालिकाभित्रका विभिन्न ठाउँमा अलैँची खेती विस्तार हुँदै गएको, किसानहरुले यसैबाट राम्रो आम्दानी गर्दै आएको र अलैँचीले उनीहरुको जीवनस्तर उकासिएको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो ।

‘यहाँका विभिन्न ठाउँमा अलैँची खेती विस्तार भएको छ । अलैँची खेतीको विकासका लागि पालिकाले किसानलाई बर्सेनि सघाउँदै आएको छ,’ उहाँले भन्नुभयो ।    

अन्तिम अपडेट: बैशाख ३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया